Friday, October 25, 2019

कालिञ्चोक गाउँपालिकाको दुई कार्यालय, जनप्रतिनिधि–कर्मचारी दुबै विभाजित, सेवाग्राही द्विविधामा


रवीन्द्र गौतम । दोलखा

कात्तिक ८, चरिकोट । उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाले गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् ।
जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् । चासो र चर्चा सुन्नका लागि स्थानीयहरुको दुबै कार्यालयमा भीड छ । आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा रातारात कार्यालय सारे पछि दुई कार्यालयबाट सेवा सुरु गरेका थिए ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले वडा नं. ६ लापिलाङ र साविकको वडा नं. ८ सुनखानीबाट सेवा सुरु गरेका थिए । दुई स्थानबाट सेवा सुरु भएपछि अध्यक्ष थामी पक्षधरका जनप्रतिनिधि तथा कर्मचारीले वडा नं. ६ को लापिलाङबाट सेवा सुरु गरे भने उपाध्यक्ष पक्षधरका जनप्रतिनिधि र कर्मचारीले वडा नं. ८ बाट सेवा सुरु गरे । कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे सोमबारदेखि लागू हुने गरी विदामा बसेका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिाजलको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् । चोरीको घटनामा संलग्नलाई कारवाहीको माग दावी सहित जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दा प्रहरीले दर्ता गरेको छैन । दोलखाका डीएसपी मानबहादुर राईले, ‘अनुसन्धानको प्रक्रियामा रहेको छ, सरकारी वकिलसँग छलफल गरेर मुद्दा दर्ता गर्ने योजना रहेको बताए ।’
नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिका समितिले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी गाउँपालिकामा भएको भ्रष्टाचारलाई लुकाउन डकैती गराईएको भन्दै बहुपक्षिय छानवीनको माग गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षको पार्टी नेकपा दोलखाका कार्यबहाक अध्यक्ष गोपाल पाण्डेले घटना गलत भएको प्रतिक्रिया दिँदै राजनीतिक नेतृत्वले समाधानका उपायहरु दिएका छौं, जनप्रतिनिधिले कानुनमा लेखिएको प्रक्रिया पुरा गरेर समाधान गर्नुपर्छ । 
कार्यालयको २ ओटा मूलढोका सहित ७ ओटा ढोकामा लगाईएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो ।