Tuesday, August 29, 2017

दोलखामा एग्रो फार्म सहितको ‘द उड्स चरिकोट’ रिसोर्ट सुरु


रवीन्द्र गौतम । दोलखा

भदौ १३, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा एग्रो फार्म सहितको रिसोर्ट सुरु भएको छ । चरिकोट बजारबाट करिब ९ सय मिटर उत्तरतर्फ भीमेश्वर नगरपालिका वडा नं. ३, गौतमटोलमा एग्रो फार्म सहितको द उड्स चरिकोट रिसोर्ट सुरु भएको हो ।
          दोलखा जिल्लामा बढ्दै गईरहेको बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी चरिकोटमा पछिल्लो समय सुविधा सम्पन्न होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएसँगै उड्स चरिकोट रिसोर्ट स्थापना भएको हो । पाहुनालाई खान इच्छा लागेको तरकारी आफैले टिपेर ल्याएर पकाउन लगाउन मिल्ने गरी एग्रोफार्मको सुविधासहित यो नै दोलखा जिल्लामा पहिलो रिसोर्ट हो ।
        करिब रु. ३ करोडको लागतमा टेनिस कोर्ट सहित १५ रोपनी जग्गामा फैलिएको रिसोर्टमा सेवाको विविधताले जिल्लाकै उत्कृष्ठ होटलको रुपमा निर्माण गरिएको रिसोर्ट सञ्चालक निराजन थापाले बताए । आफनै अर्गानिक फार्म, आफ्नै पानीको मुहानबाट फ्रेस वाटर पिउन पाइने, खोला र जंगलको विचमा अवस्थित रिसोर्टलाई भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गरि निर्माण गरिएको रिसोर्ट सञ्चालक थापाको दावी छ ।
         पर्यावरणमैत्री स्थलमा पारिवारिक तथा बालमैत्री वातावरणलाई ध्यान दिएर अपाङ्गमैत्री संरचना निर्माण गरिएको रिसोर्टको प्रमुख विशेषता रहेको थापाको भनाई रहेको छ । राजधानीबाट नजिकको दुरीमा रहेको उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित चरिकोटमा अवस्थित रिसोर्टमा पुरातत्व महत्व झल्काउने संरचनाको दृश्यपान गर्दै आनन्द लिन सकिने स्तरको निर्माण गरिएको सञ्चालकको भनाई रहेको छ । प्रशिद्ध कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर, लप्ची गुम्वा, वेदिङ–च्छोरोल्पा, हनुमन्ते–चेदुर््ङ, शैलुङ, विगु गुम्वा लगायतमा प्याकेजको समेत व्यवस्था गरेको रिसोर्ट व्यवस्थापनले जनाएको छ ।
          १२ कोठा क्षमता रहेको रिसोर्टमा मिटिङ हल, डायनिङ हल समेतको व्यवस्था रहेको छ भने प्रतिकोठाको मूल्य रु. २ हजारदेखि २ हजार ५ सयसम्म मूल्य निर्धारण गरिएको सञ्चालकले जानकारी दिए । यस्तै समूहमा आउने पर्यटकको लागि विशेष छुटको समेत व्यवस्था रहेको जनाएको छ ।

      
        पाहुनाहरुको पूर्ण सुरक्षाको लागि सेक्युरिटी गार्ड र सिसि क्यामेरा तथा इन्टरनेटको समेत व्यवस्था गरिएको रिसोर्ट व्यवस्थापनले जनाएको छ । रिसोर्टमा साना ठूला गरी १० भन्दा बढि गाडी र २० भन्दा बढि मोटरसाइकल पार्किङको व्यवस्था रहनुको साथै मल्टिमिडियाको सुविधा सहित ५० सिट क्षमताको कार्यक्रम हलको सुविधा रहेको छ  रामेछाप र सिन्धुलीको सिमानामा रहेको सुनकोशी पुलको निर्माण सँगै जनकपूर लगाएतका तराइका जिल्लाबाट दोलखाको धार्मिक स्थलहरुमा पर्यटकहरु आउने क्रम बढेको पाइएको छ ।

