Wednesday, July 6, 2016

डिस्चार्ज गरेको १० मिनेटमा विरामीको मृत्यु, चरिकोट अस्पताल तनावग्रस्त

(फोटो फिचर सहित...)

रवीन्द्र गौतम । दोलखा

असार २२, दोलखा । न्याय हेल्थ नेपाल नामक एनजिओद्वारा व्यवस्थापन गरिएको प्रस्तावित चरिकोट अस्पतालबाट डिस्चार्ज भएको १० मिनेटमा विरामीको मृत्यु भए पछि, अस्पताल तनावग्रस्त भएको छ ।
          भीमेश्वर नगरपालिका–१०, चोथाङकी ४९ बर्षिय धनलक्ष्मी तमाङको डिस्चार्ज भएको १० मिनेट पछि आज बुधबार मृत्यु भएको
उनको श्रीमान् पाल्साङ तमाङले जनाएका छन् । गत २० गते विहान आकस्मिक सेवामा भर्ना भएकी तमाङको आज बुधबार अस्पतालले डिस्चार्ज गरेको थियो ।

          निको नभएको विरामीलाई डिस्चार्ज गरेर उपचारमा लापरवाही गरेको भन्दै आफन्तले न्याय हेल्थका सञ्चालकसँग जवाफ मागेपछि अस्पतालमा तनावको सिर्जना भएको हो । अस्पतालले ठिक भयो भनि डिस्चार्ज गरेको १० देखि १५ मिनेटमा नै मृत्यु भएको उनका आफन्त नबिन लामाले जानकारी दिए । लामाले डाक्टरका लापरबाहीका कारण आफ्नो आफन्तको मृत्यु भएको भन्दै दोषीउपर कारबाहीको माग गरेका छन् ।
           अस्पतालका डाक्टर बिनोद दंगालले भने, मृतक बिरामीलाई निमोनिया, दम र श्वासप्रश्वासमा समस्या रहेकाले जति सुकै बेला समस्या हुन सक्ने भएकोले मृत्यु भएको प्रतिक्रिया दिए । यता मृतकका आफन्तले भने मधुमेहको विरामी भए पनि दमको रोग नलागेको जनाएका छन् । मृतकका आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । आफन्तले लापरवाही गर्ने स्वास्थ्यकर्मीहरुलाई कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बताएका छन् ।
           न्याय हेल्थ नामक एनजिओले यस अघि पनि एक विरामीको उपचारमा लापरवाही गरेकोमा हेलिकप्टर खर्च बापत विरामीका आफन्तलाई एक लाख क्षतिपूर्ती समेत तिरी सकेको छ । स्थापनाकालदेखि कर्मचारी भर्ना, अस्पताल व्यवस्थापन र सरकारी लेटरप्याडको दुरुपयोग काण्डसम्म विवादै विवादमा फस्दै आएको थियो ।