Wednesday, January 18, 2017

दोलखा भित्रिएको ३५० अस्वस्थ्य चल्ला नष्ट

रवीन्द्र गौतम । दोलखा

माघ ५, दोलखा । भारतीय नागरिकले लुकाइ छिपाई दोलखा भित्र्याएका करिब ३ सय ५० अस्वस्थ्य तथा गैरकानुनी चल्लालाई जिल्ला पशु सेवा कार्यालय दोलखाले नष्ट गरेको छ ।
       भेटेनरी स्वास्थ्य जाँच पास नभएको करिब ३ सय ५० चल्लालाई पशु सेवा कार्यालयले बुधबार नष्ट गरेको हो । २ भारतीय नागरिकहरुले विक्रीको लागि भीमेश्वर नगरपालिका वडा नं. १ को विभिन्न क्षेत्रमा लगिरहेको फेला परेर जाँच गर्दा अस्वस्थ्य चल्ला रहेको पाइए पछि नष्ट गरिएको पशु सेवा कार्यालय दोलखाका कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत ज्ञानबहादुर थापाले जानकारी दिए ।
               स्थानीय प्रशासन, प्रहरी र सञ्चारकर्मीहरुको रोहवरमा अस्वस्थ्य चल्लालाई खाल्डो खनेर गाढी नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ । एकै समयमा एकै जातको मात्र चल्ला आयात गर्न पाइने नियम विपरित आयात गरिएको मिश्रित चल्ला पाइएपछि प्रहरीको सहयोगमा नियन्त्रण लिइएको  प्रमुख थापाले जानकारी दिए ।
             अस्वस्थ्य चल्ला पशु कृषकहरुकोमा पुगेको भए अन्य चल्ला तथा कुखुराहरुमा समेत रोग लाग्न सक्ने भएकोले नष्ट गरिएको कार्यालयले जनाएको छ । नष्ट गरिएको अस्वस्थ्य चल्ला स्थानीय बजार मूल्य अनुसार करिब रु. २५ हजार बराबरको रहेको पाइएको छ ।

Tuesday, January 17, 2017

किविफल महासंघको सचिवमा दोलखाका थापा निर्वाचित

रवीन्द्र गौतम । दोलखा

माघ ४, दोलखा । विभिन्न जिल्लामा रहेर किविफलको व्यवसायिक उत्पादन, विक्री र प्रचार प्रसार गरिरहेका किवि कृषकहरुले किविफल महासंघ नेपाल गठन गरेका छन् ।
  देशको विभिन्न २० जिल्लामा रहेर किविफलको व्यवसायिक उत्पादन गरिरहेका कृषकहरुले किवि कृषक र किविफलको बजार व्यवस्थापनको लागि केही दिनअघि महासंघ गठन गरेका हुन् । किविफल विशेषज्ञ समेत रहेका डा. सूर्यप्रसाद पाण्डेको संयोजकत्वमा ११ सदस्यीय महासंघ गठन गरिएको किविफल एसोसियसन अफ नेपालले जनाएको छ ।
    महासंघको महासचिवमा काठमाण्डौंका थीरबहादुर कटुवाल, सचिवमा दोलखाका श्यामकृष्ण थापा, कोषाध्यक्षमा पर्वतकी यमकुमारी राना र सदस्यहरुमा इलामका तारामणी खतिवडा, सोलुखुम्बुका जाङ्बु शेर्पा, रामेछापका रङदाम तामाङ, मकवानपुरका फणिन्द्रनाथ सुवेदी, सोलुखुम्बुकी भुममाया तामाङ, सिन्धुपाल्चोकका दिनेश कुमार सिग्देल र दोलखाकी दिपा खड्का रहेको महासंघले जनाएको छ । महासंघको भेलाले सगुन उप्रेती, शम्भुप्रसाद ढकाल र चन्द्रमान श्रेष्ठ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको जनाएको छ ।

