Saturday, June 10, 2017

माथिल्लो तामाकोसी : प्रसारण लाइनको निर्माण कार्य ६० प्रतिशत सम्पन्न


रवीन्द्र गौतम । दोलखा

जेठ २८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रीडमा जोेड्ने प्रसारण लाइनको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ ।
            करिब ३ वर्षदेखि निर्माण कार्य सुरु गरिएको डबल सर्किट प्रशारण लाइनको निर्माण कार्य जेठको दोस्रो सातासम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । गत चैत १ मा बसेको मन्त्री परिषद् बैठकले सामुदायिक वनक्षेत्रमा रहेको रुख कटान सम्वन्धि कानुनी अड्चन सुल्झिए पछि प्रशारण लाईनको निर्माण कार्य तिव्र गतिमा सुरु भएको थियो ।
          विभिन्न स्थानहरुको १७ ओटा टावरहरुमा साढे ४ किलोमिटर डबल सर्किट तार जडान भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको लट–४ अन्र्तगत गोंगरखोलादेखि खिम्तीसम्म ४७ किलोमिटर डबल सर्किट प्रशारण लाइन निर्माण गरिने लक्ष्य रहेको छ ।
             कूल १ सय २७ टावरहरुमध्ये ९४ ओटा पूर्णरुपमा निर्माण भइसकेको तथा ९४ ओटामै अर्थिङ गर्ने कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । २२ ओटाको जग खन्ने कार्य सम्पन्न भई फलामे रड, बालुवा र सिमेन्ट निर्माणस्थल पु¥याइएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । सिमित कामदारहरु भएको र वर्षाको कारणले असोज पछि बाँकी ११ ओटा टावरहरुको पनि काम सुरु हुने आयोजनाले जनाएको छ ।
           प्रशारण लाइन निर्माण गर्न कटान गरि खाली भएको निजी तथा सामुदायिक वनक्षेत्रमा आयोजनाद्वारा करिब ५५ हजार वृक्षारोपण गर्ने कार्यलाई समेत सँगसँगै लगिएको आयोजनाले जनाएको छ । दोलखाको मेलुङमा निर्माण हुन लागेको सवस्टेशनको पनि आंशिक सर्भे भईरहेको आयोजनाले जनाएको छ ।
           आयोजनाले उत्पादन गर्ने विद्युत प्रसारणको लागि २२० केभी डबल सर्किट प्रसारण लाइनको भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडद्वारा निर्माण हुँदै आइरहेको छ । प्रसारण लाइनका लागि केइसीले अमेरिकी डलर १ करोड ७९ लाख ४ हजार ८ सय ७२ तथा रु. २५ करोड २५ लाख ५९ हजार ५ सय २० गरी दुईओटा मूल्यमा निर्माण सम्झौता गरेको थियो । हालसम्म आयोजनाको ८८ दशमलब ५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने रु. ३३ अर्ब ५८ करोड भुक्तानी भईसकेको आयोजनाले जनाएको छ ।