Thursday, August 24, 2017

अनौठो समस्या देखियो दोलखाको विद्युत प्राधिकरणमा उपभोक्ता बन्द, हड्ताल र डेलिगेसनमा व्यस्त


रवीन्द्र गौतम । दोलखा

भदौ ९, दोलखा । करिब डेढ महिनादेखि अनौठो समस्या देखिए पछि अवरुद्ध बनेको दोलखा जिल्लाको विद्युत् प्रशारण समस्या सुल्झिन नसक्दा जिल्लाका उपभोक्ताहरु वन्द हड्तालमा उत्रिएका छन् ।
       प्रत्येक ५ देखि १० मिनेटमा विद्युत् प्रशारण अवरुद्ध भएर वाक्क भएका दोलखा जिल्लाका उपभोक्ताहरुले पटक पटक मौखिक र लिखित आग्रह गर्दा समेत विद्युत नियमित नभए पछि वन्द हड्तालसम्ममा उत्रिएका हुन् । दैनिक करिब डेढ सयभन्दा बढि टेलिफोनमार्फत गुनासो गरिने तथा जिल्लाका नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी, व्यवसायी लगायतले लिखित उजुरी गर्दासम्म पनि विद्युत् नियमित हुन नसक्दा उत्तरी दोलखाको व्यापारिक नाका सिंगटी बजार बन्द गरेर व्यवसायीहरु हड्ताल सम्ममा उत्रिएका छन् ।

        
       सदरमुकाम चरिकोटस्थित प्राधिकरणको सम्पर्क कार्यालयमा दैनिकजसो विभिन्न निकायबाट डेलिगेसन पुग्ने र ज्ञापनपत्र बुझाउनेको ओइरो लाग्दा समेत विद्युत् नियमित हुन सकेको छैन । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका सल्लाहकार महेश श्रेष्ठका अनुसार गत जेठ १५ सम्ममा सबै प्राविधिक समस्या समाधान गरि विद्युत् नियमित गराउने लिखित कागज गरे पनि हालसम्म कुनै चासो नदिएको कारण व्यवसायीहरु हड्तालमा उत्रिन बाध्य भएको जनाएका छन् ।
      नेपाल विद्युत प्राधिकरण दोलखा शाखाको अनुसार दिउँसोको समयमा विद्युत् प्रशारणमा अनौठो समस्या देखिएको बताएको छ । विद्युत् प्राधिकरण दोलखाको इन्जिनियर उमेश श्रेष्ठकाअनुसार घाम लागेर तापक्रम बढेसँगै मकैबारी सवस्टेशनमा स्वचालित ट्रिप हुन्छ र विद्युत् अवरुद्ध हुन्छ । ठूलै जनशक्ति र खर्च गर्दा पनि समस्या हालसम्म पनि पहिचान हुन नसकेको इन्जिनियर श्रेष्ठ बताउँछन् । तर साँझको समय र चिसो मौषम हुने विक्तिकै समस्या आफै समाधान भएर विद्युत नियमित भईरहेकोले जिल्लामा अनौठो समस्या देखिएको इन्जिनियर श्रेष्ठ स्वीकार गर्छन ।

Wednesday, August 23, 2017

मिलिजुली साकोसले बनायो कोटीहोममा सार्वजनिक शौचालय


रवीन्द्र गौतम । दोलखा

भदौ ७, दोलखा । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदरमुकाम चरिकोटस्थित कोटीहोम यज्ञस्थलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
       पूँजी र सदस्य संख्याको आधारमा जिल्लाकै ठूलोमध्ये पर्ने मिलिजुली साकोसले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा सदरमुकाम चरिकोटस्थित कोटीहोम यज्ञस्थलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो । २५ औं स्थापना दिवस र रजत जयन्ती बर्षको अवसरमा बुधबार एक समारोहको आयोजना गरी मिलिजुली साकोसले भीमेश्वर नगरपालिकाका मेयर भरत केसीबाट शिलान्यास गराएको छ । २ कोठा क्षमताको शौचालयको लागि डेढलाखभन्दा बढि खर्च गरिने स्टिमेट रहेको सहकारीका प्रवन्धक इश्वर न्यौपानेले जानकारी दिए ।
        मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहलाई सम्वोदन गर्दै मेयर केसीले जिल्लामा रहेका हरेक सहकारीहरुले एक एक ओटा सामाजिक कार्य गर्ने हो भने पनि विकास निर्माण सम्वन्धि धेरै कामहरु हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले सहकारीहरुमार्फत सामाजिक कार्यहरु गरिने प्रचलन बढेकोले हरेक सहकारीले आफ्नो हैसियत अनुसार सामाजिक कार्य गर्दा सबैलाई भलो हुने बताए ।