Monday, January 16, 2017

स्वास्थ्य मन्त्री गगन थापा भन्छन् : राष्ट्रिय पार्टीले निर्वाचन विरोधी हुनु हुँदैन

रवीन्द्र गौतम । दोलखा

माघ ३, दोलखा । नेपालमा राजनीति गर्ने र प्रजातान्त्रिक पद्धतीमा विश्वास गर्ने कुनै पनि राजनीतिक पार्टीले निर्वाचन विरोधी हुन नहुने स्वास्थ्य मन्त्री गगनकुमार थापाले बताएका छन् ।
              स्वास्थ्य मन्त्री थापाले कैयौं वर्षदेखि निर्वाचन हुन नसक्द विकास निर्माण लगायत विभिन्न अंगहरुले नयाँ गती लिन ढिलाई गरिरहेको जनाउँदै देशको जिम्मेवार पार्टीहरुले निर्वाचनसँग डराउनु नहुने बताएका हुन् । नेपाल साँस्कृतिक संघ दोलखाले आयोजना गरेको दोस्रो जिल्ला अधिवेसनलाई सोमबार सदरमुकाम चरिकोटमा सम्वोदन गर्ने क्रममा स्वास्थ्य मन्त्री थापाले यस्तो बताएका हुन् ।
                 २००७, २०४६ र २०६३ लगायत प्रत्येक पटक गरिएको आन्दोलनले विजय प्राप्त पनि गरिरहेका र अनिवार्य हार पनि व्यहोरी रहेको प्रसंग जोड्दै निर्वाचन नगर्ने वा गर्नु हुँदैन भन्ने शक्ति प्रतिगामी भएको मन्त्री थापाले दावी गरे ।
             स्वास्थ्य मन्त्री थापाले आफ्नो मन्त्रालयको बारेमा चर्चा गर्ने क्रममा नेपालमा कोही विरामी नै हुन नपरोस् यदि विरामी भई हालेमा पनि खाली हात अस्पताल गएर उपचार गरेर फर्कने वातावरण वनाउन आफू र आफ्नो मन्त्रालय कानुन बनाउन लागि परेको बताएका छन् । मन्त्री थापाले त्यस्तो कानुन निर्माणको लागि यहि माघ १५ गतेभित्र मन्त्री परिषद्मा पेश गर्ने बताएका हुन् ।
            अघिल्लो सरकारले विभिन्न प्रकारका औषधिहरु निशुल्क वितरण गर्ने घोषणा मात्र गरेको तर औषधि २ वर्षदेखि खरिद नगरेको आरोप लगाउँदै त्यसको लागि आफूले नीति निर्माण गरि सकेको र कुनै पनि जिल्लाले औषधि अभाव भएको भनेर मन्त्रालयमा खबर गरेको २४ घण्टाभित्र या त औषधि या पैसा पठाउने व्यवस्था मिलाएको मन्त्री थापाले घोषणा गरेका छन् ।चौकीमा औषधि उदेशको कुनै पनि जिल्लानेपालको २५ जिल्लामा सरकारद्वारा लागू गरेको स्वास्थ्य विमा दोलखामा पनि लागू गर्ने तयारी गरिरहेको बताएका छन् ।
            नेपाल साँस्कृतिक संघ दोलखाका अध्यक्ष सुवास विक्रम शिवाकोटीको अध्यक्षतामा सम्पन्न दोस्रो जिल्ला अधिवेसको उद्घाटन समारोहमा तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पा, आदिवासी जनजाति महासंघका सचिव पाशाङ शेर्पा, काँग्रेस महासमिति सदस्य विनिता अधिकारी, काँग्रेस दोलखाका सचिव सन्तोष रिमाल, काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का लगायतले अधिवेसन सफलताको शुभकामना व्यक्त गरेको आयोजकले जनाएको छ ।

