Thursday, October 31, 2019

कालिञ्चोकको विशेष गाउँसभा कात्तिक २१ गते सुनखानीमा, कडा सुरक्षा व्यवस्था मिलाइने


रवीन्द्र गौतम । दोलखा

कात्तिक १४, चरिकोट । सरकारी कागजात चोरीको घटनाको १२ दिनपछि कालिञ्चोक गाउँपालिकाले कात्तिक २१ गते बिहिबार बिशेष गाउँसभाको घोषणा गरेको छ ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीद्वारा हस्ताक्षरित २०७६ कात्तिक १४ गते ५१५ नम्बरमार्फत गाउँकार्यपालिका सदस्यहरुलाई चलानी गरिएको पत्रमा ४ बुँदे छलफलका विषय तोकी बिशेष गाउँसभाको घोषणा गरिएको हो । कात्तिक २१ गते सुनखानीमा विहान १० बजे बिशेष गाउँसभाको लागि गाउँकार्यपालिका सदस्यहरुलाई पत्राचार गरिएको हो । गाउँसभामा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरेर कडा सुरक्षा व्यवस्था मिलाउन प्रहरी परिचालन गरिने स्रोतले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नं. ७, ८ र ९ भीमेश्वर नगरपालिकामा जान सहमति दिने, हालको कार्यालय बन्देथलीबाट सञ्चालन गर्ने, ३ वडा भीमेश्वर नगरपालिकामा गाभिए पछिको अवस्थामा स्थायी केन्द्र बाँकी वडाको पाएक स्थान र वार्डको पुन संरचना गर्ने र अर्को निर्वाचन अगाडीसम्मको लागि कार्यालय लापिलाङको बन्देथलीबाट सञ्चालन गर्ने विषयमा विशेष गाउँसभामा छलफल गरि निर्णय गर्ने जनाइएको छ ।
यसअघि कात्तिक ३ गते दायर गरेको गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा एकहप्तासम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता गरेर आवश्यक कारवाही गर्न कालिञ्चोक गाउँपालिका–७ र ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा स्थानीयहरुसहित शनिबार जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको डेलिगेसनले १६ गतेसम्म अल्टिमेटम समेत दिएका थिए ।
‘सरकारी कागजात चोरी हुँदा समेत दोलखा प्रहरी कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडा नं. ८ का वडाध्यक्ष नन्दराज शिवाकोटीले प्रश्न गरेका थिए । डीएसपी मानबहादुर राईले गम्भिर र जटिल समस्या भएकोले सरकारी वकिलसँग सल्लाह गरेर मुद्दा दर्ता गर्ने बताए । 
आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।

Tuesday, October 29, 2019

बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु, ५ घाइते


रवीन्द्र गौतम । दोलखा

कात्तिक १३, चरिकोट । तिहार मनाएर फर्किने क्रममा बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु भएको छ ।
 बुधबार बिहान भीमेश्वर नगरपालिका–२, सोकलाखेलापमा बा१४च ७६७ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका–२, का भोजबहादुर ओलीकी ९ बर्षिय छोरी रोशनी ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
        विहान करिब ८ बजे बोलेरो दुर्घटना भई गम्भिर घाइते भएकी ओलीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा गर्दै साढे ९ बजे मृत्यु भएको दोलखा प्रहरीको सूचना अधिकारी सई यज्ञनन्द साहले जानकारी दिए ।
 कच्ची भित्री सडकबाट करिब २५ फिट तल खसी दुर्घटना भएको बोलेरोमा सवार ९ मध्ये चालकसहित ५ जना गम्भिर घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
        उपचार भईरहेकोमा चालक भीमेश्वर नगरपालिका–२ का २५ बर्षिय मनु तामाङ, ३५ बर्षिय भोजबहादुर ओली, उनकी श्रीमती ३० बर्षिय दुर्गा ओली, उनका ५ बर्षिय छोरा रोहन ओली र भीमेश्वर नगरपालिका–२, तिखाताल बस्ने ३७ बर्षिय रञ्जनी तामाङ रहेको सूचना अधिकारी सई साहले जानकारी दिए ।

