Sunday, September 3, 2017

साढे २१ लाखको लगानीमा लादुकमा खानेपानी योजना निर्माण



रवीन्द्र गौतम । दोलखा

भदौ १८, दोलखा । आम विनासकारी भुकम्पका कारण पहिरो गई मुहान बगाए पछि खानेपानीको हाहाकारमा परेकाको लागि लादुकमा रु. २१ लाखको लगानीमा खानेपानी योजना निर्माण गरिएको छ ।
        वर्षौंदेखि प्रयोग गर्दै आएको खानेपानी मुहान र धारा २ वर्ष अघिको भुकम्पले क्षतविक्षत भएपछि हाहाकारमा परेका साविकको लादुक–१ हाल विगू गाउँपालिका–४, लिंबागाउँका ९४ घरका ४ सय ९१ जना लाभान्वित भएका छन् । लादुकको लिंबागाउँमा नागपोल खानेपानी र नागपोल सिम खानेपानी योजनामा रु. २१ लाख ४९ हजार २ सय ५० को लागतमा २१ वटा सामुदायिक धारा निर्माण भएको सेवक नेपाल दोलखाका प्रवन्धक प्रल्हाद तिमल्सिनाले जानकारी दिए ।
         अमेरिकी सहायता नियोगको आर्थिक सहयोगमा सेवक नेपाल र सामुदायिक विकास मन्चको पहलमा सफा पानी कार्यक्रममार्फत नयाँ धाराहरु बनेपछि आफूहरुलाई ठूलो राहत प्राप्त भएको उपभोक्ता सुर्गा तमाङले बताए । गत फागुनदेखि निर्माण सुरु भएर अघिल्लो हप्ता मात्र पूरा भएको खानेपानी योजनाको दिगोपनाको लागि कूल रु. ९३ हजार मर्मत कोष समेतको व्यवस्था गरिएको छ ।
       प्रतिधारा ३ देखि ५ घरधुरीले प्रयोग गर्न सकिने गरी निर्माण गरिएको नागपोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खड्काले जानकारी दिए । साना बच्चालाई धारा खोल्न र पानीको प्रयोगमा समस्या हुने भएकाले बालबालिकाका लागि छुट्टै धारा र वयस्कहरुका लागि अग्लो धारा निर्माण गरिएको उनले बताए ।
       दुवै खानेपानी योजनाको गरी कूल ४ हजार ७ सय ३१ मिटर पाइप लाइन निर्माण गरिएको प्रबन्धक तिमल्सिनाले बताए । श्रमदान समेतको लेखाजोखा भएको खानेपानीमा इन्टेक २, आरभीटी २, डिआरभीटी १ को निर्माण गरिएको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् । विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले गाउँपालिकाले आगामी दिनमा एकघर एकधाराको नीति लिएकाले साझेदार संस्थाहरुले पनि सोही अनुसार कार्यक्रम बनाउन निर्देशन दिएका छन् । सफा पानी कार्यक्रमका फिल्ड संयोजक सरद सापकोटाले दोलखाका साविकका १४ ओटा गाविसमा खानेपानी योजनाको काम भइरहेको जानकारी दिए ।