Thursday, April 27, 2017

राप्रपा दोलखाले घोषणा गर्यो पहिलो महिला प्रमुख

रवीन्द्र गौतम । दोलखा

बैशाख १४, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले स्थानीय तहको निर्वाचनमा जिल्लामा नै पहिलोपटक महिलालाई प्रमुखमा उम्मेदवार छनौट गरेको छ ।
   
          आशन्न स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले विहिबार सदरमुकाम चरिकोटमा चुनावी सभाको आयोजना गरी भीमेश्वर नगरपालिका वडा नं. ४ निवासी देवकी बुढाथोकीलाई भीमेश्वर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको हो । २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा प्रमुखको उम्मेदवार बन्ने बुढाथोकी नै पहिलो महिला हुन् । राप्रपा दोलखाले उपमेयरमा भने प्रवक्ता राजनबहादुर शिवाकोटीलाई उभ्याएको छ ।
           राप्रपा दोलखाले भीमेश्वर नगरपालिका वडा नं. १ देखि ९ सम्मको वडाध्यक्षहरुमा क्रमश वडा नं. १ मा कुमार कार्की, वडा नं. २ विरशंकर शाही, वडा नं. ३ मा ज्ञानु गौतम, वडा नं. ४ मा विष्णु श्रेष्ठ, वडा नं. ५ मा जंगबहादुर बस्नेत, वडा नं. ६ मा दिपेन्द्र कार्की, वडा नं. ७ मा पूर्णबहादुर खड्का, वडा नं. ८ मा पदमबहादुर तामाङ र वडा नं. ९ मा धावादोर्जे लामालाई उम्मेदवार घोषणा गरेको हो ।
       दोलखाका नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले विहिबारसम्म घोषणा गरेका उम्मेदवारहरुमध्ये कुनै पनि महिलालाई प्रमुखको रुपमा खडा गरेको छैन । ३ ठूला दलले सबै नगरपालिका र गाउँपालिकामा महिलालाई उपप्रमुखमै सीमित राखेको छ ।

Monday, April 24, 2017

माथिल्लो तामाकोशी आयोजनाको मोडेल बारे विदेशीले थेसिस गर्दै

रवीन्द्र गौतम । दोलखा

बैशाख १२, दोलखा । स्थानीयलाई सेयर लगानीको सुनिश्चित गरि नेपालमा नै पहिलोपटक नयाँ मोडेलबाट निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बारे केही विदेशीले थेसिस गर्ने भएका छन् ।
    जलविद्युत्को राजधानीको रुपमा परिचित दोलखा जिल्लाको उत्तरी लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मोडेल बारे एक विदेशी स्नातकोत्तर विद्यार्थीले थेसिस लेख्ने भएकी हुन् । बेल्जियमकी नागरिक ईन्भायरोमेन्ट ज्योग्राफीकी विद्यार्थी मारियन भान बोइकलले नेदरल्याण्डस्थित भान आम्र्सटरडम विश्वविद्यालयमार्फत आफ्नो स्नातकोत्तरको थेसिसमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विभिन्न पक्ष समेट्ने भएकी हुन् ।
    आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न लागेको शेयर, विकास निर्माणका कार्य, आयोजना निर्माणको मोडेल, राज्यको लगानी, सामाजिक विकासले पुर्याएको योगदान बारे विद्यार्थी बोइकलले माथिल्लो तामाकोशी आयोजनामा अनुसन्धान गर्ने बताएकी छन् । ‘म अपर तामाकोशीले स्थानीयलाई दिन लागेको शेयर, आयोजनाको लािग जुटाइएको लगानीको मोडेल, प्रभावित क्षेत्रमा आर्थिक–सामाजिक विकासमा गरेको कामको बारेमा अनुसन्धान गरी मोडेलको प्रभावकारिता मा थेसिस लेख्छु ।’ उनले आयोजनाबाट अतिप्रभावित साविकको लामाबगर, गौरीशंकर, ओराङ, बुलुङ र लादुकका नागरिकहरुसँग कुरा गर्ने जनाएकी छन् ।
    तामाकोशी आयोजनामा लगानी र शेयरको मोडालिटी तथा यसले स्थानीय र राष्ट्रियस्तर तथा अन्य आयोजना सुरु गर्न खेलेको असल भूमिका बारे अनुसन्धान गर्न ठूलो मात्रामा विदेशी विद्यार्थीहरु तथा अनुसन्धानकर्ताहरु आउन थालेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । हामीले गरेको पृथक ढंगको काम बारे विश्वले जान्न खोजिरहेको उनको भनाई छ ।
    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बारेमा अध्ययन अनुसन्धान गर्न विदेशीहरु समेत आउँदा दोलखाको पर्यटन ब्यावसायको समेत प्रवद्र्धन हुने जिल्लाका पर्यटन तथा होटल ब्यावसायीहरु बताउँछन् । २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन लक्ष्य लिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्म ८८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

