रवीन्द्र गौतम । दोलखा
असोज २९, चरिकोट । दोलखा जिल्लाबाट संघीय सांसदमा निर्वाचित पार्वत गुरुङलाई काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
ठेगाना नखुलेका वीरध्वज खड्काको जाहेरीको आधारमा काठमाण्डौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग गरेको अभियोगमा सांसद गुरुङलाई पक्राउ पुर्जी जारी गरेको हो । वीरध्वज खड्काले २०७६ बैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग गरेको मुद्दा दर्ता गराएका थिए । २०७६ भदौ १२ गते काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । सांसद गुरुङ सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका छन् ।
सांसद गुरुङ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ०७५–सी१–२००८ नम्बरमा मुद्दा दर्ता भई चालु अवस्थामा रहेको छ । सांसद गुरुङसहित ७ जनालाई ज्यान मार्ने उद्योगको दफा १८३ बमोजिमको मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।
सांसद गुरुङले घुमाउरो भाषमा आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकारे । सांसद गुरुङले स्थानीय तहको निर्वाचनको क्रममा गौरीशंकर गाउँपालिका–२, जुँगूका कूलबहादुर तामाङको हत्याको केससँग सम्वन्धित घटना भएको बताए । उनले भने, ‘त्यो घटनालाई लिएर हालिएको मुद्दा रहेको बुझेको छु ।’ सांसद गुरुङ भन्छन्, ‘अहिले मैले त्यसलाई सहज रूपमै लिएको छु ।’ २०७४ बैशाख २६ गते राती तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्याकर्ता विच झडप हुँदा ३३ बर्षिय तामाङको मृत्यु भएको घटना अहिले बल्झिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सांसद गुरुङलाई पक्राउ पूर्जी जारी तथा म्याद तामेली सम्वन्धमा केही जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मानबहादुर राईले पनि सांसद गुरुङलाई पक्राउ पूर्जी जारी भएको बारे आफूलाई केही थाहा नभएको बताए । मातहतका कार्यालयहरुसँग बुझ्दा समेत त्यस्तो केही नपाईएको डीएसपी राईले जानकारी दिए । सांसद गुरुङको स्थायी वतन रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले पटकपटक बुझ्न खोज्दा उनको मोबाइल उठेन ।
सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीलाई समेत पक्राउ पूर्जी जारी भएको छ । त्यसैगरी सोही ज्यान मार्ने उद्योगमा गौरीशंकर गाउँपालिका–१ का मिनबहादुर तामाङ, कर्ण तामाङ, सविन तामाङ, सागर तामाङ र गौरीशंकर गाउँपालिका–२ का जीवन तामाङलाई समेत पक्राउ पूर्जी जारी भएको छ । गुरुङ २०७४ मंसिरमा दोलखाबाट संघीय सांसद्मा निर्वाचित भएका थिए ।
