Monday, July 20, 2020
Sunday, November 3, 2019
भालुको आक्रमणबाट जिरीमा एक गम्भिर घाइते
कात्तिक १८, चरिकोट । जिल्लाको पूर्वी जिरी नगरपालिका–१, श्यामाको च्यबुकेका ७४ बर्षीय ज्येष्ठ नागरिकलाई भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको छ ।
सोमबार बिहान करिब ६ बजे घरनजिक रहेको बारीमा हलोजुबा लिन गएका ७४ बर्षीय पदमबहादुर खड्कालाई एक्कासी जङ्गली भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
भालुले खड्काको घाँटी, टाउको, मुख र निधार भरी चिथोरी बोल्न समेत नसक्ने गरी गम्भिर घाइते बनाएकोमा उपचारको लागि जिरी अस्पतालमा उपचार हुन नसकेर थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको चोर पक्राउ गर्न नारा जुलुस
रवीन्द्र गौतम । दोलखा
कात्तिक १७, चरिकोट । कालिञ्चोक गाउँपालिकाको सरकारी कागजात चोरी गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै आइतबार स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका छन् ।
गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा १५ दिनसम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता वा फिर्ताको नारा लगाउँदै वडाध्यक्षसहित स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
आइतबार वडाध्यक्ष, कार्यपालिका सदस्य, कालिञ्चोक न्यायिक संघर्ष समिति सहितको टोलीले सदरमुकाम चरिकोट बजारमा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय २ घण्टा घेराउ गरेका हुन् ।
सरकारी कागजातको सुरक्षाको लागि आन्दोलन गर्न पछि नपर्ने प्रहरी र प्रशासनलाई चेतावनी दिएको वडा नं. ७ का बडाध्यक्ष चेतबहादुर खड्काले जानकारी दिए । ‘सरकारी कागजात चोरी भएको १५ दिन वितिसक्दा समेत प्रहरी र प्रशासन कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडाध्यक्ष खड्काले प्रश्न गरे । दोलखाका प्रहरी र प्रशासनले मुद्दा दर्ता नगरे उपल्लो निकायसम्म पुग्ने वडाध्यक्ष खड्काले चेतावनी दिए ।
कात्तिक ३ गते आइतबार राती एक बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गाउँपालिका चोरी काण्ड राजनीतिक मुद्दा भएकोले राजनीतिक रुपमा सेटल भए पछि मात्र प्रशासनीक र कानुनी हिसाबले कारबाही प्रक्रिया अघि बढ्ने बताए । १५ दिनको विदा लेखेर हिँडेका कर्मचारीहरु अझै कार्यालय गएका छैनन् । कात्तिक ३ गतेदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् ।
Thursday, October 31, 2019
कालिञ्चोकको विशेष गाउँसभा कात्तिक २१ गते सुनखानीमा, कडा सुरक्षा व्यवस्था मिलाइने
रवीन्द्र गौतम । दोलखा
कात्तिक १४, चरिकोट । सरकारी कागजात चोरीको घटनाको १२ दिनपछि कालिञ्चोक गाउँपालिकाले कात्तिक २१ गते बिहिबार बिशेष गाउँसभाको घोषणा गरेको छ ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीद्वारा हस्ताक्षरित २०७६ कात्तिक १४ गते ५१५ नम्बरमार्फत गाउँकार्यपालिका सदस्यहरुलाई चलानी गरिएको पत्रमा ४ बुँदे छलफलका विषय तोकी बिशेष गाउँसभाको घोषणा गरिएको हो । कात्तिक २१ गते सुनखानीमा विहान १० बजे बिशेष गाउँसभाको लागि गाउँकार्यपालिका सदस्यहरुलाई पत्राचार गरिएको हो । गाउँसभामा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरेर कडा सुरक्षा व्यवस्था मिलाउन प्रहरी परिचालन गरिने स्रोतले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नं. ७, ८ र ९ भीमेश्वर नगरपालिकामा जान सहमति दिने, हालको कार्यालय बन्देथलीबाट सञ्चालन गर्ने, ३ वडा भीमेश्वर नगरपालिकामा गाभिए पछिको अवस्थामा स्थायी केन्द्र बाँकी वडाको पाएक स्थान र वार्डको पुन संरचना गर्ने र अर्को निर्वाचन अगाडीसम्मको लागि कार्यालय लापिलाङको बन्देथलीबाट सञ्चालन गर्ने विषयमा विशेष गाउँसभामा छलफल गरि निर्णय गर्ने जनाइएको छ ।
यसअघि कात्तिक ३ गते दायर गरेको गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा एकहप्तासम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता गरेर आवश्यक कारवाही गर्न कालिञ्चोक गाउँपालिका–७ र ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा स्थानीयहरुसहित शनिबार जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको डेलिगेसनले १६ गतेसम्म अल्टिमेटम समेत दिएका थिए ।
‘सरकारी कागजात चोरी हुँदा समेत दोलखा प्रहरी कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडा नं. ८ का वडाध्यक्ष नन्दराज शिवाकोटीले प्रश्न गरेका थिए । डीएसपी मानबहादुर राईले गम्भिर र जटिल समस्या भएकोले सरकारी वकिलसँग सल्लाह गरेर मुद्दा दर्ता गर्ने बताए ।
आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।
Tuesday, October 29, 2019
बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु, ५ घाइते
रवीन्द्र गौतम । दोलखा
