Wednesday, July 12, 2017

दोलखामा पनि मानव वेचविखन तथा ओसारपसारको घटना, ३ जना पक्राउ

 
रवीन्द्र गौतम । दोलखा

असार २९, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्राउ गरेको छ ।
          चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार कार्य बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं. ३, चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अन्य २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका अन्य २ जना तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पोखरेल रहेका छन् । पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
        मानव किन्ने वा बेच्ने कसुर गरेमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तथा फाइदा लिइ वा नलिई वेश्यावृत्तिमा लगाएमा कसुरको मात्रा हेरी १० देखि १५ वर्षसम्म जरिवाना र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा व्यवस्था भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।