Sunday, October 29, 2017

लोकतान्त्रिक गठबन्धनले रुख चिन्हमा मतदान गर्न जारी ग¥यो सर्कुलर


रवीन्द्र गौतम । दोलखा

कात्तिक १२, दोलखा । दोलखामा उम्मेदवारी नै नदिएर कांग्रेसलाई सघाउन लागेको राप्रपा र राप्रपा प्रजातान्त्रीकले आइतबार काँग्रेसलाई कसरी जिताउने भन्ने बारे छलफल गरेका छन् ।
        लोकतान्त्रीक गठबन्धनका नेपाली काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक बिच संयुक्त बैठक बसेर चुनावी रणनीति बारे छलफल गरी ४ बुँदे निर्णय सहित संयुक्त विज्ञप्ती प्रकाशन गरेको छ । लोकतान्त्रिक गठबन्धनले आइतबार एक विज्ञप्ती जारी गरी नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुद्रबहादुर खड्का र प्रदेशसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार बर्मा लामा र क्षेत्र नं. २ का उम्मेदवार केशवराज चौलागाईंको रुख चिन्हमा मतदान गर्न सर्कुलर जारी गर्ने उल्लेख गरिएको छ ।
       विज्ञप्तीअनुसार समानुपातिक तर्फका उम्मेदवार तथा पार्टीका लागि भने ३ ओटै दलले आ–आफ्नै पार्टीलाई मतदान गर्ने, कात्तिक १३ अर्थात सोमबारबाट हुने चुनाव केन्द्रित भेला तथा आमसभाहरुमा सबैले सक्रिय सहभागिता जनाउने, पार्टी केन्द्रीय तहबाट भएको निर्णय तथा निर्देशनहरुलाई अक्षरंश पालना गर्दै लोकतान्त्रिक गठबन्धनका पक्षमा माहोल सिर्जना गर्ने उल्लेख गरिएको छ ।

Wednesday, October 25, 2017

दोलखामा २ को उम्मेदवारी फिर्ता, अझै ३८ जना मैदानमै


रवीन्द्र गौतम । दोलखा

कात्तिक ८, दोलखा । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि गत आइतबार परेको उम्मेदवारीमा २ जनाको फिर्ता भएको छ भने अझै ३८ जना चुनावी मैदानमै संघर्षरत रहेका छन् ।
        प्रतिनिधि सभा सदस्यको लागि नेकपा मालेबाट उम्मेदवारी दिएका गोविन्द विकको उम्मेदवारी फिर्ता भएको छ भने र प्रदेशसभा सदस्य दोलखा क्षेत्र नं. २ मा जनसमाजवादी पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको दोलखाको मूख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिए । गोविन्द विकले स्वइच्छाले फिर्ता लिएका हुन् भने माले र जनसमाजवादी पार्टीको चुनाव चिन्ह एउटै भएको कारणले सो पार्टीको आधिकारिक पत्र प्राप्त भएकोले लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत काप्mलेले जानकारी दिए ।
        उम्मेदवारी फिर्ता र रद्द पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोलखा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि अब १५ ओटा पार्टीका २६ र स्वतन्त्र १२ गरी ३८ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

Monday, October 23, 2017

उम्मेदवारी दर्ताबाट दोलखामा पौने ३ लाख धरौटी संकलन


रवीन्द्र गौतम । दोलखा

कात्तिक ६, दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि दोलखा जिल्लामा दर्ता भएका उम्मेदवारहरुबाट पौने ३ लाख धरौटी संकलन भएको छ ।
    आइतबार दोलखा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका ४० जनाबाट सो बराबरको धरौटी रकम संकलन भएको हो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुबाट छुट्टा छुट्टै दरले रु. २ लाख ६५ हजार धरौटी संकलन भएको दोलखाको मूख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।
    प्रतिनिधि सभा सदस्यहरुमध्ये १४ जनाले रु. १० हजारको दरले र २ जना दलितले ५ हजारको दरले तथा प्रदेश सभा सदस्यहरुमध्ये २२ जनाले रु ५ हजारको दरले र एक महिला र एक दलितले २ हजार ५ सयको दरले धरौटी रकम बुझाउँदा रु. २ लाख ६५ हजार संकलन भएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।
    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ७० को उपदफा १ बमोजिम प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गर्न रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्न रु. ५ हजारको दरले धरौटी संकलन गर्नु पर्ने उल्लेख छ । सो दरमा महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने सो विधेयकको दफा ७० को उपदफा २ मा उल्लेख छ ।