कात्तिक १३, चरिकोट । तिहार मनाएर फर्किने क्रममा बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान भीमेश्वर नगरपालिका–२, सोकलाखेलापमा बा१४च ७६७ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका–२, का भोजबहादुर ओलीकी ९ बर्षिय छोरी रोशनी ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान करिब ८ बजे बोलेरो दुर्घटना भई गम्भिर घाइते भएकी ओलीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा गर्दै साढे ९ बजे मृत्यु भएको दोलखा प्रहरीको सूचना अधिकारी सई यज्ञनन्द साहले जानकारी दिए ।
कच्ची भित्री सडकबाट करिब २५ फिट तल खसी दुर्घटना भएको बोलेरोमा सवार ९ मध्ये चालकसहित ५ जना गम्भिर घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उपचार भईरहेकोमा चालक भीमेश्वर नगरपालिका–२ का २५ बर्षिय मनु तामाङ, ३५ बर्षिय भोजबहादुर ओली, उनकी श्रीमती ३० बर्षिय दुर्गा ओली, उनका ५ बर्षिय छोरा रोहन ओली र भीमेश्वर नगरपालिका–२, तिखाताल बस्ने ३७ बर्षिय रञ्जनी तामाङ रहेको सूचना अधिकारी सई साहले जानकारी दिए ।
Saturday, October 26, 2019
प्रहरीले दर्ता गरेन कालिञ्चोक गाउँपालिका चोरी मुद्दा, १६ गतेसम्म अल्टिमेटम
रवीन्द्र गौतम । दोलखा
कात्तिक ९, चरिकोट । कालिञ्चोक गाउँपालिका चोरी मुद्दा दायर गरेको एकहप्तासम्म दोलखा प्रहरीले मुद्दा दर्ता नगरेपछि जनप्रतिनिधिसहित स्थानीयहरुको डेलिगेसनले १६ गतेसम्मलाई लिखित अल्टिमेटम दिएका छन् ।
कालिञ्चोक गाउँपालिका–७ र ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा स्थानीयहरुसहित शनिबार जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको डेलिगेसनले १६ गतेसम्म अल्टिमेटम दिएका छन् । कात्तिक ३ गते दायर गरेको गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा एकहप्तासम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता गरेर आवश्यक कारवाही गर्न १६ गतेसम्मको अल्टिमेटम दिएको कालिञ्चोक गाउँपालिका–८ का वडाध्यक्ष नन्दराज शिवाकोटीले जानकारी दिए ।
करिब ४५ जनाले रोल्वालिङ यातायातको बस रिजर्भ गरेर डीएसपी मानबहादुर राईको कार्यकक्षमा पुगेको डेलिगेसनले १६ गतेसम्म मुद्दा दर्ता नभए माथिल्लो प्रहरी निकायमा मुद्दा हाल्ने तथा सरकारी कागजातको सुरक्षाको लागि आन्दोलन गर्न पछि नपर्ने दोलखा प्रहरीलाई चेतावनी दिएको वडा नं. ७ का बडाध्यक्ष चेतबहादुर खड्काले जानकारी दिए । ‘सरकारी कागजात चोरी हुँदा समेत दोलखा प्रहरी कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडा नं. ८ का वडाध्यक्ष शिवाकोटीले प्रश्न गरे । डीएसपी मानबहादुर राईले गम्भिर र जटिल समस्या भएकोले सरकारी वकिलसँग सल्लाह गरेर मुद्दा दर्ता गर्ने बताए ।
आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिजालको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् । प्रजिअ रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् ।
Friday, October 25, 2019
कालिञ्चोक गाउँपालिकाको दुई कार्यालय, जनप्रतिनिधि–कर्मचारी दुबै विभाजित, सेवाग्राही द्विविधामा
रवीन्द्र गौतम । दोलखा
कात्तिक ८, चरिकोट । उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाले गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् ।
जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् । चासो र चर्चा सुन्नका लागि स्थानीयहरुको दुबै कार्यालयमा भीड छ । आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा रातारात कार्यालय सारे पछि दुई कार्यालयबाट सेवा सुरु गरेका थिए ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले वडा नं. ६ लापिलाङ र साविकको वडा नं. ८ सुनखानीबाट सेवा सुरु गरेका थिए । दुई स्थानबाट सेवा सुरु भएपछि अध्यक्ष थामी पक्षधरका जनप्रतिनिधि तथा कर्मचारीले वडा नं. ६ को लापिलाङबाट सेवा सुरु गरे भने उपाध्यक्ष पक्षधरका जनप्रतिनिधि र कर्मचारीले वडा नं. ८ बाट सेवा सुरु गरे । कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे सोमबारदेखि लागू हुने गरी विदामा बसेका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिाजलको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् । चोरीको घटनामा संलग्नलाई कारवाहीको माग दावी सहित जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दा प्रहरीले दर्ता गरेको छैन । दोलखाका डीएसपी मानबहादुर राईले, ‘अनुसन्धानको प्रक्रियामा रहेको छ, सरकारी वकिलसँग छलफल गरेर मुद्दा दर्ता गर्ने योजना रहेको बताए ।’
नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिका समितिले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी गाउँपालिकामा भएको भ्रष्टाचारलाई लुकाउन डकैती गराईएको भन्दै बहुपक्षिय छानवीनको माग गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षको पार्टी नेकपा दोलखाका कार्यबहाक अध्यक्ष गोपाल पाण्डेले घटना गलत भएको प्रतिक्रिया दिँदै राजनीतिक नेतृत्वले समाधानका उपायहरु दिएका छौं, जनप्रतिनिधिले कानुनमा लेखिएको प्रक्रिया पुरा गरेर समाधान गर्नुपर्छ ।
कार्यालयको २ ओटा मूलढोका सहित ७ ओटा ढोकामा लगाईएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो ।



