Tuesday, January 10, 2017

जलविद्युतमा लगानी नीति लिँदै भीमेश्वर नगरपालिका

रु. १४ करोड बजेट प्रस्ताव

रवीन्द्र गौतम । दोलखा

पुस २६, दोलखा । सदरमुकाम समेत रहेको दोलखाको पहिलो भीमेश्वर नगरपालिकाले नगरपालिका सिमानामा निर्माण भएका र हुने जलविद्युत् आयोजनामा लगानी गर्ने नीति पास गर्दै २३ औं नगर परिषद् सम्पन्न गरेको छ ।
            भीमेश्वर नगरपालिकाले सोमबार सदरमुकाम चरिकोटमा आयोजना गरेको २३ औं नगर परिषद्ले नगरपालिका सिमानामा निर्माण भएका र हुने जलविद्युत् आयोजनामा यथासक्दो लगानी गर्ने नीति पास गरेको हो । नगरपालिकाको आन्तरिक आय वृद्धिको लागि लगानीको लागि बजेट निर्धारण नगरिएको भए पनि चालु आवबाट सो नीति कार्यान्वयमा ल्याउने भीमेश्वर नगरपालिकाका कार्यकारी प्रमुख नरबहादुर विकले जानकारी दिए ।
            आर्थिक वर्ष २०७४÷०७५ का लागि करिब १४ करोड रूपैयाँ प्रस्ताव गरेको छ । सोमवार आयोजित नगरपालिकाको २३ औं नगर परिषद्ले आउँदो वर्षका लागि रु. १३ करोड ७९ लाख ३६ हजार ५ सय बराबरको बजेट प्रस्ताव गरेको हो । परिषद्मा नगरपालिका कार्यकारी अधिकृत विकले पूँजीगततर्फ रु. ७ करोड ६४ लाख ७१ हजार, चालूतर्फ रु. १ करोड ८९ लाख ६५ हजार ५ सय, सामाजिक सुरक्षातर्फ रु. ४ करोड २५ लाख बजेट प्रस्ताव गरेका छन् । जसमध्ये पुँजीगततर्फ ८० दशमलब १३ र चालुतर्फ १९ दशमलब ८७ प्रतिशत खर्च गर्ने प्रस्ताव गरेको हो ।
              २३ औं नगर परिषद्ले भीमेश्वर नगरपालिमा ‘द्वाल्खा पूर्ननिर्माण योजना’लाई प्राथमिकतामा राखेको छ । दीर्घकालिन योजना नबन्दा अस्तव्यस्त भइरहेका अधिकांश बजारहरु पुरानै नीतिलाई प्राथमिकताका साथ प्रस्ताव गरेको छ । नगरपालिकाको सेवा सुविधा एवम् महत्वपूर्ण जानकारीको साथै पुर्ननिर्माणको कार्यलाई अझ प्रभावकारी बनाउन ‘भीमेश्वर डबली’ मोबाइल एप्स निर्माण र रेडियो कार्यक्रम ‘भीमेश्वर सेरोफेरो’ लाई अघि बढाइने प्रस्ताव गरिएको छ । 
              विगतका योजनाहरुको दीर्घकालीन व्यवस्थापनका लागि संचालन खाका तयार गरी चालु आवदेखि चम्पुजा हरियाली पार्क, सिमपानी पोखरी, खोर्थली भ्युटावर, खोर्थली पीकनिक स्पटलाई आपसी सम्झौताका आधारमा इच्छुक संघसंस्था वा समुदायलाई हस्तान्तरण गरिने नीति पास गरेको छ ।
           परिषद्को उद्घाटन गर्न चरिकोट आएका पूर्व संस्कृति तथा पर्यटन मन्त्री एवम् संसद् आनन्द पोखरेलले दीर्घकालीन महत्व राख्ने योजनालाई कार्यान्वयनमा ल्याउन सुझाव दिए । परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी र नगरपालिकाको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।