सबैभन्दा बढि इन्धन, प्रविधि, छपाई, मर्मत, भ्रमण भक्तामा बेरुजु
रवीन्द्र गौतम । दोलखा
मंसिर २, दोलखा । महालेखा परीक्षकको कार्यालय काठमाण्डौंले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷०७२ सम्म जिल्ला विकास समिति दोलखाको बेरुजु रु. १२ करोड ३० लाख पुगेको छ ।
केही समय अघि महालेखा परीक्षकको कार्यालय काठमाण्डौंले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु. ९१ करोडको लेखापरीक्षण गर्दा बेरुजु रु. १२ करोड ३० लाख ५ हजार पुगेको हो । जिविस दोलखाको बेरुजु कूल लेखापरीक्षण रकमको १३ दशमलब ५० प्रतिशत देखिएको महालेखा परीक्षकको कार्यालय काठमाण्डौले जनाएको छ ।
जिविस दोलखाको हालसम्मको बेरुजु रकम चालु आबको दोलखाको ४ ओटा सरकारी कार्यालयको कूल बार्षिक बजेट बराबर रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । जिविस दोलखाले आव २०७२÷०७३ मा कूल बजेटको ७० दशमलब १२ प्रतिशत बजेट समेत फ्रिज पठाएको थियो । जिविस दोलखाको गत आबको मात्र बेरुजु रु. १ करोड ५६ लाख ४६ हजार रहेको महालेखापरिक्षकको कार्यालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।
बेरुजु रकमहरुमा सबैभन्दा बढि इन्धन, प्रविधि, छपाई, मर्मत, भ्रमण भक्ता लगायतको रहेको महालेखाले जनाएको छ । योजना बाहेक, सरकारी अनुदान, आन्तरिक स्रोत, राजश्व, धरौटी र अन्य शीर्षकमा समेत बेरुजु देखिएको छ । दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले उल्लेखनीय मात्रामा बेरुजु घटाउने अभियानको लागि बेरुजु फछर्योट सम्वन्धी तालिका निर्माण भईरहेको बताए ।