Tuesday, August 22, 2017

वन संरक्षण शिक्षा पढ्दै दोलखा सहित ३ जिल्लाका २ हजार विद्यार्थी

 रवीन्द्र गौतम । दोलखा

भदौ ७, दोलखा । गौरीशंकर संरक्षण क्षेत्र लागू भएका दोलखा सहित ३ जिल्लाका २ हजार विद्यार्थीहरुले वन संरक्षण शिक्षा अध्ययन गर्दै आईरहेका छन् ।
        दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका २२ माध्यमिक विद्यालयहरुमा चालु शैक्षिक सत्रमा करिब २ हजार विद्यार्थीहरुले संरक्षण शिक्षा अध्ययन गर्दै आइरहेका हुन् । सानै उमेरदेखि वन संरक्षण, सम्वद्र्धन र उपयोगका बारेमा जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्षेत्रभित्रका २२ विद्यालयहरुमा अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा लागू गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप)का प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।
       दोलखा जिल्लाको १४, सिन्धुपाल्चोक जिल्लाको ५ र रामेछाप जिल्लाको ३ ओटा गरी २२ ओटा विद्यालयले सरकारको नियमित पाठ्यक्रमभन्दा अतिरिक्त शिक्षाको रुपमा आफ्नो विद्यालयको कक्षा ६, ७ र ८ मा अध्यापन गराउने गरेको जीक्यापका प्रमुख शाहले जानकारी दिए । जीक्यापको तथ्याङ्कअनुसार कक्षा–६ मा एकहजार ३३, कक्षा–७ मा ५ सय ५० र कक्षा–८ मा ४ सय २० गरी कूल करिब २ हजार विद्यार्थीहरुले अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा अध्ययन गर्ने गरेका छन् ।
       संरक्षण शिक्षाको लागि पाठ्यक्रम विकास केन्द्र भक्तपुरको समन्वयमा जीक्यापको आफ्नै खर्चमा पाठ्यक्रम विकास गरि सम्वन्धित विद्यालयका विद्यार्थीहरुलाई निशुल्क वितरण गर्ने गरेको जनाएको छ । संरक्षण शिक्षा सहायता कार्यक्रममार्फत अध्यापन गराईने संरक्षण शिक्षाको पाठ्यभार बार्षिक २० घण्टी रहेको जीक्यापले जनाएको छ । सरकारले लागू गरेको ८ सय पूर्णाङ्कभन्दा अतिरिक्त शिक्षाको रुपमा सबैभन्दा पहिला हामीले संरक्षण शिक्षा अध्यापन सुरु गरेको उत्तरी दोलखास्थित शान्तिआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडा बस्नेतले जनाए ।
       ३ चरणको परीक्षामध्ये ५० पूर्णाङ्क निर्धारण गरी बार्षिक परीक्षा सञ्चालन हुने गरेको छ भने बार्षिक परीक्षाको लागि आफ्नै खर्चमा प्रश्नपत्र छपाई गरेर विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख शाहले जनाएका छन् । संरक्षण शिक्षा अध्यापन गराउने शिक्षकको लागि मसलन्द सहित रु. २० हजार, ग्रीन फोर्स बालक्लबको लागि बार्षिक रु. १० हजार र छात्रवृत्तिको लागि रु. १० हजार गरी बार्षिक रु. ४० हजार पनि विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख शाहले जानकारी दिए । साथै विद्यालयको आवश्यकतअनुसार अन्य शैक्षिक सामग्री, आंशिक मर्मत, शौचालय निर्माण र सामान्य फर्निचर समेत उपलब्ध गराउने गरेको जीक्यापले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको साविकका विभिन्न २२ गाविसको वन क्षेत्र समेटेर २०६७ सालबाट गौरीशंकर संरक्षण क्षेत्र लागू भएको थियो ।

