रवीन्द्र गौतम । दोलखा
माघ ४, दोलखा । विभिन्न जिल्लामा रहेर किविफलको व्यवसायिक उत्पादन, विक्री र प्रचार प्रसार गरिरहेका किवि कृषकहरुले किविफल महासंघ नेपाल गठन गरेका छन् ।
देशको विभिन्न २० जिल्लामा रहेर किविफलको व्यवसायिक उत्पादन गरिरहेका कृषकहरुले किवि कृषक र किविफलको बजार व्यवस्थापनको लागि केही दिनअघि महासंघ गठन गरेका हुन् । किविफल विशेषज्ञ समेत रहेका डा. सूर्यप्रसाद पाण्डेको संयोजकत्वमा ११ सदस्यीय महासंघ गठन गरिएको किविफल एसोसियसन अफ नेपालले जनाएको छ ।
महासंघको महासचिवमा काठमाण्डौंका थीरबहादुर कटुवाल, सचिवमा दोलखाका श्यामकृष्ण थापा, कोषाध्यक्षमा पर्वतकी यमकुमारी राना र सदस्यहरुमा इलामका तारामणी खतिवडा, सोलुखुम्बुका जाङ्बु शेर्पा, रामेछापका रङदाम तामाङ, मकवानपुरका फणिन्द्रनाथ सुवेदी, सोलुखुम्बुकी भुममाया तामाङ, सिन्धुपाल्चोकका दिनेश कुमार सिग्देल र दोलखाकी दिपा खड्का रहेको महासंघले जनाएको छ । महासंघको भेलाले सगुन उप्रेती, शम्भुप्रसाद ढकाल र चन्द्रमान श्रेष्ठ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको जनाएको छ ।
