रवीन्द्र गौतम । दोलखा
कात्तिक ४, चरिकोट । स्थापनाकालदेखिनै अति विवादमा रहेको उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाको कार्यालय डकैती गरी रातारात सारिएको छ ।
आइतबार राती साढे २ बजे करिब ५० जनाको समूह गाउँपालिकाको कार्यालय पुगेका वडाध्यक्ष सहितको समूहले कार्यालय सञ्चालनको लागि न्युनतम आवश्यक पर्ने सामग्रीहरु डकैती गरी रातारात कार्यालय सारिएको हो । रड, लौरी, खुकुरी, बञ्चरो सहित आएका समूहले एउटा बोलेरो र २ ओटा ट्रकमा सामग्री लगेको कालिञ्चोक गाउँपालिका–८, सुनखानीका प्रत्यक्षदर्शी मानकाजी भुजेलले जानकारी दिए । वडाध्यक्षसहितको टोलीले मोबाइल खोसेर करिब २ घण्टा आफूलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी भुजेलले जानकारी दिए ।
कार्यालयको २ ओटा मूलढोका बाहेक ६ ओटा ढोकामा लगाईएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैती शैलीमा राती कार्यालय सारिएको पाइएको छ । वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहित ११ जनाको हस्ताक्षरित विज्ञप्ती टाँस गरी गाउँपालिकाको सामान वडा नं. ५ लापिलाङको वडा कार्यालय नजिक पुष्कर खड्काको घरमा सारिएको पाईएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
कार्यालयको विभिन्न शाखाको ढोका फोडेर चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले जानकारी दिए । उनले भने, ‘हाम्रो नेम प्लेट समेत चोरिएको छ ।’
गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले प्रदेश कार्यालय र पार्टीले केन्द्र विवाद समाधान गर्ने जनाउँदै आएकोमा अभद्र, अराजक र डकैत शैलीमा गरिएको क्रियाकलाप क्षम्य अपराध नभएको जनाइन् । गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँपालिकाका केन्द्र लापिलाङमा हुने गरी यस अघिनै गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसारनै लापिलाङका स्थानीयले सर–सामान र कागजात लगेको हुन सक्ने बताए । गाउँपालिकाको कार्यालय लापिलाङमा नै सञ्चालन हुने भएकोले थप कुरा गर्ने भए सञ्चारकर्मीहरुलाई उतै आउन अध्यक्ष थामीले निम्ता समेत गरे ।