Saturday, October 26, 2019

प्रहरीले दर्ता गरेन कालिञ्चोक गाउँपालिका चोरी मुद्दा, १६ गतेसम्म अल्टिमेटम


रवीन्द्र गौतम । दोलखा

कात्तिक ९, चरिकोट । कालिञ्चोक गाउँपालिका चोरी मुद्दा दायर गरेको एकहप्तासम्म दोलखा प्रहरीले मुद्दा दर्ता नगरेपछि जनप्रतिनिधिसहित स्थानीयहरुको डेलिगेसनले १६ गतेसम्मलाई लिखित अल्टिमेटम दिएका छन् ।
कालिञ्चोक गाउँपालिका–७ र ८ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा स्थानीयहरुसहित शनिबार जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको डेलिगेसनले १६ गतेसम्म अल्टिमेटम दिएका छन् । कात्तिक ३ गते दायर गरेको गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा एकहप्तासम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता गरेर आवश्यक कारवाही गर्न १६ गतेसम्मको अल्टिमेटम दिएको कालिञ्चोक गाउँपालिका–८ का वडाध्यक्ष नन्दराज शिवाकोटीले जानकारी दिए ।
करिब ४५ जनाले रोल्वालिङ यातायातको बस रिजर्भ गरेर डीएसपी मानबहादुर राईको कार्यकक्षमा पुगेको डेलिगेसनले १६ गतेसम्म मुद्दा दर्ता नभए माथिल्लो प्रहरी निकायमा मुद्दा हाल्ने तथा सरकारी कागजातको सुरक्षाको लागि आन्दोलन गर्न पछि नपर्ने दोलखा प्रहरीलाई चेतावनी दिएको वडा नं. ७ का बडाध्यक्ष चेतबहादुर खड्काले जानकारी दिए । ‘सरकारी कागजात चोरी हुँदा समेत दोलखा प्रहरी कसको दबाव र प्रभावमा परेको हो कारबाहीको त कल्पनै नगरौं मुद्दा दर्ता समेत गर्दैन’ वडा नं. ८ का वडाध्यक्ष शिवाकोटीले प्रश्न गरे । डीएसपी मानबहादुर राईले गम्भिर र जटिल समस्या भएकोले सरकारी वकिलसँग सल्लाह गरेर मुद्दा दर्ता गर्ने बताए ।
आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा मध्यरातमा कार्यालय तोडफोड गरेर कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो । गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिजालको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् । प्रजिअ रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् ।

Friday, October 25, 2019

कालिञ्चोक गाउँपालिकाको दुई कार्यालय, जनप्रतिनिधि–कर्मचारी दुबै विभाजित, सेवाग्राही द्विविधामा


रवीन्द्र गौतम । दोलखा

कात्तिक ८, चरिकोट । उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाले गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् ।
जनप्रतिनिधि र कर्मचारी दुबै विभाजित छन् । सेवाग्राहीहरु कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् । चासो र चर्चा सुन्नका लागि स्थानीयहरुको दुबै कार्यालयमा भीड छ । आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका–८, सुनखानीको कार्यालय पुगेका वडाध्यक्ष सहित करिब ६० जनाको समूहले डकैत शैलीमा रातारात कार्यालय सारे पछि दुई कार्यालयबाट सेवा सुरु गरेका थिए ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले वडा नं. ६ लापिलाङ र साविकको वडा नं. ८ सुनखानीबाट सेवा सुरु गरेका थिए । दुई स्थानबाट सेवा सुरु भएपछि अध्यक्ष थामी पक्षधरका जनप्रतिनिधि तथा कर्मचारीले वडा नं. ६ को लापिलाङबाट सेवा सुरु गरे भने उपाध्यक्ष पक्षधरका जनप्रतिनिधि र कर्मचारीले वडा नं. ८ बाट सेवा सुरु गरे । कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे सोमबारदेखि लागू हुने गरी विदामा बसेका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका–८, सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए । कर्मचारी हाजिरीकपी समेत चोरी भएपछि प्रजिअ रिाजलको रोहबरमा नयाँ हाजिरीकपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारीहरु १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् । चोरीको घटनामा संलग्नलाई कारवाहीको माग दावी सहित जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दा प्रहरीले दर्ता गरेको छैन । दोलखाका डीएसपी मानबहादुर राईले, ‘अनुसन्धानको प्रक्रियामा रहेको छ, सरकारी वकिलसँग छलफल गरेर मुद्दा दर्ता गर्ने योजना रहेको बताए ।’
नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिका समितिले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी गाउँपालिकामा भएको भ्रष्टाचारलाई लुकाउन डकैती गराईएको भन्दै बहुपक्षिय छानवीनको माग गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षको पार्टी नेकपा दोलखाका कार्यबहाक अध्यक्ष गोपाल पाण्डेले घटना गलत भएको प्रतिक्रिया दिँदै राजनीतिक नेतृत्वले समाधानका उपायहरु दिएका छौं, जनप्रतिनिधिले कानुनमा लेखिएको प्रक्रिया पुरा गरेर समाधान गर्नुपर्छ । 
कार्यालयको २ ओटा मूलढोका सहित ७ ओटा ढोकामा लगाईएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैत शैलीमा आइतबार राती चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको थियो ।

