Friday, October 28, 2016

दोलखाको जिरीबाट अबैध विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

रवीन्द्र गौतम । दोलखा

कात्तिक १२, दोलखा । पूर्वी दोलखाको जिरीबाट अबैध विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अँधेरी–१४, शिवहरी गाउँका २४ वर्षिय रमेश जैशवाललाई अबैध विष्फोटक पदार्थ सहित विहिबार इलाका प्रहरी कार्यालय जिरीले पक्राउ गरेको हो ।
          नजिकिँदो तिहारलाई लक्षित गरी भारतबाट जिरीमा पु¥याइ लुकाई छिपाई विक्रीमा राखिएको अवस्थामा जैशवालको साथबाट करिब ३ केजी विष्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विहिबार साँझ कस्मेटिक पसलबाट विक्री गर्दै गरेको अवस्थामा जैशवाललाई पटाका सहित नियन्त्रणमा लिएको जनाएको छ । जैशवालको साथबाट रकेट पटका १० थान, नागिन पटाका ३ प्याकेट, आलुबम ३५ थान, राधेचक्का ८ पिस र फुलझरी ३ थान बरामद गरेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिए ।
              पक्राउ परेको जैशवाललाई इलाका प्रहरी कार्यालय जिरीमा राखेर थप अनुसन्धान गरी रहेको छ भने बरामद गरेको पटाकाहरु शुक्रबार दिउँसो स्थानीयको रोहवरमा नष्ट गरिएको जिरीका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । यस अघि जिल्ला प्रहरी कार्यालय दोलखाले गम्भीर दुर्घटना हुन सक्ने भन्दै स्थानीय सञ्चार माध्यमबाट पटाकाजन्य पदार्थ विक्री र पड्काउन रोक लगाएको थियो ।