Sunday, July 10, 2016

दोलखामा नक्कली सुन देखाई १५ लाख ठगी गर्ने पक्राउ

रवीन्द्र गौतम । दोलखा

असार २६, दोलखा । नक्कली एक किलो सुन देखाई रु. १५ लाख ठगी गर्नेलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।
२ महिना अघि एक किलो नक्कली सुन देखाई रु. १५ लाख ठगी
गर्ने सिन्धुपाल्चोक जिल्लाका ४ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रविसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप ४ देखि ५ जना फरार रहेका छन् ।
२०७३ बैशाख २१ गते भीमेश्वर नगरपालिका–७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका–१, बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी  नक्कली सुन दिई रु. १५ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले जानकार दिए । प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
        प्रहरीका अनुसार पक्राउ परेकाहरु संगठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई संगठित ठगीको महलअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।