Thursday, July 13, 2017

दोलखा उद्योग वाणिज्य संघ आलुको रिब्राण्डिङ गर्दै


रवीन्द्र गौतम । दोलखा

असार ३०, दोलखा । उद्योग वाणिज्य संघ दोलखाले आगामी आर्थिक वर्षदेखि दोलखा जिल्लामा उत्पादित आलुको पहिचान र गुणस्तरका लागि आलुको रिब्राण्डिङ गर्ने भएको छ ।
      दोलखा उद्योग वाणिज्य संघ चरिकोटको संयोजकत्वमा सञ्चालन हुने ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममार्फत दोलखा जिल्लामा उत्पादन हुने आलुको रिब्राण्डिङ गर्ने भएको हो । कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहकार्य तथा दोलखा उद्योग वाणिज्य संघ चरिकोटको संयोजकत्वमा ५ वर्षसम्म सञ्चालन हुने ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सुरु भएको दोलखा उद्योग वाणिज्य संघ चरिकोटका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए ।
       आर्थिक वर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालय दोलखाले जिल्लामा उत्पादन हुने आलुको ब्राण्डिङ गरेको थियो । तर त्यसले निरन्तरता नपाउँदा जिल्लाका कृषकहरु मारमा परेको गुनासो सुनिन थालेको थियो । दोलखा उद्योग वाणिज्य संघ चरिकोटले पहिलो चरणमा गौरीशंकर, शैलुङ र विगु गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने आलुलाई रिब्राण्डिङ गर्ने योजना रहेको अध्यक्ष कार्कीले जनाए ।
         दोलखा जिल्लामा उत्पादन हुने आलु गुणस्तरिय र अर्गानिक हुने भएकोले स्वास्थ्यको दृष्टिकोणबाट समेत व्यापकता दिन कोल्ड स्टोर निर्माण, ब्राण्डिङ प्रमोसन, उद्योग स्थापना, मल विउ, औजार वितरण गर्ने योजना रहेको अध्यक्ष कार्कीले जनाए । योजना तर्जुमा कार्य भईरहेको र त्यसको लागि रु. ४ लाख ४० हजार विनियोजन गरिएको उनले जनाए ।