Sunday, May 22, 2016

शिक्षक राजनीतिले कतै मोज, कतै कन्तविजोग,

दोलखामा ९ बर्षदेखि ५ विद्यालयद्वारा बिना दरबन्दी पठनपाठन
जेठ ७, दोलखा । २०६४ सालमा पठनपाठन शुरु गरेको विद्यालयका विद्यार्थीले चालु शैक्षिक सत्रमा प्रवेशिका परिक्षा दिने भई सक्दा समेत विद्यालयमा एक पनि दरवन्दीका शिक्षक छैनन् । सुन्दा पत्याइन्न तर यो सत्य हो ।
उत्तरी क्षेत्रका ३, पूर्वी क्षेत्रको १ र दक्षिणी क्षेत्रका एक गरी दोलखाका ५ विद्यालयले ९ वर्षदेखि कन्तविजोग तरिकाले पठन पाठन सञ्चालन गदै आएको खुल्न आएको हो । २०६४ साल यता कम्तिमा ६ पटक दरवन्दी मिलान र ३ पटक नयाँ दरवन्दीको पदास्थापन गर्दा समेत ति विद्यालयमा दरवन्दी पुगेन ।

विद्यालय सञ्चालन अनुमति दिँदै दरबन्दी सहित अनुमति दिनु पर्नेमा नीति र कानुनलाई लतार्दै ५ विद्यालयका करिब ३ सय विद्यार्थीहरुको भविष्य र राज्यको लगानीमाथि शिक्षा कार्यालयले खेलवाड गरेको हो । प्रगतिशिल मिलिजुली निमावि बाबरे, सेतीदेवी प्रावि खारे, कालापानी प्रावि शैलुङ्गेश्वर, शिवदर्शन प्रावि जुँगु र निकोसप्तमाई प्रावि बाबरेले बिना दरबन्दी सास्तीका साथ पठनपाठन सञ्चालन गर्न बाध्य भएको अभिभावकहरुको आक्रोस छ ।
    शिक्षाका हाकिम र शिक्षकका पेशागत संघसंगठले गरेको राजनीतिका कारण जिल्लाका कतिपय विद्यालयमा विद्यार्थी संख्याको दोब्बर शिक्षक दरवन्दी भएर मोज छ त कतै एक दशकसम्म पनि शिक्षक दरवन्दी नपाएर कन्तविजोग भएको हो । प्रगतिशिल मिलिजुली निमाविले निकै धाएर धर्ना कसेपछि २०६७ मा एउटा राहत कोटा पाएको विद्यालयका प्रधानाध्यापक नारायण श्रेष्ठ बताउँछन् । विद्यालयमा करिब १ सय ३५ विद्यार्थीले पठनपाठन गरे पनि दरबन्दी नभएर सास्ती खेप्नु परेको उनी बताउँछन् । गाविस परिषद्मा नीजि स्रोत शिक्षकलाई तलब दिने प्रयोजनका लागि धेरैसँग झगडा गर्नु परेको अनुभव उनीसँग छ ।
    २० महिना अघि दोलखा आएका जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले, शून्य दरबन्दी भएको थाहा हुँदा–हुँदै पनि केही दिन अघि मात्र दरबन्दी पठाउने निर्णय भएको बताए । उनको कार्यअवधिमा ३ पटक दरवन्दी मिलान र शिक्षकहरुको सरुवा गरिए पनि ति विद्यालयले भने कुनै दरवन्दी पाएका छैनन् । जिल्लामा रहेका ३ सय ७२ सामुदायिक विद्यालयमा १ हजार ८ सय भन्दा बढी शिक्षकहरु कार्यरत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा छ ।