दोलखामा ४० जनाको उम्मेदवारी दर्ता, काँग्रेस र वामगठवन्धन नै मुख्य प्रतिष्पर्धि


रवीन्द्र गौतम । दोलखा

कात्तिक ५, दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि दोलखा जिल्लामा ४० जनाको उम्मेदवारी दर्ता भएको छ भने काँग्रेस र वामगठबन्धन विच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
        आइतबार वामगठबन्धनको कारण निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता केही ढिला गरी सुरु भए पनि शान्तिपूर्ण रुपले ४० जनाको उम्मेदवारी दर्ता सम्पन्न भएको दोलखाको मूख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिनुभयो ।
        नेपाली काँग्रेसले जिल्लाको दुवै क्षेत्र र प्रतिनिधि सभा सदस्य गरी ३ ओटै पदमा उम्मेदवारी दर्ता गराएको छ भने वामगठबन्धनतर्फबाट नेकपा एमालेले क्षेत्र नं. २ र प्रतिनिधि सभा सदस्यमा र माओवादी केन्द्रले क्षेत्र नं. १ मा मात्र उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगमा दर्ता भएर क्रियाशिल रहेको १६ ओटा पार्टीबाट प्रतिनिधि र प्रदेश सभा सदस्य २८ र स्वतन्त्र १२ गरी ४० जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।
        मुख्य निर्वाचन अधिकृत काफ्लेका अनुसार प्रतिनिधि सभा सदस्यको लागि १६ जना, प्रदेश सभा क्षेत्र नं. १ मा ११ र क्षेत्र नं. २ मा १३ जना गरी कूल ४० जनाको उम्मेदवारी दर्ता भएको छ ।

Saturday, October 21, 2017

दोलखामा मध्यदिनसम्म कुनै पनि उम्मेदवारी दर्ता भएन, निर्वाचन कार्यालय सुनसान्


रवीन्द्र गौतम । दोलखा

कात्तिक ५, दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि आइतबार निर्धारण गरिएको उम्मेदवारी दर्ताको मध्यदिनसम्म पनि दोलखमा कुनै पनि उम्मेदवारी दर्ता भएको छैन भने मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान रहेको छ ।
        मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट दोलखाले नेकपा एमालेलाई सुरुमा उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेकोमा एमालेको टिकट विवादको कारण निर्धारित समयमा उम्मेदवारी दर्ता हुन नसकेको कारण मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान भएको छ भने नेपाली काँग्रेसको लागि निर्धारित गरेको समयभन्दा केही समय अघि नै उम्मेदवारी दर्ताको लागि आह्वान गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिए ।
        दोलखा जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरु सक्रिय रहे पनि आइतबार मध्यान्हसम्म कसैले पनि उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

