Sunday, May 21, 2017

माथिल्लो तामाकोशी आयोजनामा अर्को पनि ११० मिटरको ‘रोड टनेल’


रवीन्द्र गौतम । दोलखा

बैशाख ८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको माथिल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को ‘रोड टनेल’ निर्माण गरिरहेको छ ।
              माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को ‘रोड टनेल’ करिब २ महिना अघिबाट निर्माण सुरु गरेको हो । आयोजनाले निर्माण गरेको यो दोस्रो ‘रोड टनेल’ हो । आयोजनाले गत भदौमा पहुँचमार्ग भत्किएर अबरुद्ध भएको माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्न १ सय १० मिटर लामो अर्को ‘रोड टनेल’को निर्माण सुरु गरेको जनाएको छ ।
            आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभिरबाट २५ मिटर स्क्वाएर डायमिटरको १ सय १० मिटर लामो सुरुङमध्ये १ सय २ मिटर अर्को ‘रोड टनेल’ निर्माण सम्पन्न गरिसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । ‘१० मिटर अग्लो समतल स्थलसम्ममा सडक पु¥याउन अर्को ‘रोड टनेल’को निर्माण गर्नु परेको’ प्रवक्ता डा. न्यौपानेले बताए । यहि हप्ताभित्र ब्रेक थ्रु हुने गरी सिनो हाइड्रोले निर्माण कार्य अघि बढाइरहेको प्रवक्ता डा.न्यौपानले जनाए ।
            लट–१ को मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोको एक लेखा अधिकृतका अनुसार रोड टनेल निर्माण सम्पन्न गर्न करिब रु. डेढ करोड खर्च भएको छ । प्रवेशमार्ग अभावमा आयोजनाको पानीको प्रेसर थेग्ने माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्मका विभिन्न कार्यहरु रोकिएको थियो । हालसम्म ८८ प्रतिशत निर्माण सम्पन्न भएको दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले नयाँ सार्वजनिक गरेको तालिकाभन्दा अघि विद्युत् उत्पादन हुने संकेत देखिएको आयोजना सम्वद्ध कर्मचारीहरु बताउँछन ।