रवीन्द्र गौतम । दोलखा
असोज १०, चरिकोट । सदरमुकाम चरिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा५ख ८८५८ नं को ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक विजय तामाङको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो करिब २ बजे चरिकोटस्थित च्छोरोल्पा अस्पताल अगाडि अक्सिजन ग्यासको सिलिन्डर लोड गर्ने क्रममा अचानक ट्रक गुड्दा भएको दुर्घटनामा सोही ट्रकका चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
च्छोरोल्पा अस्पतालको सिलिन्डर लोड गर्दै गर्दा ट्रक अचानक गुडे पछि ट्रक रोक्ने क्रममा चेपिएर भीमेश्वर नगरपालिका–९, लाकुरीडाँडा, झिँगानेका ३५ बर्षिय चालक विजय लामाको मृत्यु भएको दोलखा प्रहरीका प्रवक्ता रेशम बोहराले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्रक दुर्घटनामा चालकको मृत्यु भए पनि ठुलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो ट्रक गुडेको बायाँपटि थुप्रै किराना पसल तथा मानिसहरुको भीडभाड भए पनि सो ट्रक दायाँपटिको भित्तामा ठोकिएर रोकिएको थियो ।