Monday, October 9, 2017

दोलखामा पनि राप्रपा प्रजातान्त्रिक गठन, प्रतिनिधि सभामा बस्नेत सिफारिस


असोज २३, दोलखा । दोलखा जिल्लामा पनि सोमबारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको छ ।
    कमल थापा नेतृत्वको राप्रपासँग फुटेर निर्माण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकमा सोमबारबाट बलबहादुर तामाङ अध्यक्ष भएका हुन् । सोमबार दोलखामा बसेको बैठकले प्रथम उपाध्यक्षमा वेलकुमारी तामाङ, द्धितीय उपाध्यक्षमा किरणबहादुर खड्का, सचिवमा पूर्णबहादुर थापा, कोषाध्यक्षमा विष्णु श्रेष्ठ र अन्य १० सदस्य चयन भएको राप्रपा प्रजातान्त्रिक दोलखाले जनाएको छ ।
    राप्रपा प्रजातान्त्रिकले दोलखा जिल्लाबाट प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारमा जंगबहादुर बस्नेत, प्रतिनिधि सभा समानुपातिकतर्फ बलबहादुर केसी, निमा मोक्तान र महिलातर्फ बेलकुमारी तामाङलाई सिफारिस गरेको जनाएको छ । राप्रपा प्रजातान्त्रिक दोलखाले प्रदेश सभातर्फ क्षेत्र नं. १ बाट ४ जना र क्षेत्र नं. २ तर्फ ६ जनालाई सिफारिस गरेको जनाएको छ ।

Sunday, October 8, 2017

सिनो हाइड्रोले माग्यो विभिन्न पदका २ सय ५१ जना कर्मचारी



माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले माग्यो विभिन्न पदका २ सय ५१  जना कर्मचारी ।

Saturday, October 7, 2017

यस्तो देखियो भिडियोमा बैत्यश्वर गाउँपालिका केन्द्र निर्माणका लागि स्थानीयद्वारा जग्गा दान गरिएको दृश्य ...

यस्तो देखियो भिडियोमा बैत्यश्वर गाउँपालिका केन्द्र निर्माणका लागि स्थानीयद्वारा जग्गा दान गरिएको दृश्य ...

Thursday, October 5, 2017

दोलखामा १४ हजार थपिएका सहित कूल मतदाता डेढ लाख पुगे (हेर्नुहोस् तालिका)


रवीन्द्र गौतम । दोलखा

असोज १९, दोलखा । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्ने मतदाताहरुका संख्यामा थप १४ हजार मतदाता थपिएका छन् ।
    २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको भन्दा आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मतदान गर्नको लागि थप १४ हजार ३ सय ९४ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले मंगलबार प्रकाशित गरेको दोलखाको अन्तिम मतदाता नामावली अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यमा मतदान गर्नेहरुको संख्या १ लाख ४७ हजार ८ सय ७८ पुगेको छ ।
    २०७४ भदौ ५ गतेसम्म १८ वर्ष पुरा भएका २ नगरपालिका र ७ गाउँपालिकामा तेस्रो लिंगी १, महिला ७४ हजार १६ र पुरुष ७३ हजार ८ सय ६१ सहित दोलखाको कूल मतदाता १ लाख ४७ हजार ८ सय ७८ पुगेको हो । यस अघि २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दोलखा जिल्लामा १ लाख ३३ हजार ४ सय ८४ मतदाता रहेका थिए ।
    निर्वाचन आयोगले मंगलबार प्रकाशित गरेको दोलखाको अन्तिम मतदाता नामावली अनुसार भीमेश्वर नगरपालिकामा सबैभन्दा बढि २५ हजार २१ र सबैभन्दा कम जिरी नगरपालिकामा १२ हजार ३ सय ५८ मतदाता पुगेका रहेका छन् ।

