Wednesday, August 9, 2017

जिसस दोलखाको बैठकले थपेन २० कर्मचारीको म्याद, पद नहुँदा ३ कर्मचारीको समायोजन अन्योल


रवीन्द्र गौतम । दोलखा

साउन २५, दोलखा । स्थानीय तहको निर्वाचन भए पछि म्याद थपिने भरोसा गरेर बसेका २० कर्मचारीको म्याद जिल्ला समन्वय समिति (जिसस) गठन पछिको पहिलो बैठकले पनि नथप्दा कर्मचारीहरु अन्योलमा परेका छन् भने समायोजन योग्य पद नहुँदा ३ कर्मचारीहरु अन्योलमा परेका छन् ।
       
        बर्षौदेखि साविकको जिविसमा कार्यरत २० कर्मचारीहरुको आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि म्याद थप नभएर अन्यौलग्रस्त रहेको अवस्थामा जिसस गठनपछि पनि निर्णय हुन नसक्दा कर्मचारीहरु झन अन्यौलमा परेका हुन् । म्याद थप नभएका कर्मचारीहरुमा स्थानीय विकास कोषतर्फका ८ जना, प्राविधिकहरु ७ जना, कार्यालय सहायक ४ जना र सवारी चालक १ जना गरी २० जना रहेका जिसस दोलखाका प्रशासन शाखाका मुनहरि थापाले जानकारी दिए ।
       म्याद नथपिए पनि कर्मचारीहरु कार्यालय भने आईरहेको जिसस प्रशासनले जनाएको छ । सहमति लिएर गाउँपालिका र नगरपालिका खटिएका प्राविधिकहरु पनि कार्यालय तथा फिल्डमा खटिएको विभिन्न पालिकाहरुले जनाएका छन् । बजेटको सिलिङ र जिससको कर्मचारीगत खाका सम्वन्धित मन्त्रालयबाट नआई पुगेको कारण म्याद थप र समायोजन हुन नसकेको जिसस स्रोतले बताएको छ ।
स्थानीय विकास अधिकारी शंकर नेपालले जिसस गठन पछि म्याद थप गरिने मौखिक जानकारी दिए पनि मंगलबार गठित जिससको बैठकले २० कर्मचारीहरुको म्याद थप बारे कुनै पनि निर्णय गरेको छैन । साविकको जिविसका बरिष्ठ आन्तरिक लेखापरिक्षक जगदिश अर्याल, बरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेढाईं र बरिष्ठ सूचना अधिकृत विक्रम कार्की गरी ३ जनाको समायोजन योग्य पद जिल्लाका कुनै पनि नगरपालिका र गाउँपालिकामा नहुँदा उनीहरु अन्योलमा परेका हुन् ।