Monday, March 20, 2017

हुराडेकको तालाबन्दी र कर्मचारीलाई गरेको दुर्व्यवहार अमानविय

चैत ७, चरिकोट । मानव अधिकारवादी संस्था हुराडेक नेपाल दोलखाले आफ्नो कार्यालयमा हिजो आइतबार योङ कम्युनिष्ट लिग नेपालले लगाएको तालाबन्दीको घोर भत्सर्ना गर्दै सत्यतथ्य छानविन गरी दैनिक कार्यालय सञ्चालनको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेको छ ।
         हुराडेक नेपाल दोलखाले सोमबार बिहान पत्रकार सम्मेलन गरी दैनिक कार्यालय सञ्चालनको वातावरण बनाइदिन र संस्थामा कार्यरत पदाधिकारी र कर्मचारीको जीवन रक्षाको लागि नेपाल सरकारसँग आग्रह गरेको हो । सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा योङ कम्युनिष्ट लिग नेपालले हिजो  आइतबार बेलुका ४ बजे हुलहुज्जत सहित संस्थाको कार्यालयमा प्रवेश गरी कर्मचारीप्रति दुव्र्यवहार गरी तालाबन्दी गरिएको कार्यप्रति घोर भत्र्सना समेत गरेको छ । एक्कासी कार्यालयमा आएर तुरुन्त बाहिर निस्कन आदेश दिए, को हो ? अनि किन बाहिर निस्कनु पर्ने भनेर सोध्दा कोठा भित्रै थुनिदिने धम्की दिए पछि कम्प्युटर समेत बन्द नगरी बाहिरिनु परेको कर्मचारीहरुको गुनासो रहेको छ ।
            हुराडेक नेपाल दोलखाले निर्वाचन आचार संहिता उल्लंघन गर्दै आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको र मतदाताहरुलाई प्रभावित पार्ने काम गरेको भन्दै योङ कम्युनिष्ट लिग नेपाल दोलखाले हिजो बेलुका तालाबन्दी गरेको जनाएको छ । ‘हाम्रो संस्थाले निर्वाचन आचारसंहिता उल्लंघन हुने कुनै क्रियाकलाप सञ्चालन नगरी, नेपाल सरकारसँग स्वीकृती लिई, सरकारसँगको समन्वयमा काम गरेको व्यहोरा जानकारी गराउँछौ ।’ हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘संविधानले प्रदत्त गरेको अधिकार अनुसार नेपाल सरकारको नियम कानुन बमोजिम दर्ता भई कामकाज सञ्चालन गर्दै आएको यस स्वतन्त्र संस्थाप्रति सरकार सञ्चालनमा रहेको पार्टीकै भातृ संगठनले कानुन र संविधानले दिएको अधिकार कुण्ठित गर्ने दुस्प्रयासप्रति घोर भत्र्सना गर्दछौँ ।’
         योङ कम्युनिष्ट लिग नेपाल दोलखाले लगाएका आरोपहरुबारे सत्यतथ्य पत्ता लगाइदिन र हुराडेकको सम्पूर्ण प्रक्रियाहरुको अनुगमन गरिदिन, मानवअधिकार संरक्षण र सम्बद्र्धनको लागि समेत नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहरु, गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ, सञ्चार माध्यम, सञ्चारकर्मीहरु र नागरिक समाजका विभिन्न संघ संस्थाहरुलाई आग्रह गरिएको छ ।