Thursday, October 24, 2019

बाथरुमको सावर चोरी गर्ने भण्डारीलाई साढे २ महिना जेल


कात्तिक ७, चरिकोट । गत असोज २४ मा बाथरुमको सावर चोरी गरेको आरोपमा पक्राउ परेका मेलुङ गाउँपालिका–३ का २३ बर्षिय बिशाल भण्डारीलाई साढे २ महिनाको लागि कारागार चलान भएका छन् ।
भण्डारीले भीमेश्वर नगरपालिका–६, सिमपानीस्थित उज्वल बस्नेत समेतको घरको बाथरुममा प्रयोग गरिएको नुहाउने सावर सेट तोडफोड गरी चोरी गरेको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
कारागार चलान भएका भण्डारी मेलुङ गाउँपालिका–३, घर भई भीमेश्वर नगरपालिका–६, चोथाङ बसोबास गरिरहेका थिए ।
चोरी शीर्षकमा मुद्दा चलेको भण्डारीलाई दोलखा जिल्ला अदालतले बिहिबार २ महिना १० दिन कैद र दुई हजार जरिवाना हुने फैसला गरेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

Tuesday, October 22, 2019

संघीयताको अभ्यास कहिले चुल्हो नमिलेजस्तो कहिले ओछ्यान नमिलेजस्तो : मन्त्री बास्कोटा


रवीन्द्र गौतम । दोलखा

कात्तिक ५, चरिकोट । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संघीयताको अभ्यास कहिले चुल्हो नमिलेजस्तो कहिले ओछ्यान नमिलेजस्तो भएको बताएका छन् ।
मंगलबार सदरमुकाम चरिकोटमा आयोजित रेडियो शैलुङको बार्षिकोत्सबलाई सम्वोदन गर्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । कार्यक्रममा उपस्थित रहेका नेकपाबाट जनप्रतिनिधिमा विजय भएकाहरुलाई निर्देशन दिँदै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।


प्रणाली चाँही रोज्ने आफूले पनि कर उठाउन पाउने, तीन–तीनओटा सरकार भो भन्ने अनि हिजो किन उर्ली उर्ली संघीयतामा गएको प्रश्न गर्दै मन्त्री बास्कोटाले भने, ‘तीन ओटा सरकार मान्न गाह्रो पर्नेहरुलाई संघीयताको अभ्यास नयाँ घर सरेजस्तै कहिले चुल्हो नमिलेजस्तो कहिले ओछ्यान नमिलेजस्तो भएको छ ।’
संघीयता नयाँ प्रयोग रहेको जनाउँदै मन्त्री बास्कोटाले थपे, ‘अलिकति गाह्रो हुन्छ, सकस हुन्छ ।’ उनले भने, ‘नयाँ राजनीतिक प्रयास हो, यसको प्रयोग बढ्दै जाँदा सजिलो हुन्छ ।’ 
रेडियोको बार्षिकोत्सव सुरु हुनु पूर्व मन्त्री बास्कोटाले राष्ट्रिय गौरबको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणमा पुगेका थिए । विगु गाउँपालिका–१, लामाबगर गोंगरखोलास्थित माथिल्लो तामाकोशीको कार्यालयमा आयोजना व्यवस्थापनसँग प्रगति बारे जानकारी लिएको आयोजना स्रोतले जनाएको छ । रेडियोका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको थियो ।