Sunday, April 16, 2017

दोलखामा वैधानिक चुनावी खर्च करिब रु. २५ करोड

२ नगर, ७ गाउँपालिका जिल्ला समन्वय समिति गरी ३ सय ९७ जना निर्वाचित हुने 

रवीन्द्र गौतम । दोलखा

बैशाख ४, दोलखा । करिब २० बर्ष पछि आगामी बैशाख ३१ मा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुबाट दोलखामा बैधानिक रुपमा करिब रु. २५ करोड चुनावी खर्च हुने देखिएको छ ।
    दोलखा जिल्लामा नयाँ स्थानीय संरचनाअनुसारको २ नगरपालिका र ७ गाउँपालिका स्तरिय निर्वाचनको उम्मेदवारहरुले निर्वाचन ऐनको विभिन्न दफाले निर्दिष्ट गरेको आचारसंहिताअनुसार बैधानिक रुपमा करिब रु. २५ करोड चुनावी खर्च हुने देखिएको हो । दोलखा जिल्लामा मुख्य प्रतिष्पर्धा हुने नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत केही साना दलले दिने उम्मेदवारहरुबाट हुने बैधानिक प्रावधानअनुसार सो रकम खर्च हुने देखिएको हो ।
           निर्वाचन आयोगले जारी गरेको निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम निर्वाचन खर्चको हदअनुसार मतदाता नामावली खरिद, सवारी साधन–घोडा, सवारी इन्धन–दाना, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी–कार्यकर्ता परिचालन, अन्य प्रचार–प्रसार छापा एवम् विद्युतीय माध्यम, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध गरी १० शीर्षकमा खर्च गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले तोकेको चुनावी खर्चको अधिकतम हदअनुसार कुनै एक दलले ३ सय ९७ जना उम्मेदवार दिँदा सो दलको बैधानिक चुनावी खर्च रु. ६ करोड ८२ लाख ५० हजार हुन जाने देखिएको छ ।
          निर्वाचन आयोगले जारी गरेको निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम निर्वाचन खर्चको हदअनुसारको व्यवस्थाले यस्तो तथ्याङ्क देखाएको हो । नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुसार बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन २०७४ ले दोलखा जिल्लाबाट कम्तिमा ३ सय ९७ जनालाई निर्वाचित गर्ने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । स्थानीय तहको संरचना अनुसार २ नगरपालिकाको प्रमुख–उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु तथा ७ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यहरुले १ लाख ५० हजारदेखि ४ लाख ५० हजारमा नबढाई चुनाव प्रचारप्रसारमा खर्च गर्न पाउने व्यवस्थाअनुसार सो रकम खर्च गर्न बैधानिकता प्राप्त गरेको छ ।
         दोलखा जिल्लामा भीमेश्वर र जिरी गरी २ नगरपालिकाबाट प्रमुख र उप्रमुख गरी ४ तथा ७ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १४, वडाध्यक्ष र अन्य सदस्य गरी ३ सय ७० तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख २ र अन्य सदस्यहरु ७ गरी ३ सय ९७ जना निर्वाचित हुनेछन् ।

Thursday, April 13, 2017

दोलखामा रातो मच्छिन्द्रनाथको रथ जात्रा शुरु

रवीन्द्र गौतम । दोलखा

बैशाख १, दोलखा । ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ । मंगलबार दूधमा नुहाएर पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुधबार रथारोहण गरिए पछि विहिबारबाट रथ जात्रा शुरु गरिएको हो ।
              एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, १ गते नक्छेदेखि कोर्छेसम्म, २ गते कोर्छेदेखि टसिचासम्म, ३ गते टसिचादेखि माथिल्लो स्वयम्भुस्थान, ४ गते माथिल्लो स्वयम्भुस्थानदेखि दुंगलसम्म, ५ गते दुंगलदेखि पिंगलसम्म र अन्तिम ६ गते पिंगलदेखि डोकुलढुङ्गा टोलसम्म पु¥याएर समापन गरिने परम्परा रहेको छ ।
              प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पु¥याईने प्रचलन रहेको छ । मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको छ ।
मच्छिन्द्रनाथको रथ तान्ने जात्रा मनाउँदा रोगव्याधि नलाग्ने, सुख्खा याममा पानी पर्ने आदि जनविश्वास रहँदै आएको छ । धार्मिक आस्थाको कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु ब्रत समेत बस्ने गर्छन । स्थानीय पर्शुराम जोशी रथ तान्ने बेला पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन् ।
             मल्ल राजा जय वासुदेवले कहिले देखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यतिबेलाभन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ ।
           मल्लकालिन राजा जय वासुदेवले साविकको लापिलाङ गाविसस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठिको समेत व्यवस्था गरी उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, २ पाथी तेल, २ पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था गरेकोमा थामीहरुले ती सामानहरु दिन छोडेका थिए ।