Tuesday, September 26, 2017

दोलखाको जुँगुमा करेन्ट लागेर एकको मृत्यु, ५ घाईते

 रवीन्द्र गौतम । दोलखा

असोज १०, दोलखा । गौरीशंकर गाउँपालिका वडा नं. १, जुँगुमा मंगलबार बिहान करेन्ट लाग्दा एकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
    पुरानो ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर्मर परिवर्तन गर्ने क्रममा विद्युत् सर्ट हुँदा गम्भीर घाइते भएका गौरीशंकर गाउँँपालिका–१, झगडेका करिब ४५ बर्षिय हुपबहादुर खत्रीलाई थप उपचारको लागि चरिकोट ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाएका छन् ।
    घाइते हुनेहरुमा गौरीशंकर गाउँपालिका–१, झगडेका ३० बर्षिय ईन्द्रबहादुर जिरेल, २७ वर्षिय गणेशबहादुर जिरेल, २३ बर्षिय कृति जिरेल, २१ वर्षिय बोल खत्री र बिरबहादुर खत्री रहेका दोलखाका प्रहरी प्रमुख कार्कीले जनाएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
    मंगलबार बिहान गरिब साढे ९ बजे गौरीशंकर गाउँपालिका वडा नं. १, जुँगु, घट्टेस्थित विग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर्मर राख्न विजुलीको खम्बामाथि चढाउन लाग्दा खम्बाबाट भुईमा करेन्ट सर्ट भई दुर्घटना भएको स्थानीयहरुले जनाएका छन् ।

Tuesday, September 19, 2017

माओवादीसँग मिसिए नयाँ शक्ति दोलखाका ५२ भन्दाबढि नेता


रवीन्द्र गौतम । दोलखा

असोज ३, दोलखा । तत्कालीन एनेकपा माओवादीबाट छुट्टिएर बनेको नयाँ शक्ति पार्र्टीमा समाहित भएका नयाँ शक्ति दोलखाका ५२ नेता माओवादी केन्द्रमै मिसिएका छन् ।
       मंगलबार नयाँ शक्ति पार्टी दोलखाका नेता एवम् वृहत् धु्रबिकरण संयोजन समिति दोलखाका संयोजक अर्जुन थपलियाद्वारा जारी विज्ञप्तीअनुसार नयाँ शक्ति पार्टी शुभेच्छुक सञ्चारकर्मी, विद्यार्थी, युवा, प्रदेश कमिटि सदस्य तथा पूर्व विप्लब माओवादी सहित ५२ जना माओवादी केन्द्रमा समाहित भएका छन् ।
       ‘दृष्टिकोण र एजेण्डा मिल्ने शक्तिहरुको बृहत् ध्रुबिकरण र एकताबाट मात्र प्रतिगमनकारी शक्तिहरुको पराजय हुन सक्छ भन्ने मान्यता राख्ने माओवादी केन्द्र मात्र रहेकाले मंगलबार ध्रुबिकरण भएको सगौरब घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
      माओबादी केन्द्रमा समाहित हुनेहरुमा भक्त थोकर, चन्द्रकुमार लामा, वाङचुक घिसिङ, कान्छि तामाङ,  अर्जुन तामाङ, निमा दोर्जे लामा, सुवास मोक्तान, अमर तामाङ, दिलबहादुर केसी लगायत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विपद्का बेला अपनाउनु पर्ने सावधानीसम्वन्धी सिंगटीमा नाटकीय प्रदर्शनी


सिंगटी, दोलखा । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल दोलखाले साविक लामिडाँडा र लादुक गाविसमा सञ्चालन गरिरहेको जोखिम न्यूनिकरण प्रयास परियोजना अन्र्तगत भुकम्पले निम्ताउन सक्ने विपद्मा अपनाउनु पर्ने सर्तकता र उद्धारका बारेमा नाटकीय प्रर्दशन गरेको छ ।
         विपद्का बेला कसरी सचेत हुने र सहयोग गर्ने भन्ने बिषयको पूर्व तयारी बारे जानकारी दिने उद्देश्यले तालिम दिई त्यसको प्रयोगात्मक नाटकीय प्रदर्शन गरिएको हो । इको र एडिसिको आर्थिक सहयोग तथा ह्याण्डीक्याप इन्टरनेशनल र केयर नेपालसँगको साझेदारीमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल दोलखाले विपद्का बेला हुनु पर्ने चेतना बढाउनु नै परियोजनाको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक गोपालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।
          विपदबाट कम क्षति गराउन र सुरक्षित बस्नको लागि सिडिएफले सिँगटीमै लोकदोहोरी प्रतियोगिता समेत आयोजना गरेर स्थानीय कलाकारहरुको माध्यमबाट जनचेतना अभिवृद्धि समेत गरेको छ । विगु गाउँपालिका अध्यक्ष युधिष्टिर खड्का र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले प्रयास कार्यक्रम वास्तवमै स्थानीयस्तरमा फलदायी रहेको प्रतिक्रिया दिनुभएको छ ।
        प्रयास कार्यक्रमले चेतना अभिबृद्धि र भौतिक निर्माणका कामहरु सँगसँगै लगेको र स्थानीय तहले निकै सहयोग र सहकार्य गरिरहेकाले आफूहरु काम गर्न धेरै उत्साहित भएको सिडिएफका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताउनु भयो ।