Monday, October 21, 2019

डकैती गरी सारियो कालिञ्चोक गाउँपालिकाको कार्यालय (भीडीयो)

डकैती गरी सारियो कालिञ्चोक गाउँपालिकाको कार्यालय


रवीन्द्र गौतम । दोलखा

कात्तिक ४, चरिकोट । स्थापनाकालदेखिनै अति विवादमा रहेको उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाको कार्यालय डकैती गरी रातारात सारिएको छ ।
आइतबार राती साढे २ बजे करिब ५० जनाको समूह गाउँपालिकाको कार्यालय पुगेका वडाध्यक्ष सहितको समूहले कार्यालय सञ्चालनको लागि न्युनतम आवश्यक पर्ने सामग्रीहरु डकैती गरी रातारात कार्यालय सारिएको हो । रड, लौरी, खुकुरी, बञ्चरो सहित आएका समूहले एउटा बोलेरो र २ ओटा ट्रकमा सामग्री लगेको कालिञ्चोक गाउँपालिका–८, सुनखानीका प्रत्यक्षदर्शी मानकाजी भुजेलले जानकारी दिए । वडाध्यक्षसहितको टोलीले मोबाइल खोसेर करिब २ घण्टा आफूलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी भुजेलले जानकारी दिए ।


कार्यालयको २ ओटा मूलढोका बाहेक ६ ओटा ढोकामा लगाईएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचनापाटीमा प्रेस विज्ञप्ती टाँस गरी डकैती शैलीमा राती कार्यालय सारिएको पाइएको छ । वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहित ११ जनाको हस्ताक्षरित विज्ञप्ती टाँस गरी गाउँपालिकाको सामान वडा नं. ५ लापिलाङको वडा कार्यालय नजिक पुष्कर खड्काको घरमा सारिएको पाईएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।


कार्यालयको विभिन्न शाखाको ढोका फोडेर चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष–उपाध्यक्ष–कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युट लगायतका महत्वपूर्ण प्रशासनीक कागजात चोरी भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले जानकारी दिए । उनले भने, ‘हाम्रो नेम प्लेट समेत चोरिएको छ ।’

गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले प्रदेश कार्यालय र पार्टीले केन्द्र विवाद समाधान गर्ने जनाउँदै आएकोमा अभद्र, अराजक र डकैत शैलीमा गरिएको क्रियाकलाप क्षम्य अपराध नभएको जनाइन् ।  गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँपालिकाका केन्द्र लापिलाङमा हुने गरी यस अघिनै गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसारनै लापिलाङका स्थानीयले सर–सामान र कागजात लगेको हुन सक्ने बताए । गाउँपालिकाको कार्यालय लापिलाङमा नै सञ्चालन हुने भएकोले थप कुरा गर्ने भए सञ्चारकर्मीहरुलाई उतै आउन अध्यक्ष थामीले निम्ता समेत गरे ।


Friday, October 18, 2019

जिरीमा फुड फेष्टिभल सुरु, पहिलो दिन ३ हजारले गरे अवलोकन (फोटो फिचर)


रवीन्द्र गौतम । जिरी

कात्तिक १, जिरी । स्वीटजरल्याण्डको ज्युरिच शहरसँग तुलना गरिएको दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि ३ दिने जिरी स्ट्रिट फुड फेस्टिबल सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फुड फेष्टिबलको उद्घाटन गरेका थिए । पर्यटन मन्त्री भट्टराईले बाह्यभन्दा पनि आन्तरिक पर्यटक लक्षित गरी कार्यहरु सञ्चालन गर्न सके जिरीमा पर्यटकहरुको दुख नहुने बताए ।


