रवीन्द्र गौतम । दोलखा
मंसिर २७, दोलखा । पछिल्लो ४ आवको तथ्याङ्कअनुसार दोलखामा प्रत्येक महिना एक जना महिलाको जवरजस्ती करणी हुने गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७०÷७१ देखि २०७३÷७४ को प्रथम चौमासिकसम्म दोलखामा ३६ जना महिला तथा बालिकालाई जवरजस्ती करणी गरेको पाइएको हो । आर्थिक वर्ष २०७०÷७१ मा ९ जना, आव २०७१÷७२ मा ९ जना, आव २०७२÷७३ मा १५ जना र आव २०७३÷७४ को पहिलो चौमासिकमा ३ जना महिला जबरजस्ती करणीमा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढि आमविनासकारी भुकम्प गएको साल आर्थिक वर्ष २०७२÷७३ मा १५ जनाको जबरजस्ती करणीमा परेका छन् । तथ्याङ्कअनुसार एकवर्षमा यो संख्यामा बलत्कृत भएको पहिलो हो । विनासकारी भुकम्पका कारण सम्पूर्ण घरहरु ध्वस्त भएर सामुहिक र असुरक्षित आवासमा बसोबास गर्नु परेको कारण उल्लेख्य मात्रामा बालिकादेखि महिलासम्म जबरजस्ती करणीमा परेको केही अध्ययनहरुले देखाएको छ ।
बैशाख महिनादेखि असोजसम्म सबैभन्दा बढि बलात्कारका घटना हुने गरेको पाइएको छ भने साउनमहिनामा सबैभन्दा बढि बलात्कारको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । १३ वर्षदेखि ७३ वर्षसम्मका पीडकहरुले ३ बर्षिय बालिकादेखि ६० बर्षिय ज्येष्ठ नागरिकसम्मलाई जबरजस्ती करणी गरेको प्रहरीको तथ्याङ्क छ । जबरजस्ती करणी हुनेहरुमा ९० प्रतिशतसम्म विद्यार्थीहरु रहेका छन् भने कृषक र ज्यालामजदुरी गर्नेसम्म रहेका छन् ।
प्रहरीले ३६ ओटा बलात्कारका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया बढाएको थियो भने ६ जना अझै फरार रहेका छन् । पक्राउ परेकाहरुमध्ये अधिकांस पुर्पक्षको लागि थुनामा छन् भने केहीले १६ वर्षसम्म कैद सजाय पाइरहेको प्रहरीले जनाएको छ ।