Saturday, August 19, 2017

अर्थभूमीले पु¥यायो छोटो समयमा साढे १३ करोड पूँजी


रवीन्द्र गौतम । दोलखा

भदौ ३, दोलखा । सदरमुकाम चरिकोटमा केही वर्ष अघि मात्र स्थापना भएर छोटो समयमा ख्याती कमाउँदै अर्थभूमी बचत तथा ऋण सहकारी संस्थाले साढे १३ करोड पूँजी पु¥याएको छ ।
       एकिकरण पछिको दोस्रो साधारणको आयोजना गरेको अर्थभूमी साकोसले स्थापनाको करिब आधादशकमा नै १३ करोड ५४ लाख कूल पूँजी पु¥याएको हो । २ वर्षअघि केही सहकारीहरु अर्थभूमीमा समाहित भए पछि आर्थिक रुपमा सबल भन्दै गएको अर्थभूमी सहकारीको सेयर पूँजी रु. १ करोड ७८ लाख ९ हजार ३ सय रहेको कार्यसमिति सदस्य मुरारि दुलालले जानकारी दिए ।
      महिला ९ सय ३९ पुरुष १२ सय ५६ र बाल सदस्य ३ सय ३१ गरी कूल २५ सय २६ सदस्य  रहेको सहकारीलाई ७ जना कर्मचारीहरुले प्रत्यक्ष सञ्चालन गरिरहेको सदस्य दुलालले जानकारी दिए । आर्थिक वर्ष २०७३÷०७४ मा कूल रु. १ करोड ४२ लाख ११ हजार ३ सय ९१ आम्दानी गरेकोमा बचतमा व्याज भुक्तानी सहित १ करोड २१ लाख ३१ हजार ८७ खर्च गरेर कूल रु. २० लाख ८० हजार नाफा कमाएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Friday, August 18, 2017

खोलाले बगाउँदा दोलखामा एक बृद्धको मृत्यु

रवीन्द्र गौतम । दोलखा

भदौ २, दोलखा । उत्तरी दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पास्थित थाङ्ने खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।
        भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पा निवासी बिच्छीकुमार थामीकी करिब ८० बर्षिय आमा पञ्चमाया थामीलाई थाङ्ने खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जनाएका छन् ।
         खोलाले बगाएर करिब २०० मिटर तल पु¥याएको अवस्थामा थामीको शव बरामद गरिएको प्रहरीले जनाएको छ । थामीको शवलाई पोष्टमार्टमको लागि चरिकोट ल्याईएको डिएसपी कार्कीले जानकारी दिए ।

Tuesday, August 15, 2017

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा मिति फेरि सा¥यो


साउन ३१, चरिकोट । देशको विषय परिस्थितिलाई मध्य नजर गरी शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा मिति दोस्रोपटक पनि सारेको छ ।
    शिक्षक सेवा आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै २०७३ चैत १९ गते प्रकाशित प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह परिक्षा कार्यक्रम २०७४ भदौ ३ गते तोकिएकोमा केही दिनदेखि पर्न गएको अविरल वर्षाको कारणले मुलुकका केही भागहरुमा असहज अवस्था सृजना भएको कारण जनाउँदै अस्थायी शिक्षकको परिक्षा मिति दोस्रो पटक पनि सारेको हो । यसअघि २०७४ असार २४ मा गर्ने भनिएको परिक्षा स्थानीय तहको निर्वाचनको कारणले २०७४ भदौ ३ गतेलाई सरिएको थियो ।
    आयोगद्वारा जारी विज्ञप्तीअनुसार ‘कतिपय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको र परीक्षार्थीहरु समेत परीक्षा केन्द्रसम्म आवतजावत गर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त परीक्षा मिति २०७४ भाद्र १० गते शनिबार बिहान ११ बजे पूर्व घोषित परीक्षा केन्द्रमा नै हुने गरी संशोधन गरिएको’ उल्लेख छ । आयोगले यसबाट परीक्षामा सम्मिलित हुन परीक्षा केन्द्रसम्म पुगेका वा पुग्दै गरेका परीक्षार्थीहरुलाई पर्न गएको असुविधाको लागि दुःख समेत व्यक्त गरेको छ ।