विदेशीभन्दा नेपाली पर्यटकहरुको खर्च गर्ने क्षमतामा बृद्धि हँुदै गएको तथ्याङ्क जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘आन्तरिक पर्यटकहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरे ।


युवा सञ्जाल जिरीको आयोजनामा आज शुक्रबारदेखि ३ दिने स्ट्रिट फुड फेस्टिवल २०१९ को सुरु भएकोे युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए । 


२० ओटा स्टलमा जिरेल, शेर्पा, तामाङ, नेवार, सुनुवार आदि जातिसँग सम्बन्धित शिल्मा, रिल्दुक, ढिँडो, ट्राउट माछाका परिकारहरु लगायत जिरीका अन्य मौलिक खानाका परिकारहरुका साथै जिरीमा उत्पादन हुने चिज, छुर्पी, चिया, किवी तथा किवीबाट बनेको वाइन, आलुको रोटी लगायतका खाद्य बस्तुहरु उपलब्ध गराईएका अध्यक्ष खड्काले जनाए ।


फेस्टिवलमा जिरेल शेर्पा, सुनुवार लगायतका विभिन्न जाति जनजातिहरुका मौलिक झाँकि प्रदर्शन गरिएको थियो । छिमेकी रामेछाप, दोलखा सहितबाट शुक्रबारमात्र करिब ३ हजार आन्तरिक पर्यटकहरुले  फेस्टिवलको अवलोकन गरेको आयोजकले जनाएको छ । 



फेस्टिवल अवधिभर हरेक दिन कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम छ । फेस्टिवलमा रोटेपिङ, मिनी रेल, भलिबल, नृत्य प्रतियोगिताहरुको आयोजना गरिएको छ ।




Wednesday, October 16, 2019

संघीय सांसद पार्वत गुरुङ सहित ७ जनालाई पक्राउ पुर्जी



रवीन्द्र गौतम । दोलखा

असोज २९, चरिकोट । दोलखा जिल्लाबाट संघीय सांसदमा निर्वाचित पार्वत गुरुङलाई काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 
ठेगाना नखुलेका वीरध्वज खड्काको जाहेरीको आधारमा काठमाण्डौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग  गरेको अभियोगमा सांसद गुरुङलाई पक्राउ पुर्जी जारी गरेको हो । वीरध्वज खड्काले २०७६ बैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग गरेको मुद्दा दर्ता गराएका थिए । २०७६ भदौ १२ गते काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । सांसद गुरुङ सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका छन् ।
सांसद गुरुङ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ०७५–सी१–२००८ नम्बरमा मुद्दा दर्ता भई चालु अवस्थामा रहेको छ । सांसद गुरुङसहित ७ जनालाई ज्यान मार्ने उद्योगको दफा १८३ बमोजिमको मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।

सांसद गुरुङले घुमाउरो भाषमा आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकारे । सांसद गुरुङले स्थानीय तहको निर्वाचनको क्रममा गौरीशंकर गाउँपालिका–२, जुँगूका कूलबहादुर तामाङको हत्याको केससँग सम्वन्धित घटना भएको बताए । उनले भने, ‘त्यो घटनालाई लिएर हालिएको मुद्दा रहेको बुझेको छु ।’ सांसद गुरुङ भन्छन्, ‘अहिले मैले त्यसलाई सहज रूपमै लिएको छु ।’ २०७४ बैशाख २६ गते राती तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्याकर्ता विच झडप हुँदा ३३ बर्षिय तामाङको मृत्यु भएको घटना अहिले बल्झिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सांसद गुरुङलाई पक्राउ पूर्जी जारी तथा म्याद तामेली सम्वन्धमा केही जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मानबहादुर राईले  पनि सांसद गुरुङलाई पक्राउ पूर्जी जारी भएको बारे आफूलाई केही थाहा नभएको बताए । मातहतका कार्यालयहरुसँग बुझ्दा समेत त्यस्तो केही नपाईएको डीएसपी राईले जानकारी दिए । सांसद गुरुङको स्थायी वतन रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले पटकपटक बुझ्न खोज्दा उनको मोबाइल उठेन ।
सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीलाई समेत पक्राउ पूर्जी जारी भएको छ । त्यसैगरी सोही ज्यान मार्ने उद्योगमा गौरीशंकर गाउँपालिका–१ का मिनबहादुर तामाङ, कर्ण तामाङ, सविन तामाङ, सागर तामाङ र गौरीशंकर गाउँपालिका–२ का जीवन तामाङलाई समेत पक्राउ पूर्जी जारी भएको छ । गुरुङ २०७४ मंसिरमा दोलखाबाट संघीय सांसद्मा निर्वाचित भएका थिए ।

