रवीन्द्र गौतम । दोलखा
कात्तिक ९, चरिकोट । कालिञ्चोक गाउँपालिका चोरी मुद्दा दायर गरेको एकहप्तासम्म दोलखा प्रहरीले मुद्दा दर्ता नगरेपछि जनप्रतिनिधिसहित स्थानीयहरुको डेलिगेसनले १६ गतेसम्मलाई लिखित अल्टिमेटम दिएका छन् ।
कालिञ्चोक गाउँपालिका–७ र ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा स्थानीयहरुसहित शनिबार जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको डेलिगेसनले १६ गतेसम्म अल्टिमेटम दिएका छन् । कात्तिक ३ गते दायर गरेको गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा एकहप्तासम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता गरेर आवश्यक कारवाही गर्न १६ गतेसम्मको अल्टिमेटम दिएको कालिञ्चोक गाउँपालिका–८ का वडाध्यक्ष नन्दराज शिवाकोटीले जानकारी दिए ।
करिब ४५ जनाले रोल्वालिङ यातायातको बस रिजर्भ गरेर डीएसपी मानबहादुर राईको कार्यकक्षमा पुगेको डेलिगेसनले १६ गतेसम्म मुद्दा दर्ता नभए माथिल्लो प्रहरी निकायमा मुद्दा हाल्ने तथा सरकारी कागजातको सुरक्षाको लागि आन्दोलन गर्न पछि नपर्ने दोलखा प्रहरीलाई चेतावनी दिएको वडा नं. ७ का बडाध्यक्ष चेतबहादुर खड्काले जानकारी दिए । ‘सरकारी कागजात चोरी हुँदा समेत दोलखा प्रहरी कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडा नं. ८ का वडाध्यक्ष शिवाकोटीले प्रश्न गरे । डीएसपी मानबहादुर राईले गम्भिर र जटिल समस्या भएकोले सरकारी वकिलसँग सल्लाह गरेर मुद्दा दर्ता गर्ने बताए ।
आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिजालको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् । प्रजिअ रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् ।