Wednesday, August 9, 2017

जिसस दोलखाको बैठकले थपेन २० कर्मचारीको म्याद, पद नहुँदा ३ कर्मचारीको समायोजन अन्योल


रवीन्द्र गौतम । दोलखा

साउन २५, दोलखा । स्थानीय तहको निर्वाचन भए पछि म्याद थपिने भरोसा गरेर बसेका २० कर्मचारीको म्याद जिल्ला समन्वय समिति (जिसस) गठन पछिको पहिलो बैठकले पनि नथप्दा कर्मचारीहरु अन्योलमा परेका छन् भने समायोजन योग्य पद नहुँदा ३ कर्मचारीहरु अन्योलमा परेका छन् ।
       
        बर्षौदेखि साविकको जिविसमा कार्यरत २० कर्मचारीहरुको आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि म्याद थप नभएर अन्यौलग्रस्त रहेको अवस्थामा जिसस गठनपछि पनि निर्णय हुन नसक्दा कर्मचारीहरु झन अन्यौलमा परेका हुन् । म्याद थप नभएका कर्मचारीहरुमा स्थानीय विकास कोषतर्फका ८ जना, प्राविधिकहरु ७ जना, कार्यालय सहायक ४ जना र सवारी चालक १ जना गरी २० जना रहेका जिसस दोलखाका प्रशासन शाखाका मुनहरि थापाले जानकारी दिए ।
       म्याद नथपिए पनि कर्मचारीहरु कार्यालय भने आईरहेको जिसस प्रशासनले जनाएको छ । सहमति लिएर गाउँपालिका र नगरपालिका खटिएका प्राविधिकहरु पनि कार्यालय तथा फिल्डमा खटिएको विभिन्न पालिकाहरुले जनाएका छन् । बजेटको सिलिङ र जिससको कर्मचारीगत खाका सम्वन्धित मन्त्रालयबाट नआई पुगेको कारण म्याद थप र समायोजन हुन नसकेको जिसस स्रोतले बताएको छ ।
स्थानीय विकास अधिकारी शंकर नेपालले जिसस गठन पछि म्याद थप गरिने मौखिक जानकारी दिए पनि मंगलबार गठित जिससको बैठकले २० कर्मचारीहरुको म्याद थप बारे कुनै पनि निर्णय गरेको छैन । साविकको जिविसका बरिष्ठ आन्तरिक लेखापरिक्षक जगदिश अर्याल, बरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेढाईं र बरिष्ठ सूचना अधिकृत विक्रम कार्की गरी ३ जनाको समायोजन योग्य पद जिल्लाका कुनै पनि नगरपालिका र गाउँपालिकामा नहुँदा उनीहरु अन्योलमा परेका हुन् ।

Tuesday, August 8, 2017

उत्तरपुस्तिका च्यातिएको घटनाले जिरी प्राविधिक शिक्षालयमा झडप, २ विद्यार्थी घाइते, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रवीन्द्र गौतम । दोलखा