Tuesday, October 15, 2019

दुर्गम दोलखामा पनि अब एचडीयु सेवा


रवीन्द्र गौतम । दोलखा

असोज २९, चरिकोट । दुर्गम हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा उच्च निर्भरता एकाई (एचडीयु) निर्माण गरिएको छ ।
एचडीयु सेवाको अभावमा विभिन्न प्रकारका जटिल उपचारमा समस्या भए पछि भीमेश्वर नगरपालिकामार्फत सांसद विकास कोषको रकमबाट उच्च निर्भरता एकाईको निर्माण गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दंगालले बताए । न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा निर्माण गरिएको उच्च निर्भरता एकाईमा भेन्टिलेटर, मनिटर, बेड, सक्सन मेशिन, बेबी वार्मर मेशिन, अत्याधुनिक अल्ट्रा साउण्ड, भिडियो एक्सरे, अत्याधुनिक डिजिटल इसिजि मेशिन, श्वास प्रश्वास सहज बनाउने वाईक्याप लगायतका अत्याधुनिक सुविधा रहेको निर्देशक डा दंगालले जनाए । 
उच्च निर्भरता एकाई (एचडीयु) मा रहेको चारवटा बेडमध्ये एउटा बेड भने बच्चाको लागि विशेष सुविधा सहितको हुने अस्पताल प्रशासनले जनाएको छ । मेशिन स्रोत जडान भईसकेको एचडीयु सेवा सञ्चालनको लागि अस्पतालले धमाधम मानव स्रोतको समेत व्यवस्थापन सुरु गरिसकेको छ ।
प्रसुति सेवा र अन्य बिभिन्न गम्भिर प्रकृतिका रोगको उपचारका लागि एचडीयुको सेवा थप गर्न सुझाव प्राप्त भएपछि भीमेश्वर नगरपालिकाको समन्वयमा सांसद विकास कोषको ५० लाख र नगरपालिकाको करिब २० लाख गरी ७० लाखको लागतमा एचडीयुको निर्माण गरिएको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले जानकारी दिए । अस्पतालको थप सुधार र प्रविधिको विकासको लागि नगरपालिकाले आगामी दिनमा समेत थप सेवा सुरु गर्न लागेको मेयर केसीले बताए ।
एचडीयु सेवाको स्थापनाले संक्रमित बच्चा, श्वास प्रश्वासका विरामी, हृदयघातका विरामीको प्राथमिक उपचार, विषादी खाएका विरामीको उपचार समस्या हट्ने अपेक्षा गरिएको निर्देशक डा. दंगाल बताउँछन् । एचडीयु सञ्चालनको लागि मासिक करिब १० लाख अतिरिक्त खर्च लाग्ने अस्पतालले जनाएको छ । एचडीयु नहुँदा आर्थिक बर्ष ०७५÷७६ मा चार बच्चाको मृत्यु भएको र ४÷५ बच्चालाई रिफर गर्नु परेको अस्पतालको तथ्याङ्क छ । शल्यक्रिया, उपचार सेवा तथा औषधि सम्पूर्ण निशुल्क रहेको अस्पतालमा एचडीयुको निर्माणले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यताबाट मुक्ति पाउने नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवि मास्केले बताउँछन् ।

