रवीन्द्र गौतम । दोलखा
कात्तिक २१, दोलखा । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सहमतिमा दोलखा जिल्लालाई २ नगरपालिका सहित ९ पालिकाको संरचना रहने गरी स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति दोलखाले अन्तिम सिफारिस गरेको छ ।
जिल्ला विकास समितिको कार्यालयमा कात्तिक २० गते शनिबार बसेको सभासद् एवम् जिल्लामा क्रियाशिल राजनीतिक दल सहितको बैठकमा २ नगरपालिका र ७ गाउँपालिका रहने गरी सहमति भए पछि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सोही अनुसार कार्यान्वयन गर्न स्थानीय निकाय पुर्नसंरचना आयोग समक्ष अन्तिम सिफारिस गरेको हो । स्थानीय तह पुर्नसंरचना आयोगले दोलखाको जनसंख्या र क्षेत्रफलको आधारमा ७ देखि ११ पालिका रहने गरी सिफारिस गर्न सुझाव पठाएकोमा ९ ओटा पालिका सिफारिस गरिएको हो ।
समितिले आयोगमा गरेको अन्तिम सिफारिसअनुसार ३ जातिलाई संरक्षण, ६ ओटा स्वायत्त वडा, २ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका रहेका छन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले भीमेश्वर र जिरी नगरपालिका तथा विगु, कालिञ्चोक, शैलुङ, मेलुङ, तामाकोशी, वैत्यश्वर र गौरीशंकर गाउँपालिका रहने गरि सिफारिस गरिएको दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले बताए । जिल्लामा २ नगरपालिका र ७ गाउँपालिमा ७५ ओटा वडा सिफारिस गरिएको छ भने थामी, माझी र सुरेललाई संरक्षित जाति प्रस्ताव गर्दै तामाङ, थामी र सुनुवार जातिको लागि ६ ओटा वडालाई स्वायत्त भनि सिफारिस गरिएको छ ।
विगु गाउँपालिका वडा नं १ र २ लाई तामाङ स्वायत्त, ६ र ८ लाई थामी स्वायत्त त्यसैगरी कालिञ्चोक गाउँपालिका वडा नं. १ लाई पनि थामी स्वायत्त, तामाकोशी गाउँपालिका वडा नं. ७ लाई सुनुवार स्वायत्त वडा सिफारिस गरिएको स्थानीय विकास अधिकारी नेपालले जानकारी दिए । अतिसिमान्तकृत जातिमा सूचीकृत सुरेल जातिलाई पनि गौरीशंकर गाउँपालिका वडा नं. ५ मा संरक्षित जातिको सूचीमा सिफारिस गरिएको छ । स्थानीय तहको केन्द्र राख्ने बिषयमा भने सामान्य बिवाद देखिए पनि सहमतिले नै सिफारिस गरिएको नेपाली कांगे्रस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताएका छन ।
थप तथा विस्तृत जानकारीको लागिः http://ddcdolakha.gov.np/llrc_dolakha_9_unit/
