रवीन्द्र गौतम । जिरी
कात्तिक १, जिरी । स्वीटजरल्याण्डको ज्युरिच शहरसँग तुलना गरिएको दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि ३ दिने जिरी स्ट्रिट फुड फेस्टिबल सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फुड फेष्टिबलको उद्घाटन गरेका थिए । पर्यटन मन्त्री भट्टराईले बाह्यभन्दा पनि आन्तरिक पर्यटक लक्षित गरी कार्यहरु सञ्चालन गर्न सके जिरीमा पर्यटकहरुको दुख नहुने बताए ।
विदेशीभन्दा नेपाली पर्यटकहरुको खर्च गर्ने क्षमतामा बृद्धि हँुदै गएको तथ्याङ्क जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘आन्तरिक पर्यटकहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरे ।
युवा सञ्जाल जिरीको आयोजनामा आज शुक्रबारदेखि ३ दिने स्ट्रिट फुड फेस्टिवल २०१९ को सुरु भएकोे युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।
२० ओटा स्टलमा जिरेल, शेर्पा, तामाङ, नेवार, सुनुवार आदि जातिसँग सम्बन्धित शिल्मा, रिल्दुक, ढिँडो, ट्राउट माछाका परिकारहरु लगायत जिरीका अन्य मौलिक खानाका परिकारहरुका साथै जिरीमा उत्पादन हुने चिज, छुर्पी, चिया, किवी तथा किवीबाट बनेको वाइन, आलुको रोटी लगायतका खाद्य बस्तुहरु उपलब्ध गराईएका अध्यक्ष खड्काले जनाए ।
फेस्टिवलमा जिरेल शेर्पा, सुनुवार लगायतका विभिन्न जाति जनजातिहरुका मौलिक झाँकि प्रदर्शन गरिएको थियो । छिमेकी रामेछाप, दोलखा सहितबाट शुक्रबारमात्र करिब ३ हजार आन्तरिक पर्यटकहरुले फेस्टिवलको अवलोकन गरेको आयोजकले जनाएको छ ।
फेस्टिवल अवधिभर हरेक दिन कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम छ । फेस्टिवलमा रोटेपिङ, मिनी रेल, भलिबल, नृत्य प्रतियोगिताहरुको आयोजना गरिएको छ ।
