रवीन्द्र गौतम । दोलखा
कात्तिक २२, दोलखा । राष्ट्रिय गौरवको स्वदेशी पूँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ ।
२०६८ सालबाट निर्माण सुरु भएको आयोजना २०७४ असारसम्म निर्माण सम्पन्न हुनु पर्नेमा २०७२ सालको आम विनासकारी भुकम्प, निरन्तरको पराकम्प र भारतीय नाकावन्दीले प्रतिकूल असर गरेको आयोजनाले कार्यप्रगति प्रतिवेदनअनुसार ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको हो । विभिन्न ४ लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कूल रु. ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणको लागि रु. ३५ अर्ब २९ करोड बजेट विनियोजन गरिएको भए पनि विभिन्न कारणले लागत बढेर रु. ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।
आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेकाअनुसार सिभिल निर्माण कार्य अन्र्तगतको बाँध निर्माण ८५ प्रतिशत, मुख्य सुरुङ ८१ प्रतिशत, टेलरेस सुरुङ शतप्रतिशत, अडिट लगायत अन्य सुरुङ ९९ प्रतिशत, भूमिगत विद्युतगृह तथा ट्रान्सफर्मर क्याभर्न कंक्रिट कार्य ८८ प्रतिशत कार्य पुरा भएको छ ।
लट–२ को इलेक्ट्रोमेकानिकलले पनि बाँधस्थलमा गेट हबसम्वन्धी कार्यहरु करिब ५५ प्रतिशत पुरा भएको छ भने पावर हाउसमा ट्रान्सफर्मरको पाइपीङ कार्यहरु अन्तिम चरणमा पुगेको छ । लट–३ मा पर्ने हाइड्रोमेकानिकल अन्तर्गत टर्वाइनका पार्टसहरु आयोजनास्थल पुगि ‘डेभलपिङ’ कार्य भैरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको लट–४ अन्र्तगत पर्ने विद्युत प्रसारणको लागि २२०÷१३२ केभीको प्रसारण लाइन भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । केइसीले गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लाइन प्रशारण गर्ने १ सय २७ ओटा टावरमार्फत ६४ ओटा टावर निर्माण सम्पन्न, थप ३० ओटा टावरको जग खन्ने कार्य सम्पन्न गरिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।
लट–१ को ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्ग अन्तर्गत काभ्रे भीरमा ३ सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी शुक्रबारसम्म २ सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भए पछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ ।