रवीन्द्र गौतम । दोलखा
असार २२, दोलखा । बेलैमा बर्षा लागेदेखि पछिल्लो डेढ महिना दोलखाका भुकम्पपीडितहरु जुकादेखि पहिरोसम्मको त्रासमा रात गुजार्न बाध्य भएका छन् ।
उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने भुकम्पपीडितसम्म यो समस्याबाट डेढ महिनादेखि त्रसित बनेका हुन । कति भुकम्पपीडितको भान्सामै जुकाले डसेर
रगताम्य बनाउँछ भने कतै पहिरोले उठिसक्नु न बसिसक्नु भएको जिल्लाका विभिन्न क्षेत्रका पीडितहरुको गुनासो छ ।
टहरामा बास परेका दोलखाको उच्च भुभागमा बसोबास गर्ने ३७ गाविसका करिब ५० हजार जनसंख्या जुकादेखि जंगली जनावरसम्मको जोखिममा छन् भने तल्लो क्षेत्रमा बसोबार गर्ने करिब ७० हजार पीडितहरु पहिरोको उच्च जोखिममा त्राससहित बाँचिरहेका छन् ।
अस्थायी आवासमा बसोबास गर्नु पर्ने बाध्यताले बर्षाको पानी निन्द्रा नपर्ने, पानी चुहिएर विछ्यौना भिज्ने, भान्सामै श्याल पस्ने, बालबालिकाहरु ठूलो पानी परेको बेला चिच्याउनेसम्मको समस्या दोलखाका भुकम्पपीडितहरुले झेल्दै आइरहेको पाइएको छ । गत २०७२ बैशाख १२, १३ र २९ गतेको विनासकारी भुकम्पका गएको डेढ वर्ष वितिसक्दा समेत पीडितहरुको जीवनमा त्रास उस्ताको उस्तै पाइएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आवास अनुदान लाभग्राहीको सूचीमा जिल्लाका करिब ३५ हजार पीडितहरुको नाम छुटाए पछि विभिन्न १० गाविसमा सम्झौता समेत रोकिएको प्राधिकरणले जनाएको छ । कतिपय गाविसमा लाभग्राहीको सूचीमा रहेकाहरुलाई समेत सबैको नाम समावेश नहुञ्जेल सम्झौता गर्न नदिनेसम्मको चेतावनी प्राप्त भएको गाविस सचिवहरुको गुनासो छ ।
