रवीन्द्र गौतम । दोलखा
भदौ १७, दोलखा । सेबक नेपाल दोलखाले जिल्लाको १४ गाविसको खानेपानी, सरसफाई तथा स्वच्छता पुर्नलाभ सम्वन्धि विभिन्न कार्यक्रममा रु. ११ करोड खर्च गर्ने भएको छ ।
अमेरिकन जनताको आर्थिक सहयोगमा सेबक नेपाल दोलखाद्वारा दोलखा जिल्लाको १४ गाविसको खानेपानी, सरसफाई तथा स्वच्छता पुर्नलाभ कार्यक्रमका लागि रु. ११ करोड १५ लाख ९० हजार खर्च गर्ने जनाएको हो । जिल्लाको ओराङ, खारे, च्यामा, चिलंखा, जफे, लामाबगर, मिर्गे, बाबरे, बुलुङ, मेलुङ, लामिडाँडा, लादुक, शहरे र क्षेत्रपा गाविसमा खानेपानी मर्मत तथा पुननिर्माण, ५ स्थानमा सार्वजनिक शौचालय निर्माण, स्वास्थ्य तथा स्वच्छता सम्वन्धी समुदाय तथा विद्यालयस्तरमा महिनावारी स्वच्छता व्यवस्थापन सचेतना अभिवृद्धि सहित ३ शीर्षकमा सो बराबरको खर्च हुने सेबक दोलखाले जनाएको छ ।
समुदायमा खानेपानीको अवस्था सुधार गर्ने, लैङ्गिक मैत्री सार्वजनिक शौचालय निर्माण गर्ने, खानेपानी, सरसफाई तथा स्वच्छताको सुशासन तथा व्यवहारमा परिवर्तन, खानेपानी पूर्वाधारको सुशासनमा सुधार ल्याउने, दिगो सरसफाई प्रवर्दन तथा स्वच्छता कायम गर्ने र व्यक्तिको आनीबानीमा परिवर्तन ल्याउने कार्यक्रमको उद्देश्य रहेको सेवक नेपाल दोलखाका जिल्ला कार्यक्रम प्रवन्धक प्रल्हाद तिमल्सिनाले बताए ।
१४ गाविसका करिब १० हजार घरधुरीमा ९० ओटा खानेपानीका योजनाहरु मर्मत तथा पुर्ननिर्माण सहित खानेपानीको गुणस्तर परीक्षण गरी प्रत्येक धाराहरुमा पिउन योग्य पानी उपलब्ध गराइने कार्यक्रमको लक्ष्य रहेको छ । जिल्लाको ओराङ र बुलुङ बाहेकका १२ गाविसहरुमा ५६ ओटा खानेपानीका योजनाहरुको सम्भाव्यता अध्ययन समेत सम्पन्न भैसकेको सेबक दोलखाले जनाएको छ ।
त्यसका साथै दोलखा जिल्लाको सबै गाविस र नगरपालिकाहरुमा खानेपानीको स्रोत पहिचान तथा नक्सांकन जस्तो अति महत्वपूर्ण कार्यक्रम समेत सेवक नेपाल दोलखाले कार्यान्वयन गर्ने बताएको छ । त्यसको साथै जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा विद्यालय तथा अस्थायी सिकाई केन्द्रहरुमा छात्राहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि कार्यक्रम सञ्चालन गरिने योजना रहेको कार्यक्रम प्रवन्धक तिमल्सिनाले जानकारी दिए ।
