Saturday, August 5, 2017

यस्तो छ भित्री रहस्य कालिञ्चोक चौंरी महोत्सव आयोजनाको

रवीन्द्र गौतम । दोलखा

साउन २१, दोलखा । पछिल्लो एकहप्तादेखि विवाद सुरु भएको कालिञ्चोक चौंरी महोत्सवको भित्री उद्देश्य छताछुल्ल भए पछि विभिन्न रहस्यहरु सार्वजनिक हुन थालेका छन् ।
       कालिञ्चोक गाउँपालिकाले आयोजना गर्ने भनिएको कालिञ्चोक चौंरी महोत्सव पछिल्लो समय साविकको लापिलाङ गाविस हाल कालिञ्चोक गाउँपालिका वडा नं. ६ ले आयोजना गर्ने भनिए पछि सुरु भएको विवादको रहस्यहरु सार्वजनिक हुन थालेका हुन् । कालिञ्चोक चौंरी महोत्सव जसका लागि आयोजना गरिएको उनीहरुनै आयोजकसँग रुष्ट भएर महोत्सव बहिष्कारको लिखित घोषणा समेत गरिसकेका छन् । बहिष्कार गर्ने ८ चौंरी व्यवसायीहरुले आफूसँग भएको १ सय ४० चौंरी, ६ ओटा याक, ५ ओटा जोक्पे र ५० भन्दा बढि भेडाहरुलाई महोत्सवमा सहभागी नगराउने लिखित चेतावनी दिएका छन् । ति बाहेक ३ गोठका करिब ४० ओटा मात्र चौंरीहरु महोत्सवमा सहभागी हुन सक्ने आँकलन गरिएको छ ।
      स्रोत भन्छ, ‘भूभाग विवादलाई चौंरी महोत्सवमार्फत समाधान गरी कालिञ्चोक आसपासका सम्पूर्ण प्राकृतिक र धार्मिक स्रोत तथा जमिनलाई साविकको लापिलाङ गाविसको वनाउने भित्री उद्देश्यलाई प्रमाणित गर्न गाउँपालिका प्रमुखदेखि भूमाफियासम्मको चलखेल देखिन्छ ।’
        कालिञ्चोक गाउँपालिका सम्वद्ध स्रोतकाअनुसार साविकको सुन्द्रावती, लापिलाङ र कालिञ्चोक गाविस विच रहँदै आएको भूभाग विवादलाई महोत्सवमार्फत आफ्नो पक्षमा पार्न कालिञ्चोक गाउँपालिकाका अध्यक्षको गृह वडा लापिलाङलाई आयोजक बनाउनुलाई झन रहस्यमय ठानिएको हो ।
     जिल्ला प्रशासन कार्यालय दोलखा र साविकको जिल्ला विकास समिति लगायत अन्य सरकारी कार्यालयहरुले कालिञ्चोक क्षेत्रलाई साविकको कालिञ्चोक गाविसको भूभागको रुपमा प्रमाणिकरण गर्दै आईरहेकोमा महोत्सवको आयोजना पछि सो क्षेत्र लापिलाङ गाविसको बनाउन नैतिक दवावको लागि आयोजक नै परिवर्तन समेत गरिएको छ । स्रोतका अनुसार, कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको र वडा नं. ६ मा एमालेका उम्मेदवार विजयी भएको कारण आयोजक नै परिर्वतन गरिएको हो ।