साउन २४, दोलखा । परिक्षकले उत्तरपुस्तिका च्यातिदिएको निहुँमा दोलखाको पूर्वी जिरी प्राविधिक शिक्षालयमा भएको झडपमा २ विद्यार्थी घाइते भएका छन् । भीड नियन्त्रण र तालाबन्दी रोक्न प्रहरीद्वारा केही सेल अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
     मंगलबार कृषि विज्ञानको डिप्लोमा तह प्रथम बर्षको परिक्षामा सहभागी भएका रामकृष्ण भण्डारीको उत्तरपुस्तिका बाह्य सुपरिवेक्षक गोविन्द गौतमले च्यातिदिए पछि उत्पन्न विवादका कारण भएको झडपमा विनोद खड्का र रोशन अधिकारी घाइते भएका हुन् । अरुसँग खोसिएको चिट मेरो कपीमा टाँस्न खोजेपछि नटाँस्न अनुरोध गर्दा बाह्य सुपरिवेक्षक गौतमले कपि खोस्ने क्रममा च्यातिएको पीडित विद्यार्थी रामकृष्ण भण्डारीले बताए । ‘परिक्षा हलमा गोविन्द सरले अश्लिल शब्द बोल्दै रामकृष्ण दाईको कपि च्यातिदिनुभयो ।’ प्रत्यक्षदर्शी विद्यार्थी प्रजिना श्रेष्ठले बताइन् ।
         मंगलबार विहान ७ बजेबाट सुरु भएको परिक्षा लगत्तै उत्तरपुस्तिका च्यातिए पछि पुन परिक्षा दिन पाउनु पर्ने विषयमा छलफल हुँदा प्राविधिक शिक्षा तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी)ले जिरी प्राविधिक शिक्षालय प्रशासनमा निवेदन दिन भनेपछि निवेदन दर्ता गराउन जाँदा प्रहरीले प्रशासनमा पस्न नदिँदा झडप भएको विद्यार्थी सुमन श्रेष्ठले जानकारी दिए ।
        झडप भए पछि शिक्षालयको विरोधमा निस्किएको करिब २ सय विद्यार्थीहरुको जुलुस फेरी शिक्षालयमा तालावन्दी गर्न जाँदा प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

Monday, August 7, 2017

जिसस दोलखाको प्रमुखमा तामाङ र पाण्डे भिड्दै

रवीन्द्र गौतम । दोलखा

साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा कुमार तामाङ (औतारी) र डबल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
       मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट तामाङ र नेकपा एमालेको तर्फबाट पाण्डेले प्रमुखमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय तहमा निर्वाचितहरुमध्येबाट उम्मेदवारी दर्ता गराउन पाइने कानुनअनुसार प्रमुखमा तामाङ र पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
      प्रमुख सहित नेपाली काँग्रेसबाट ५ जना र  उपप्रमुख सहित माओवादी केन्द्रबाट ४ जना गरी ९ जनाको उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । नेपाली काँग्रेसको तर्फबाट सदस्यमा चरित्रकृष्ण जोशी, दलित महिला सदस्यमा कमला खाती कामी, महिला सदस्यमा सर्मिला नेपाली र सन्तोषी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रबाट उपप्रमुखमा दिपेन्द्र बुढाथोकी, सदस्यमा भोजबहादुर महत र इराज घिमिरे, महिला सदस्यमा विष्णुमाया कमिनिले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
    २ नगरपालिका सहित ७ पालिकामा विजयी भएको एमाले भने एक्लै निर्वाचनमा उत्रिएको छ । निकै रस्साकस्सी विच जिल्ला समन्वय समितिको प्रमुखमा टिकट पाएका डबल पाण्डे प्रमुख र मनमाया जिरेल उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट सदस्यमा विदुर शर्मा, जितबहादुर श्रेष्ठ, मुरारिराज शिवाकोटी र महिला सदस्यमा आइति तमाङ, गिता पोखरेल, कमलकुमारी कार्की तथा दलित सदस्यमा युवराज घतानीले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

