Monday, May 23, 2016

पुस्तक प्रकाशन गरेर सम्झना गरियो एकवर्षअघिको भुकम्प

रवीन्द्र गौतम । दोलखा

दोलखा । दोलखा केन्द्रविन्दु भएर विनासकारी पराकम्प गएको दिनलाई अवसर पारेर ‘दोलखा र भूकम्प’ तस्विरहरुको सँगालो प्रकाशन गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखाले प्रकाशन गरेको पुस्तक सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विमोचन गरेका हुन् ।
    पुस्तक विमोचन गर्दै मन्त्री राईले तस्विरहरुको सँगालो सबैका लागि उपयोगी र लाभदायक हुने विश्वास व्यक्त गरे । उनले महाभूकम्पका बेला भएका गतिविधि समेटेर निकालिएको पुस्तकले भूकम्पबाट जोगिने उपायहरुको जानकारी दिने, आगामी दिनमा अपनाउनुपर्ने सचेतता र नयाँ संरचना बनाउँदै गर्दा ध्यान दिनुपर्ने कुराहरु समेतको जानकारी दिने बताए ।

मन्त्री राईले भूकम्पपछि उद्धार, राहत र पुनःस्थापनामा पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गरे । पुनःनिर्माणको कामले गति दिन नसकेको स्वीकार गर्दै उनले पुनःनिर्माणको कामलाई सरकारले पहिलो
प्राथमिकतामा राखेको बताए । त्यसका लागि सरकारले १४ सय इििन्जनियर गाउँगाउँमा खटाइसकेको, दुई लाख रुपैयाँ अनुदान दिनका लागि सम्पूर्ण तयारी पूरा भएको र विना धितो दिइने ३ लाख रुपैयाँ पनि सँगसँगै पु¥याउने दावी गरे ।
      गत वर्षको वैशाख २९ गते दोलखाको सुनखानीस्थित राम्चेलाई केन्द्र विन्दु भएर ६ दशमलव ९ म्याग्निच्युडको पराकम्प गएको थियो । त्यसबाट दोलखामा वैशाख १२ को भूकम्प र १३ गते गएको पराकम्पबाट जोगिएका सबैजसो संरचनाहरु ध्वस्त भएका थिए । वैशाख १२, १३ र २९ को भूकम्पले दोलखामा एक सय ७८ जनाको ज्यान लिएको थियो भने वैशाख २९ गते को पराकम्पले मात्रै झण्डै एक सय जनाको ज्यान लिएको थियो । भूकम्पपछि दोलखामा ८ जना अझै बेपत्ता छन् । विनासकारी भूकम्प र पराकम्पमा परी जिल्लाका ६ सय ६२ जना घाइते भएका थिए । जिल्लामा भूकम्पबाट ५० अर्वको क्षति भएको तथ्यांक जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको छ । उद्धार र राहतमा दोलखामा हालसम्म करिब ८ अर्व खर्च भएको जनाइएको छ ।
     भूकम्पपछिको राहत, उद्धार र पुनःस्थापनाका गतिविधि समेटेर प्रकाशन गरिएको पुस्तक ‘दोलखा र भूकम्प’ मा एक सय ७ तस्विरहरु समेटिएका छन् । एक सय ८ पेजको उक्त पुस्तकको मूल्य रु. १ हजार १ सय राखिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जनआन्दोलन २ को समेत तस्बिर संग्रह प्रकाशन गरेको थियो ।