Tuesday, September 12, 2017

टुकी र हुराडेकद्वारा गरियो परियोजना समापन कार्यक्रम


रवीन्द्र गौतम । दोलखा

भदौ २७, दोलखा । जिल्लाका अग्रणी गैरसरकारी संस्था टुकी संघ र हुराडेक दोलखाद्वारा नेपाल भुकम्प २०७२ प्रतिकार्य कार्यक्रमको समापन गरेको छ ।
         अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आम विनासकारी भुकम्प २०७२ पछि टुकी संघ र हुराडेक दोलखाद्वारा दोलखा जिल्लाका विभिन्न स्थानमा सञ्चालित शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा, आवास, खानेपान तथा सरसफाई सम्वन्धी कार्यक्रमको मंगलबार समापन गरेको हो । मंगलबार सदरमुकाम चरिकोटमा टुकी संघ र हुराडेक दोलखाद्वारा एक संयुक्त कार्यक्रमको आयोजना गरी कार्यक्रमबाट भएका उपलब्धि र चुनौतीको विषयमा आमरुपमा जानकारी गराउँदै कार्यक्रम समापन भएको हुराडेक दोलखाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।
        हुराडेक दोलखाद्वारा सेभ द चिल्ड्रेनबाट प्राप्त शिक्षा कार्यक्रमको ७६ लाख ४७ हजार २ सय ४३ तथा बालसंरक्षण कार्यक्रमको १ करोड ८८ लाख ३१ हजार ४ सय २३ गरी कूल २ करोड ६४ लाख ७८ हजार ६ सय ६६ रुपैयाँ बराबरको कार्य सम्पन्न गरेको हुराडेकका अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
      टुकी संघ दोलखाले खाद्य तथा जीविकोपार्जन कार्यक्रममार्फत ७ करोड १५ लाख १३ हजार, शिक्षा कार्यक्रममार्फत २ करोड ३३ लाख ३३ हजार १ सय ३०, स्वास्थ्य तथा पोषण कार्यक्रममार्फत २ करोड ६० लाख ७ हजार, आवास कार्यक्रममार्फत १७ करोड ५५ लाख २३ हजार, विपद् जोखिम न्यूनीकरण कार्यक्रममार्फत १ करोड ५९ लाख ३ हजार, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रममार्फत ३ करोड २ लाख ६१ हजार र कार्यक्रम व्यवस्थापनमार्फत ४२ लाख ५८ हजार सहित कूल ३४ करोड ६८ लाख रुपैयाँ बराबरको कार्य सम्पन्न गरेको टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले जानकारी दिनुभयो ।