Sunday, August 6, 2017

काँग्रेसबाट जिसस दोलखाको संयोजकमा कुमार तामाङ (औतारी)लाई उम्मेदवार


रवीन्द्र गौतम । दोलखा

साउन २३, दोलखा । नेपाली काँग्रेस दोलखाले बैतेश्वर गाउँपालिका–७, नाम्दुका कुमार तामाङ (औतारी)लाई जिल्ला समन्वय समिति दोलखाको संयोजकमा पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
        जिल्ला समन्वय समिति दोलखाको संयोजक पदमा आउँदो मंगलबार हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट तामाङले उम्मेदवारी दिने काँग्रेस दोलखाले निर्णय गरेको हो । प्रजातान्त्रिक मान्यता अनुरुप निर्वाचनमा भाग लिनु काँग्रेसको सिद्धान्त भएको कारण जिससमा उम्मेदवारी दिने निर्णय गरिएको नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले बताए ।
       बाँकी पदहरुमा भने माओवादी केन्द्रसँग छलफल गरी उम्मेदवारी दिइने काँग्रेस दोलखाका सभापति खड्काले बताए । यस अघि नै नेकपा एमालेले जिल्ला संयोजक पदमा डबल पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Saturday, August 5, 2017

यस्तो छ भित्री रहस्य कालिञ्चोक चौंरी महोत्सव आयोजनाको

रवीन्द्र गौतम । दोलखा

साउन २१, दोलखा । पछिल्लो एकहप्तादेखि विवाद सुरु भएको कालिञ्चोक चौंरी महोत्सवको भित्री उद्देश्य छताछुल्ल भए पछि विभिन्न रहस्यहरु सार्वजनिक हुन थालेका छन् ।
       कालिञ्चोक गाउँपालिकाले आयोजना गर्ने भनिएको कालिञ्चोक चौंरी महोत्सव पछिल्लो समय साविकको लापिलाङ गाविस हाल कालिञ्चोक गाउँपालिका वडा नं. ६ ले आयोजना गर्ने भनिए पछि सुरु भएको विवादको रहस्यहरु सार्वजनिक हुन थालेका हुन् । कालिञ्चोक चौंरी महोत्सव जसका लागि आयोजना गरिएको उनीहरुनै आयोजकसँग रुष्ट भएर महोत्सव बहिष्कारको लिखित घोषणा समेत गरिसकेका छन् । बहिष्कार गर्ने ८ चौंरी व्यवसायीहरुले आफूसँग भएको १ सय ४० चौंरी, ६ ओटा याक, ५ ओटा जोक्पे र ५० भन्दा बढि भेडाहरुलाई महोत्सवमा सहभागी नगराउने लिखित चेतावनी दिएका छन् । ति बाहेक ३ गोठका करिब ४० ओटा मात्र चौंरीहरु महोत्सवमा सहभागी हुन सक्ने आँकलन गरिएको छ ।
      स्रोत भन्छ, ‘भूभाग विवादलाई चौंरी महोत्सवमार्फत समाधान गरी कालिञ्चोक आसपासका सम्पूर्ण प्राकृतिक र धार्मिक स्रोत तथा जमिनलाई साविकको लापिलाङ गाविसको वनाउने भित्री उद्देश्यलाई प्रमाणित गर्न गाउँपालिका प्रमुखदेखि भूमाफियासम्मको चलखेल देखिन्छ ।’
        कालिञ्चोक गाउँपालिका सम्वद्ध स्रोतकाअनुसार साविकको सुन्द्रावती, लापिलाङ र कालिञ्चोक गाविस विच रहँदै आएको भूभाग विवादलाई महोत्सवमार्फत आफ्नो पक्षमा पार्न कालिञ्चोक गाउँपालिकाका अध्यक्षको गृह वडा लापिलाङलाई आयोजक बनाउनुलाई झन रहस्यमय ठानिएको हो ।
     जिल्ला प्रशासन कार्यालय दोलखा र साविकको जिल्ला विकास समिति लगायत अन्य सरकारी कार्यालयहरुले कालिञ्चोक क्षेत्रलाई साविकको कालिञ्चोक गाविसको भूभागको रुपमा प्रमाणिकरण गर्दै आईरहेकोमा महोत्सवको आयोजना पछि सो क्षेत्र लापिलाङ गाविसको बनाउन नैतिक दवावको लागि आयोजक नै परिवर्तन समेत गरिएको छ । स्रोतका अनुसार, कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको र वडा नं. ६ मा एमालेका उम्मेदवार विजयी भएको कारण आयोजक नै परिर्वतन गरिएको हो ।