Friday, September 27, 2019

प्रदेश गएका कार्यालय जिल्लामै रहनुपर्छ– प्रचण्ड



रवीन्द्र गौतम । जिरी

असोज १०, जिरी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संघियताको भावनाअनुसार जिल्लामा चाहिने कार्यालय जिल्लामै रहेर काम गर्नु पर्ने बताएका छन् ।
नेकपा अध्यक्ष दाहालले संघियता पछि जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधा समेत प्रदेशमा पुगेकोले जनताले दुःख पाएको गुनासो सुनिन थालेको उल्लेख गर्दै जिल्ला तहमा भएका हरेक कार्यालयहरु ढिला चाँडो जिल्लामा नै राखिने बताएका हुन् ।
शुक्रबार पूर्वी दोलखाको जिरी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन, जिरी एफएमको दोस्रो बार्षिक साधारणसभा तथा प्रथम सगरमाथा आरोहि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सालिक अनावरण कार्यक्रमलाई सम्वोदन गर्दै नेकपा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
तेस्रोपटक जिरी आएका अध्यक्ष दाहालले जनतालाई सहज ढङ्गले सेवा सुविधा दिनको लागि हरेक काम स्थानीय तहबाटै हुनु पर्नेमा झन जिल्लामा भएका कार्यालयहरु समेत प्रदेशमा जानेकुरा स्वीकार्य नहुने समेत जनाएका छन् । 
अध्यक्ष दाहालले स्थानीय तहहरु भौतिक रुपमा सम्पन्न हँुदै गएको उल्लेख गर्दै अब जनतालाई सेवा दिने कुरामा पनि स्थानीय तह सक्रिय हुनुपर्ने सुझाव दिए । उनले १० बर्षे जनयुद्ध पछि खुला राजनीतिमा आउना साथ घुम्न र प्राकृतिक सुन्दरताको अवलोकन गर्न जिरी आएको स्मरण गर्दै जिरीको विकास र समृद्धिको लागि आफूले पार्टी र सरकार दुबैको तर्फबाट समेत सहयोगको पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रम जिरी नगरपालिकाका मेयर टंक जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

रोकिराखेको ट्रक अचानक गुडेर दुर्घटना हुँदा चालकको मृत्यु


रवीन्द्र गौतम । दोलखा

असोज १०, चरिकोट । सदरमुकाम चरिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा५ख ८८५८ नं को ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक विजय तामाङको मृत्यु भएको हो ।
    शुक्रबार दिउँसो करिब २ बजे चरिकोटस्थित च्छोरोल्पा अस्पताल अगाडि अक्सिजन ग्यासको सिलिन्डर लोड गर्ने क्रममा अचानक ट्रक गुड्दा भएको दुर्घटनामा सोही ट्रकका चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
    च्छोरोल्पा अस्पतालको सिलिन्डर लोड गर्दै गर्दा ट्रक अचानक गुडे पछि ट्रक रोक्ने क्रममा चेपिएर भीमेश्वर नगरपालिका–९, लाकुरीडाँडा, झिँगानेका ३५ बर्षिय चालक विजय लामाको मृत्यु भएको दोलखा प्रहरीका प्रवक्ता रेशम बोहराले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए ।
    ट्रक दुर्घटनामा चालकको मृत्यु भए पनि ठुलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो ट्रक गुडेको बायाँपटि थुप्रै किराना पसल तथा मानिसहरुको भीडभाड भए पनि सो ट्रक दायाँपटिको भित्तामा ठोकिएर रोकिएको थियो ।

Wednesday, September 25, 2019

गौरीशंकर संरक्षण क्षेत्रमा खटिए ४० लामाहरु


प्रकृति संरक्षणका लागि गौरीशंकर संरक्षण क्षेत्रमा खटिन सहभागी भएका लामाहरु ।
रवीन्द्र गौतम । दोलखा

असोज ८, दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यक्षेत्र भित्रको वन तथा वन्यजन्तु संरक्षणको लागि बौद्धमार्गी लामाहरु परिचालित भएका छन् ।
    राष्ट्रिय संरक्षण दिवसको अवसरमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले मंगलबार एक कार्यक्रमको आयोजना गरी संरक्षण क्षेत्र भित्रका वन तथा वन्यजन्तुहरुको संरक्षणको लागि ४० जना बौद्धमार्गी लामाहरु परिचालन गरेको हो । उत्तरी दोलखाको विगू गाउँपालिका–४, सिंगटीमा विशेष कार्यक्रमको आयोजना गरी संरक्षण क्षेत्र भित्रका ३२ ओटा गुम्बाहरुको ४० जना बौद्धमार्गी लामाहरुलाई स्वयँसेवकको रुपमा परिचालन गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।
    बुद्ध धर्मको सिद्धान्त नै अहिँसा भएकोले वन्यजन्तु संरक्षणको क्षेत्रमा बौद्धमार्गीहरुको महत्वपूर्ण भूमिका रहने भएकोले उनीहरुलाई परिचालन गरिएको आयोजना प्रमुख शाहले बताए । दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी ३ जिल्लामा फैलिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका उच्च भुभागहरुमा बौद्धमार्गी लामाहरुको सघन बसोवास भएकोले वन तथा वन्यजन्तुको संरक्षणमा उनीहरुको ठूलो भूमिका रहँदै आएकोमा यो अभियानले थप बल पुग्ने संरक्षण क्षेत्रको विश्वास रहेको छ ।
    बौद्धमार्गीहरु अहिंसावादी हुने भएकोले वन तथा वन्यजन्तुको संरक्षण गर्न सहज हुने भएकोले आफूहरु संरक्षण अभियानमा सहभागी भएको रोल्वालिङ साङ्गा छोलिङ्ग गुम्बाका प्रमुख ङावाङ तेन्जिङ लामाले बताए । हामीले जानी नजानी गर्दै आएको कामलाई संरक्षण क्षेत्रले संस्थागत गरी उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रको प्रकृति संरक्षणका लागि काम गर्ने अवसर पाएकोमा प्रमुख लामाले खुशी व्यक्त गरे ।
    संरक्षण कार्यको लागि खटिएका लामाहरुले गुम्बा आसपास तथा आन्तरिक र वाह्य पर्यटकहरुलाई संरक्षणको महत्व, आवश्यकता र अवसरहरुको बारेमा जानकारी गराउने योजना छ । संरक्षण क्षेत्रमा रुखहरुको फँडानी कम गर्नको लागि १०८ ओटा जीआई पाइपमा स्थायी रुपमा लुङ्खदर टाँग्ने कार्य समेत गरिएको प्रमुख लामाले बताए ।