नयाँ पालिका घोषणाले दोलखाको क्षेत्रफल बढ्यो, जनसंख्या घट्यो


रवीन्द्र गौतम । दोलखा

चैत ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि भएको पाइएको छ ।
           तत्कालीन दोलखा जिल्लाको क्षेत्रफल २१ सय ९१ वर्गकिलोमिटर रहेकोमा गत फागुन २७ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार जिल्लाको क्षेत्रफल २२ सय ६९ दशमलब ५ वर्गकिलोमिटर पुगेको हो । तत्कालीन दोलखा जिल्लाको क्षेत्रफलभन्दा राजपत्रमा प्रकाशित सूचनाअनुसार ७८ दशमलब ५ वर्गकिलोमिटरले बढी हो । बढेको क्षेत्रफललाई सामान्य नागरिकहरुको भाषामा भन्दा १ लाख ५४ हजार ३ सय १८ रोपनी हुन आउँछ ।
           हाल वृद्धि भएको दोलखाको कूल क्षेत्रफल नयाँ घोषणा गरिएको वैत्यश्वर गाउँपालिकाभन्दा १ दशमलब ९१ बर्गकिलोमिटरले कम हो भने अर्को मेलुङ गाउँपालिकाभन्दा ८ दशमलब ०४ बर्गकिलोमिटरले कम हो । राजपत्रअनुसार वैत्यश्वर र मेलुङ गाउँपालिकाको क्षेत्रफल क्रमशः ८० दशमलब ४१ र ८६ दशमलब ५४ वर्गकिलोमिटर रहेको छ ।
         जिल्ला समन्यव समिति दोलखाको बरिष्ठ कार्यक्रम अधिकृत विक्रम कार्कीले नापी विभागले दिएको क्षेत्रफलअनुसार प्रत्येक गाविसको जोडेर प्राविधिक समितिले सिफारिस गरेको तथ्याङ्क तलमाथि भएर राजपत्रमा प्रकाशित भएको पाइयो, छानविन गरेर सच्याउन पहल गर्ने बताए । राजपत्रअनुसार जिरी नगरपालिकाको क्षेत्रफल २११ दशमलब २७, भीमेश्वर नगरपालिकाको क्षेत्रफल १३२ दशमलब ५०, कालिञ्चोक गाउँपालिकाको क्षेत्रफल १३२ दशमलब ४९, गौरीशंकर गाउँपालिकाको क्षेत्रफल ६८१ दशमलब ३९, तामाकोशी गाउँपालिकाको १५३ दशमलब ०६, विगु गाउँपालिकाको ६६३ दशमलब र शैलुङ गाउँपालिकाको १२८ दशमलब ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ ।
         २०६८ को जनगणनाअनुसार तत्कालीन दोलखाको जिल्लाको जनसंख्याभन्दा राजपत्रमा प्रकाशित सूचनाअनुसार २ हजार ६३ जनाले कमी छ । जिल्ला समन्वय समिति दोलखाको तथ्याङ्कअनुसार दोलखाको जनसंख्या वृद्धिदर ० दशमलब ९९ प्रतिशत रहेको छ ।

Sunday, March 19, 2017

दोलखाको अग्रणी मानव अधिकारवादी संस्था हुराडेकमाथी वाईसिएलको आक्रमण

चैत ६, चरिकोट । योङ कम्युनिष्ट लिग नेपाल दोलखाले आफ्नो कार्यालयको ताला खोसेको प्रति मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले गम्भीर आपत्ति प्रकट गरेको छ । योङ कम्युनिष्ट लिग नेपाल आवद्ध केही कार्यकर्ताहरुले आइतबार दिउँसो करिब ४ बजे कार्यालयमा आई कर्मचारीलाई दुव्र्यवहार गर्दै बाहिर निकाली कार्यालयकै ताला लगाई कार्यालय बन्द गराएका छन् । 
            दोलखामा २५ वर्षदेखि कार्यरत मानव अधिकारवादी संस्था हुराडेक नेपालले निर्वाचन आचार संहिता उल्लंघन गर्दै आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको र मतदाताहरुलाई असर पर्ने अन्य काम गरेको भन्दै तालावन्दी गरिएको योङ कम्युनिष्ट लिग दोलखाका अध्यक्ष सन्तोष केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
           हुराडेक नेपाल दोलखाले भने निर्वाचन आचार संहिता उल्लंघन हुने कुनै पनि काम नगरेको  र पहिलेदेखि सञ्चालन गर्दै आएको मानवीय सेवाका क्रियाकलाप मात्र सञ्चालन गरेका हुराडेक नेपालका अध्यक्ष होम पाठकले बताए । हिजो र आज जिल्लाको जुँगु र झ्याँकु गाविसका जोखिममा परेका वालवालिकाहरुलाई शैक्षिक सामग्री र अभिभावकहरुको लागि जीविकोपार्जनमा सहयोग रकम वितरण गरेको भन्दै योङ कम्युनिष्ट लिग नेपालले कार्यालय बन्द गराएकोमा गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष पाठकले जनाए । योङ कम्युनिष्ट लिग नेपाल दोलखाले गत शुक्रबार सम्पुर्ण क्रियाकलाप बन्द गर्न भन्दै दोलखाका विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
            हुराडेक नेपाल बिगत २५ वर्षदेखि दोलखा जिल्लाको सङ्कटासन्न, अल्पसङ्ख्यक, गरिब समुदाय बीच रहेर आएको संस्था भएको र नेपाल सरकारको प्रचलित कानून बमोजिम मुनाफारहित उद्देश्यले स्थापित संस्थाले जिल्लामा स्वतन्त्र, निष्पक्ष र तटस्थ रुपमा कार्यक्रम तथा गतिबिधिहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष पाठकको दावी छ । 
          मानवीय सहायताको काम गर्दा जोखिममा परेका बालबालिकाहरुलाई पूर्व स्वीकृती बमोजिम क्रियाकलाप सञ्चालन गरेको र मिति २०७३÷१२÷०४ गतेको पत्रलाई बेवास्ता गरेको कारण जनाउँदै तालाबन्दी गरेको कुराको घोर भत्र्सना योग्य भएको भन्दै २०७३ चैत्र ०४ गते प्राप्त भएको पत्रको जवाफी प्रकृयामा रहेका अवस्थालाई योङ कम्युनिष्ट लिगले बिना सोचबुझ र सोधपुछ गरी कर्मचारी सँग दुव्र्यवहार गरी देखाएको नियतबशको यो हर्कतले मानव अधिकार माथिको खिल्ली उडाएको पाठकको टिप्पणी थियो ।