Thursday, May 4, 2017

दोलखामा ४ सय ३९ महिला चुनावी मैदानमा, २ दलित महिला निर्विरोध निर्वाचित


रवीन्द्र गौतम । दोलखा

बैशाख २१, दोलखा । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दोलखामा ४ सय ३९ महिला चुनावी मैदानमा उत्रिएका छन् ।
      निर्वाचनको लागि बैशाख १९ गते मंगलबार २ नगरपालिका र ७ गाउँपालिकामा दर्ता गरिएको उम्मेदवारहरुको तथ्याङ्कअनुसार ४ सय ३९ महिलाहरु चुनावी मैदानमा उत्रिएका हुन् । २ नगरपालिका र ७ गाउँपालिकाको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ७४ ओटा वडाहरुमध्ये २ नगरपालिका र २ गाउँपालिका ४ जना प्रमुख पदमा, विभिन्न नगर र गाउँपालिका गरी १६ उपप्रमुख, ७४ ओटा वडामा महिला र दलित महिला सदस्यमा क्रमश २ सय २० र १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
        ति महिला उम्मेदवारहरुमध्ये बैत्यश्वर गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट  ठुलीकान्छी विक र जिरी नगरपालिका वडा नं. ४ मा एमालेबाट निरमाया विक दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
        भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र शैलुङ गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्रमशः देवकी बुढाथोकी, उर्मिला बस्नेत कार्की र सानिकान्छी तामाङ तथा मेलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट सिता तामाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७४ महिला सदस्यको लागि २ सय २० जनाको उम्मेदवारी परेको छ भने ७४ ओटै दलित महिला सदस्यको लागि १ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढि भीमेश्वर नगरपालिका र सबैभन्दा कम बैत्यश्वर गाउँपालिकामा महिलाहरुको उम्मेदवारी दर्ता भएको पाइएको छ ।