Wednesday, September 25, 2019

गौरीशंकर संरक्षण क्षेत्रमा खटिए ४० लामाहरु


प्रकृति संरक्षणका लागि गौरीशंकर संरक्षण क्षेत्रमा खटिन सहभागी भएका लामाहरु ।
रवीन्द्र गौतम । दोलखा

असोज ८, दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यक्षेत्र भित्रको वन तथा वन्यजन्तु संरक्षणको लागि बौद्धमार्गी लामाहरु परिचालित भएका छन् ।
    राष्ट्रिय संरक्षण दिवसको अवसरमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले मंगलबार एक कार्यक्रमको आयोजना गरी संरक्षण क्षेत्र भित्रका वन तथा वन्यजन्तुहरुको संरक्षणको लागि ४० जना बौद्धमार्गी लामाहरु परिचालन गरेको हो । उत्तरी दोलखाको विगू गाउँपालिका–४, सिंगटीमा विशेष कार्यक्रमको आयोजना गरी संरक्षण क्षेत्र भित्रका ३२ ओटा गुम्बाहरुको ४० जना बौद्धमार्गी लामाहरुलाई स्वयँसेवकको रुपमा परिचालन गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।
    बुद्ध धर्मको सिद्धान्त नै अहिँसा भएकोले वन्यजन्तु संरक्षणको क्षेत्रमा बौद्धमार्गीहरुको महत्वपूर्ण भूमिका रहने भएकोले उनीहरुलाई परिचालन गरिएको आयोजना प्रमुख शाहले बताए । दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी ३ जिल्लामा फैलिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका उच्च भुभागहरुमा बौद्धमार्गी लामाहरुको सघन बसोवास भएकोले वन तथा वन्यजन्तुको संरक्षणमा उनीहरुको ठूलो भूमिका रहँदै आएकोमा यो अभियानले थप बल पुग्ने संरक्षण क्षेत्रको विश्वास रहेको छ ।
    बौद्धमार्गीहरु अहिंसावादी हुने भएकोले वन तथा वन्यजन्तुको संरक्षण गर्न सहज हुने भएकोले आफूहरु संरक्षण अभियानमा सहभागी भएको रोल्वालिङ साङ्गा छोलिङ्ग गुम्बाका प्रमुख ङावाङ तेन्जिङ लामाले बताए । हामीले जानी नजानी गर्दै आएको कामलाई संरक्षण क्षेत्रले संस्थागत गरी उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रको प्रकृति संरक्षणका लागि काम गर्ने अवसर पाएकोमा प्रमुख लामाले खुशी व्यक्त गरे ।
    संरक्षण कार्यको लागि खटिएका लामाहरुले गुम्बा आसपास तथा आन्तरिक र वाह्य पर्यटकहरुलाई संरक्षणको महत्व, आवश्यकता र अवसरहरुको बारेमा जानकारी गराउने योजना छ । संरक्षण क्षेत्रमा रुखहरुको फँडानी कम गर्नको लागि १०८ ओटा जीआई पाइपमा स्थायी रुपमा लुङ्खदर टाँग्ने कार्य समेत गरिएको प्रमुख लामाले बताए ।