Tuesday, September 5, 2017

विपद् व्यवस्थापनका लागि कालिञ्चोक गाउँपालिकामा क्षमता विकास तालिम सुरु

 
भदौ २०, दोलखा । कालिञ्चोक गाउँपालिकाको ५ बर्षिय स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमाका लागि गठित समितिका लागि ३ दिने क्षमता विकास तालिम सोमबारबाट सिंगटीमा सुरु भएको छ ।
         गाउँपालिकाले गठन गरेको उक्त उत्थानशिल समितिका ३२ जना सदस्यहरु तालिममा सहभागी रहेका छन् । सहभागीहरुलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखा जिल्ला शाखाका प्रमुख सागर आचार्य, जिल्ला समन्वय समिति दोलखाका सामाजिक बिकास अधिकृत नारायण सेंढाई तथा समुदायिक विकास मञ्च दोलखाका सहजकर्ताबाट तालिमको सहजीकरण गरिरहेको सामुदायिक विकास मञ्च (सीडीएफ)का कार्यक्रम संयोजक गोपालकृष्ण बस्नेतले जानकारी दिए ।
        स्थानीय तहमा आईपर्ने प्राकृतिक प्रकोप तथा ती प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्नको लागि बनाइने गाउँपालिकाको ५ बर्षे योजनामा विपद्पूर्व, विपद्को समयमा र विपद्पछि सञ्चालन गरिने क्रियाकलापहरुका बारेमा तालिम दिइने कार्यक्रम संयोजक बस्नेतले जनाए ।
       कालिञ्चोक गाउँपालिकाले अयोजना गरेको उक्त तालिमलाई इको एडिसीको आर्थिक सहयोग तथा ह्याण्डी क्याप र केयरको साझेदारीमा सञ्चालित प्रयास परियोजनालाई सामुदायिक विकास मञ्च नेपाल दोलखाले सञ्चालन गरिरहेको छ ।
   

Sunday, September 3, 2017

दोलखाको क्षेत्रपामा काठले किचेर एकको मृत्यु


भदौ १८, दोलखा । दोलखाको पूर्वी क्षेत्रपामा काठको मुडाले किचेर एक युवकको मृत्यु भएको छ ।
          बैत्यश्वर गाउँपालिका वडा न.७ छेत्रपामा आफैले बोकेको मुडाले किचेर सोमबार जिरी नगरपालिका वडा न.७ घर भएका १७ बर्षिय मिङमा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । आफैले बोकेको मुडाले किचेपछि उपचार गर्न मैनापोखरी ल्याउने क्रममा बाटोमै शेर्पाको मृत्यु भएको   ईलाका प्रहरी कर्यालय मैनापोखरीले जनाएको छ । शेर्पा क्षेत्रपामा घर निर्माण कार्यको लागि खटिएको ठेकेदार सानुमान मोक्तानले बताएका छन । मृतक शेर्पाको शव हिमालयन कियर अस्पताल मैनापोखरीमा राखिएको छ ।

साढे २१ लाखको लगानीमा लादुकमा खानेपानी योजना निर्माण



रवीन्द्र गौतम । दोलखा

भदौ १८, दोलखा । आम विनासकारी भुकम्पका कारण पहिरो गई मुहान बगाए पछि खानेपानीको हाहाकारमा परेकाको लागि लादुकमा रु. २१ लाखको लगानीमा खानेपानी योजना निर्माण गरिएको छ ।
        वर्षौंदेखि प्रयोग गर्दै आएको खानेपानी मुहान र धारा २ वर्ष अघिको भुकम्पले क्षतविक्षत भएपछि हाहाकारमा परेका साविकको लादुक–१ हाल विगू गाउँपालिका–४, लिंबागाउँका ९४ घरका ४ सय ९१ जना लाभान्वित भएका छन् । लादुकको लिंबागाउँमा नागपोल खानेपानी र नागपोल सिम खानेपानी योजनामा रु. २१ लाख ४९ हजार २ सय ५० को लागतमा २१ वटा सामुदायिक धारा निर्माण भएको सेवक नेपाल दोलखाका प्रवन्धक प्रल्हाद तिमल्सिनाले जानकारी दिए ।
         अमेरिकी सहायता नियोगको आर्थिक सहयोगमा सेवक नेपाल र सामुदायिक विकास मन्चको पहलमा सफा पानी कार्यक्रममार्फत नयाँ धाराहरु बनेपछि आफूहरुलाई ठूलो राहत प्राप्त भएको उपभोक्ता सुर्गा तमाङले बताए । गत फागुनदेखि निर्माण सुरु भएर अघिल्लो हप्ता मात्र पूरा भएको खानेपानी योजनाको दिगोपनाको लागि कूल रु. ९३ हजार मर्मत कोष समेतको व्यवस्था गरिएको छ ।
       प्रतिधारा ३ देखि ५ घरधुरीले प्रयोग गर्न सकिने गरी निर्माण गरिएको नागपोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खड्काले जानकारी दिए । साना बच्चालाई धारा खोल्न र पानीको प्रयोगमा समस्या हुने भएकाले बालबालिकाका लागि छुट्टै धारा र वयस्कहरुका लागि अग्लो धारा निर्माण गरिएको उनले बताए ।
       दुवै खानेपानी योजनाको गरी कूल ४ हजार ७ सय ३१ मिटर पाइप लाइन निर्माण गरिएको प्रबन्धक तिमल्सिनाले बताए । श्रमदान समेतको लेखाजोखा भएको खानेपानीमा इन्टेक २, आरभीटी २, डिआरभीटी १ को निर्माण गरिएको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् । विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले गाउँपालिकाले आगामी दिनमा एकघर एकधाराको नीति लिएकाले साझेदार संस्थाहरुले पनि सोही अनुसार कार्यक्रम बनाउन निर्देशन दिएका छन् । सफा पानी कार्यक्रमका फिल्ड संयोजक सरद सापकोटाले दोलखाका साविकका १४ ओटा गाविसमा खानेपानी योजनाको काम भइरहेको जानकारी दिए ।

