Saturday, May 28, 2016

सहकारीमा दोलखालीको औषत बचत साढे २२ हजार

रवीन्द्र गौतम । दोलखा

 दोलखा । दोलखामा कार्यरत सहकारी संस्थाहरुमा आवद्ध सेयर सदस्यहरुको औषत बचत साढे २२ हजार रहेको पाइएको छ ।
जिल्ला सहकारी संघ दोलखाको तथ्याङ्कअनुसार दोलखाको ५ सय २३ सहकारीहरुमा आवद्ध १ लाख ५८ हजार ९ सय ९० सेयर सदस्यहरुको
औषत बचत रु. २२ हजार ७ सय ८० रहेको पाइएको हो । जिल्लाका सेयर सदस्यहरुको न्यूनतम रु. ३ हजारदेखि १२ लाखसम्म बचत रहेको पाइएको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।
           जिल्लाको सहकारीहरुमा शेयर पूँजी रु. ७१ करोड ३९ लाख ३४ हजार ४ सय २२, कोषमा रु. १२ करोड ८९ लाख १९ हजार ३ सय ३९ र निक्षेप रु. २ अर्ब ७७ करोड ८८ लाख ३८ हजार ९ सय ९७ गरी कूल रु. ३ अर्ब ६२ करोड १६ लाख ९२ हजार ७ सय ५८ पूँजी बचत रहेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ । जिल्लामा सबैभन्दा बढि पूँजी बचत तथा ऋणमा २ अर्ब २७ करोड १२ लाख र सबैभन्दा कम मौरीपालन सहकारीमा २३ लाख १७ हजार पूँजी रहेको सहकारी संघले जनाएको छ ।
             जिल्लाका सहकारीहरुले रु. २ अर्ब ७३ करोड ५७ लाख ३५ हजार ९ सय ७३ कर्जा लगानी गरेका छन् भने प्रति सेयर सदस्य औषत कर्जा रु. ५ हजार ५ सय ७२ रहेको सहकारी कार्यालय दोलखाले जनाएको छ ।
१४ प्रकारको विषयगत सहकारी र एक सहकारी संघ गरी कूल ४ हजार ७ सय ७४ सञ्चालकहरुले सञ्चालन गरेको जिल्लाको सहकारीहरुमा पुरुष ७९ हजार ९ सय ४७ र महिला ७९ हजार ४३ सदस्यहरु आवद्ध रहेको डिभिजन सहकारी कार्यालय दोलखाको तथ्याङ्क छ ।