रवीन्द्र गौतम । दोलखा
साउन ३, दोलखा । नयाँ स्थानीय तहको निर्वाचन पछि दोलखा जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ को लागि जग्गाको रजिष्ट्रेसन मूल्य ३० प्रतिशतसम्म बढाईएको छ ।
मालपोत कार्यालय दोलखा २०७४ असार ३० गते बसेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७४÷०७५ को लागि जिल्लामा नवस्थापित २ नगरपालिका
र ७ गाउँपालिकाकामा रहेका जग्गाहरुको रजिष्ट्रेसनमा ३० प्रतिशतसम्म वृद्धि गरेको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुको लिखित सुझाव, अघिल्लो आवको मूल्याङ्कनको आधार र अन्य व्यवहारिक चलनचल्तीको मूल्यहरुको आधारमा पालिकाअनुसार ५ देखि ३० प्रतिशतसम्म रजिष्ट्रेसन शूल्क वृद्धि भएको मालपोत कार्यालय दोलखाका सूचना अधिकारी अर्जुन पोखरेलले जानकारी दिए ।
मेलुङ गाउँपालिकाको सबैभन्दा कम ५ प्रतिशत र बैत्यश्वर गाउँपालिकाको सबैभन्दा बढि ३० प्रतिशतसम्म रजिष्ट्रेसन शूल्क वृद्धि भएको सूचना अधिकारी पोखरेलको भनाई छ । भीमेश्वर र जिरी नगरपालिकाको १५ प्रतिशत, तामाकोशी, गौरीशंकर, मेलुङ, विगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाहरुको भने १० प्रतिशतमात्र रजिष्ट्रेसन शुल्क वृद्धि भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
रजिष्ट्रेसन शूल्ककै आधारमा जग्गाको मूल्य स्थानअनुसार स्वचालित वृद्धि हुने आंकलन गरिएको छ । २०७४ साउन १ गतेदेखि लागू हुने सो वृद्धि दरका लागि २ नगरपालिका र ६ गाउँपालिकाले लिखित सुझाव पठाएको छ भने गौरीशंकर गाउँपालिकाले भने कुनै पनि लिखित र मौखिक दुवै सुझाव पेश नगरेको सूचना अधिकारी पोखरेलले बताए ।
पालिका अनुसार विस्तृत हेर्नुहोस्