Tuesday, August 29, 2017

दोलखामा एग्रो फार्म सहितको ‘द उड्स चरिकोट’ रिसोर्ट सुरु


रवीन्द्र गौतम । दोलखा

भदौ १३, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा एग्रो फार्म सहितको रिसोर्ट सुरु भएको छ । चरिकोट बजारबाट करिब ९ सय मिटर उत्तरतर्फ भीमेश्वर नगरपालिका वडा नं. ३, गौतमटोलमा एग्रो फार्म सहितको द उड्स चरिकोट रिसोर्ट सुरु भएको हो ।
          दोलखा जिल्लामा बढ्दै गईरहेको बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी चरिकोटमा पछिल्लो समय सुविधा सम्पन्न होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएसँगै उड्स चरिकोट रिसोर्ट स्थापना भएको हो । पाहुनालाई खान इच्छा लागेको तरकारी आफैले टिपेर ल्याएर पकाउन लगाउन मिल्ने गरी एग्रोफार्मको सुविधासहित यो नै दोलखा जिल्लामा पहिलो रिसोर्ट हो ।
        करिब रु. ३ करोडको लागतमा टेनिस कोर्ट सहित १५ रोपनी जग्गामा फैलिएको रिसोर्टमा सेवाको विविधताले जिल्लाकै उत्कृष्ठ होटलको रुपमा निर्माण गरिएको रिसोर्ट सञ्चालक निराजन थापाले बताए । आफनै अर्गानिक फार्म, आफ्नै पानीको मुहानबाट फ्रेस वाटर पिउन पाइने, खोला र जंगलको विचमा अवस्थित रिसोर्टलाई भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गरि निर्माण गरिएको रिसोर्ट सञ्चालक थापाको दावी छ ।
         पर्यावरणमैत्री स्थलमा पारिवारिक तथा बालमैत्री वातावरणलाई ध्यान दिएर अपाङ्गमैत्री संरचना निर्माण गरिएको रिसोर्टको प्रमुख विशेषता रहेको थापाको भनाई रहेको छ । राजधानीबाट नजिकको दुरीमा रहेको उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित चरिकोटमा अवस्थित रिसोर्टमा पुरातत्व महत्व झल्काउने संरचनाको दृश्यपान गर्दै आनन्द लिन सकिने स्तरको निर्माण गरिएको सञ्चालकको भनाई रहेको छ । प्रशिद्ध कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर, लप्ची गुम्वा, वेदिङ–च्छोरोल्पा, हनुमन्ते–चेदुर््ङ, शैलुङ, विगु गुम्वा लगायतमा प्याकेजको समेत व्यवस्था गरेको रिसोर्ट व्यवस्थापनले जनाएको छ ।
          १२ कोठा क्षमता रहेको रिसोर्टमा मिटिङ हल, डायनिङ हल समेतको व्यवस्था रहेको छ भने प्रतिकोठाको मूल्य रु. २ हजारदेखि २ हजार ५ सयसम्म मूल्य निर्धारण गरिएको सञ्चालकले जानकारी दिए । यस्तै समूहमा आउने पर्यटकको लागि विशेष छुटको समेत व्यवस्था रहेको जनाएको छ ।

