Monday, November 28, 2016

दोलखावासीले पाउने माथिल्लो तामाकोशीको शेयर फागुनमा आउँदै


रवीन्द्र गौतम । दोलखा

मंसिर १४, दोलखा । विभिन्न अबरोधको कारण २ पटकसम्म सरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखावासीबाट संकलन गर्ने भनेको शेयर फागुनसम्म जारी गर्ने भएको छ ।
              वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना प्रभावित दोलखावासीबाट संकलन गरिने १० प्रतिशत शेयर आयोजनाले चालु आवको फागुनसम्ममा जारी गर्ने भएको हो ।
मजदुरहरुको आन्दोलनको कारण पूर्वनिर्धारित मितिमा शेयर संकलन हुन नसके पछि २०७१ चैत ७ गते विज्ञप्ती जारी गरी दोस्रोपटक सारिएको शेयर संकलन कार्य चालु आवको फागुनसम्ममा जारी गर्ने तयारी गरेको आयोजनाले जनाएको छ ।
               विभिन्न व्यवधानका वावजुद आयोजनाले उल्लेख्य गति लिए सँगै शेयरसम्वन्धि छलफल गर्न यहि मंसिर १६ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक आयोजना गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनाबाट प्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशतले हुन आउने प्रतिशेयर रु. १ सय अंकित १ करोड २५ लाख कित्ता (रु. १ अर्ब २५ करोड) शेयरको वितरण प्रक्रिया बारे बैठकले निर्णय गर्ने आयोजनाले जनाएको छ । आयोजनाको कुल जारी पुँजी ११ करोड कित्ता रहेको छ । 
             मंसिर १ गतेदेखि लागू भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार आयोजनाले नयाँ प्रक्रियाबाट फागुनसम्ममा शेयर माग गर्ने तयारी गरिरहेको प्रवक्ता डा. न्यौपानेले जनाए । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद–३ को धितोपत्रको सार्वजनिक निष्कासन सम्वन्धी व्यवस्थाको नियम ९ देखि १६ सम्म, परिच्छेद–७ को सूचना, जानकारी तथा विवरण सम्वन्धि व्यवस्थाको नियम २६ र २७ तथा परिच्छेद–९ को विविधको नियम ४४ अनुसार शेयर जारी गर्नु पर्ने भएकोले केही महिना ढिला हुने प्रवक्ता डा. न्यौपानेले जनाए ।
             यस अघि आयोजनाले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि प्रतिशेयर रु. १ सय अंकित ३ करोड ६० लाख ६ हजार (रु. ३ अर्ब ६० करोड ६ लाख) बराबरको संस्थागत शेयर बाँडफाँड समेत गरिसकेको छ । रु. ३५ अर्ब २९ करोडको लागतमा दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाटको आयोजनाले काक्तिक मसान्तसम्म ८३ प्रतिशतसम्म निर्माण सम्पन्न गरेको छ ।