रवीन्द्र गौतम । दोलखा
बैशाख १४, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले स्थानीय तहको निर्वाचनमा जिल्लामा नै पहिलोपटक महिलालाई प्रमुखमा उम्मेदवार छनौट गरेको छ ।
आशन्न स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले विहिबार सदरमुकाम चरिकोटमा चुनावी सभाको आयोजना गरी भीमेश्वर नगरपालिका वडा नं. ४ निवासी देवकी बुढाथोकीलाई भीमेश्वर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको हो । २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा प्रमुखको उम्मेदवार बन्ने बुढाथोकी नै पहिलो महिला हुन् । राप्रपा दोलखाले उपमेयरमा भने प्रवक्ता राजनबहादुर शिवाकोटीलाई उभ्याएको छ ।
राप्रपा दोलखाले भीमेश्वर नगरपालिका वडा नं. १ देखि ९ सम्मको वडाध्यक्षहरुमा क्रमश वडा नं. १ मा कुमार कार्की, वडा नं. २ विरशंकर शाही, वडा नं. ३ मा ज्ञानु गौतम, वडा नं. ४ मा विष्णु श्रेष्ठ, वडा नं. ५ मा जंगबहादुर बस्नेत, वडा नं. ६ मा दिपेन्द्र कार्की, वडा नं. ७ मा पूर्णबहादुर खड्का, वडा नं. ८ मा पदमबहादुर तामाङ र वडा नं. ९ मा धावादोर्जे लामालाई उम्मेदवार घोषणा गरेको हो ।
दोलखाका नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले विहिबारसम्म घोषणा गरेका उम्मेदवारहरुमध्ये कुनै पनि महिलालाई प्रमुखको रुपमा खडा गरेको छैन । ३ ठूला दलले सबै नगरपालिका र गाउँपालिकामा महिलालाई उपप्रमुखमै सीमित राखेको छ ।



