Friday, July 1, 2016

सदरमुकाम चरिकोट अब ४ ओटा सीसी क्यामेराको निगरानीमा

  • सदरमुकाम चरिकोटमा ४ ओटा ।
  • पश्चिम नाका खरिढुङ्गामा २ ओटा ।
  • दक्षिण नाका किर्नेटारमा एकओटा ।

रवीन्द्र गौतम । दोलखा

असार १७, दोलखा । दोलखाको सदरमुकाम एवम् नेपालकै महत्वपूर्ण पर्यटकीय नगरी चरिकोटलाई अब सीसी क्यामेरा समेतले निगरानी गर्न थालेको छ ।
       सदरमुकाम चरिकोटमा भीडभाड
बढेसँगै सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षा व्यवस्था मजवुत बनाउन सीसी क्यामेराबाट समेत निगरानीको व्यवस्था मिलाएको हो । सदरमुकाम चरिकोटको सातदोबाटो क्षेत्रलाई क्लोज सर्किट २ र ओभरल २ गरी ४ ओटा सीसी क्यामेराले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए । सदरमुकाम चरिकोट बुधबारदेखि सीसी क्यामेराको निगरानीमा रहेको छ भने दोलखाबाट बाहिरिने प्रमुख नाका लाकुरीडाँडाको खरिढुङ्गामा २ ओटा र शहरे गाविसको किर्नेटारमा १ ओटा क्यामेराले निगरानी बढाएको प्रहरी निरीक्षक सुनुवारले जनाएका छन् ।
        जिल्लास्थित विभिन्न सरकारी एवम् अन्य निकायको सहयोगमा सीसी क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । शहरेको किर्नेटारमा विगत ४ महिनादेखि, लाकुरीडाँडाको खरिढुङ्गामा एकहप्तादेखि र चरिकोटमा असार १५ गतेबाट सीसी क्यामेराले निगरानी गरिरहेको प्रहरीले जनाएको छ ।
         राजधानी लगायत विभिन्न स्थानमा अपराधिक क्रियाकलापमा संलग्नहरु लुक्नको लागि दोलखाको विभिन्न क्षेत्रलाई प्रयोग गर्ने गरेको सूचना आउने गरेकोले पनि सीसी क्यामेरा जडान गर्नु परेको प्रहरीको दावी छ । भीडभाड हुने स्थान तथा सुरक्षाको दृष्टिले अतिसंवेदनशिल मानिएको स्थानहरुमा सीसी क्यामेरा जडान गरिएको छ । सीसी क्यामेरा जडान गरिएसँगै विभिन्न आपराधिक गतिविधिहरु सीसी क्यामेरामा कैद हुने र न्याय प्रणालीमा समेत सहयोग हुने प्रहरीको अपेक्षा रहेको छ ।