Sunday, October 6, 2019

चरिकोटबाट प्रतिवन्धित २९४ नाइट्राजेपम सहित युवक पक्राउ



रवीन्द्र गौतम । चरिकोट 

असोज १९, चरिकोट । वडा दशैंमा विक्री गर्ने उद्देश्यले लुकाई छिपाई राखिएको प्रतिवन्धित २९४ थान नाइट्राजेपम सहित चरिकोटबाट एक युवक पक्राउ परेका छन् ।
           फुलपातीको दिन शनिवार दिउँसो साढे ११ बजे भीमेश्वर नगरपालिका–६, चरिकोटबाट प्रतिवन्धित २९४ थान नाइट्राजेपम सहित गौरीशंकर गाउँपालिका–३, झ्याँकूका २३ बर्षिय शंकर बस्नेत पक्राउ परेका हुन् । 
          भीमेश्वर नगरपालिका–६, चरिकोटको व्यस्त बजारको एक घरमा डेरा गरी बसेका बस्नेतलाई विक्री वितरण गर्ने प्रयोजनको लागि राखेको प्रतिवन्धित सो मात्राको लागू औषध सहित पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा बस्नेतको डेरामा खानतलासी गर्दा रितपूर्वक बरामद गरेको दोलखा प्रहरीको प्रवक्ता रेशम बोहराले जानकारी दिए । पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tuesday, October 1, 2019

दशैं लगत्तै जिरीमा ३ दिने स्ट्रिट फुड फेस्टिवल


रवीन्द्र गौतम । दोलखा

असाेज १५, चरिकोट । स्वीटजरल्याण्डको ज्युरिच शहरसँग तुलना गरिएको दोलखाको पर्यटकीय नगरी जिरीमा दशैं लगत्तै जिरी स्ट्रिट फुड फेस्टिबलको आयोजना गरिने भएको छ ।
सुस्ताउँदै गएको पर्यटन प्रबद्र्धनका लागि युवा सञ्जाल जिरीको आयोजनामा दशैं लगत्तै ३ दिने स्ट्रिट फुड फेस्टिवल २०१९ को आयोजना गर्न लागिएको हो । जिरीको पर्यटन प्रवद्र्धनका लागि जिरी नगरपालिकाको लिंकन बजारमा कात्तिक १ देखि ३ गतेसम्म फेस्टिवलको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।
नेपाल भ्रमण बर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकहरुलाई जिरी भ्रमण गर्न आकर्षित गर्नका लागि समेत फेस्टिवल महत्वपूर्ण सावित हुने अध्यक्ष खड्काको भनाई छ । फेस्टिवलमा जिरेल, शेर्पा, तामाङ, नेवार, सुनुवार आदि जातिसँग सम्बन्धित शिल्मा, रिल्दुक, ढिँडो, ट्राउट माछाका परिकारहरु लगायत जिरीका अन्य मौलिक खानाका परिकारहरुका स्टल राखिने आयोजको योजना छ । साथै जिरीमा उत्पादन हुने चिज, छुर्पी, चिया, किवी, आलु लगायतका खाद्य बस्तुहरुका स्टल राखिने आयोजकले बताएको छ । फेस्टिवलमा जिरेल शेर्पा, सुनुवार लगायतका विभिन्न जाति जनजातिहरुका मौलिक झाँकि प्रदर्शन गरिने छ । 
आन्तरिक र बाह्य गरी फेस्टिवलमार्फत ५ हजार भन्दा बढी पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकरुका लागि जिरी आसपासका पर्यटकीय गन्तब्यहरु अवलोकनका लागि जिपसफारी तथा साइक्लिङको पनि ब्यवस्था मिलाईएको अध्यक्ष खड्काले बताएको छ । फेस्टिवल अवधिभर हरेक दिन कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । फेस्टिवल आयोजनाका लागि जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेको आयोजकले बताएको छ । 
विगतमा सगरमाथाको प्रवेशद्वार लगायतको उपनामले समेत परिचित दोलखाको मुख्य पर्यटकीयस्थल मध्येको एक मानिने जिरी दोलखा आउने आन्तरिक पर्यटकको आकर्षणको केन्द्र थियो । तर सडक सञ्जालको विस्तार सँग जिरी आउने पर्यटकहरुको संख्यामा कमी आउन थालेपछि जिरी नगरपालिकाले समेत पर्यटन प्रवद्र्धनका लागि वडा–वडामा पार्क बनाउने, नगरलाई स्वच्छ राख्ने तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।