Tuesday, January 10, 2017

जलविद्युतमा लगानी नीति लिँदै भीमेश्वर नगरपालिका

रु. १४ करोड बजेट प्रस्ताव

रवीन्द्र गौतम । दोलखा

पुस २६, दोलखा । सदरमुकाम समेत रहेको दोलखाको पहिलो भीमेश्वर नगरपालिकाले नगरपालिका सिमानामा निर्माण भएका र हुने जलविद्युत् आयोजनामा लगानी गर्ने नीति पास गर्दै २३ औं नगर परिषद् सम्पन्न गरेको छ ।
            भीमेश्वर नगरपालिकाले सोमबार सदरमुकाम चरिकोटमा आयोजना गरेको २३ औं नगर परिषद्ले नगरपालिका सिमानामा निर्माण भएका र हुने जलविद्युत् आयोजनामा यथासक्दो लगानी गर्ने नीति पास गरेको हो । नगरपालिकाको आन्तरिक आय वृद्धिको लागि लगानीको लागि बजेट निर्धारण नगरिएको भए पनि चालु आवबाट सो नीति कार्यान्वयमा ल्याउने भीमेश्वर नगरपालिकाका कार्यकारी प्रमुख नरबहादुर विकले जानकारी दिए ।
            आर्थिक वर्ष २०७४÷०७५ का लागि करिब १४ करोड रूपैयाँ प्रस्ताव गरेको छ । सोमवार आयोजित नगरपालिकाको २३ औं नगर परिषद्ले आउँदो वर्षका लागि रु. १३ करोड ७९ लाख ३६ हजार ५ सय बराबरको बजेट प्रस्ताव गरेको हो । परिषद्मा नगरपालिका कार्यकारी अधिकृत विकले पूँजीगततर्फ रु. ७ करोड ६४ लाख ७१ हजार, चालूतर्फ रु. १ करोड ८९ लाख ६५ हजार ५ सय, सामाजिक सुरक्षातर्फ रु. ४ करोड २५ लाख बजेट प्रस्ताव गरेका छन् । जसमध्ये पुँजीगततर्फ ८० दशमलब १३ र चालुतर्फ १९ दशमलब ८७ प्रतिशत खर्च गर्ने प्रस्ताव गरेको हो ।
              २३ औं नगर परिषद्ले भीमेश्वर नगरपालिमा ‘द्वाल्खा पूर्ननिर्माण योजना’लाई प्राथमिकतामा राखेको छ । दीर्घकालिन योजना नबन्दा अस्तव्यस्त भइरहेका अधिकांश बजारहरु पुरानै नीतिलाई प्राथमिकताका साथ प्रस्ताव गरेको छ । नगरपालिकाको सेवा सुविधा एवम् महत्वपूर्ण जानकारीको साथै पुर्ननिर्माणको कार्यलाई अझ प्रभावकारी बनाउन ‘भीमेश्वर डबली’ मोबाइल एप्स निर्माण र रेडियो कार्यक्रम ‘भीमेश्वर सेरोफेरो’ लाई अघि बढाइने प्रस्ताव गरिएको छ । 
              विगतका योजनाहरुको दीर्घकालीन व्यवस्थापनका लागि संचालन खाका तयार गरी चालु आवदेखि चम्पुजा हरियाली पार्क, सिमपानी पोखरी, खोर्थली भ्युटावर, खोर्थली पीकनिक स्पटलाई आपसी सम्झौताका आधारमा इच्छुक संघसंस्था वा समुदायलाई हस्तान्तरण गरिने नीति पास गरेको छ ।
           परिषद्को उद्घाटन गर्न चरिकोट आएका पूर्व संस्कृति तथा पर्यटन मन्त्री एवम् संसद् आनन्द पोखरेलले दीर्घकालीन महत्व राख्ने योजनालाई कार्यान्वयनमा ल्याउन सुझाव दिए । परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी र नगरपालिकाको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।