      
        पाहुनाहरुको पूर्ण सुरक्षाको लागि सेक्युरिटी गार्ड र सिसि क्यामेरा तथा इन्टरनेटको समेत व्यवस्था गरिएको रिसोर्ट व्यवस्थापनले जनाएको छ । रिसोर्टमा साना ठूला गरी १० भन्दा बढि गाडी र २० भन्दा बढि मोटरसाइकल पार्किङको व्यवस्था रहनुको साथै मल्टिमिडियाको सुविधा सहित ५० सिट क्षमताको कार्यक्रम हलको सुविधा रहेको छ  रामेछाप र सिन्धुलीको सिमानामा रहेको सुनकोशी पुलको निर्माण सँगै जनकपूर लगाएतका तराइका जिल्लाबाट दोलखाको धार्मिक स्थलहरुमा पर्यटकहरु आउने क्रम बढेको पाइएको छ ।

Thursday, August 24, 2017

अनौठो समस्या देखियो दोलखाको विद्युत प्राधिकरणमा उपभोक्ता बन्द, हड्ताल र डेलिगेसनमा व्यस्त


रवीन्द्र गौतम । दोलखा

भदौ ९, दोलखा । करिब डेढ महिनादेखि अनौठो समस्या देखिए पछि अवरुद्ध बनेको दोलखा जिल्लाको विद्युत् प्रशारण समस्या सुल्झिन नसक्दा जिल्लाका उपभोक्ताहरु वन्द हड्तालमा उत्रिएका छन् ।
       प्रत्येक ५ देखि १० मिनेटमा विद्युत् प्रशारण अवरुद्ध भएर वाक्क भएका दोलखा जिल्लाका उपभोक्ताहरुले पटक पटक मौखिक र लिखित आग्रह गर्दा समेत विद्युत नियमित नभए पछि वन्द हड्तालसम्ममा उत्रिएका हुन् । दैनिक करिब डेढ सयभन्दा बढि टेलिफोनमार्फत गुनासो गरिने तथा जिल्लाका नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी, व्यवसायी लगायतले लिखित उजुरी गर्दासम्म पनि विद्युत् नियमित हुन नसक्दा उत्तरी दोलखाको व्यापारिक नाका सिंगटी बजार बन्द गरेर व्यवसायीहरु हड्ताल सम्ममा उत्रिएका छन् ।

        
       सदरमुकाम चरिकोटस्थित प्राधिकरणको सम्पर्क कार्यालयमा दैनिकजसो विभिन्न निकायबाट डेलिगेसन पुग्ने र ज्ञापनपत्र बुझाउनेको ओइरो लाग्दा समेत विद्युत् नियमित हुन सकेको छैन । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका सल्लाहकार महेश श्रेष्ठका अनुसार गत जेठ १५ सम्ममा सबै प्राविधिक समस्या समाधान गरि विद्युत् नियमित गराउने लिखित कागज गरे पनि हालसम्म कुनै चासो नदिएको कारण व्यवसायीहरु हड्तालमा उत्रिन बाध्य भएको जनाएका छन् ।
      नेपाल विद्युत प्राधिकरण दोलखा शाखाको अनुसार दिउँसोको समयमा विद्युत् प्रशारणमा अनौठो समस्या देखिएको बताएको छ । विद्युत् प्राधिकरण दोलखाको इन्जिनियर उमेश श्रेष्ठकाअनुसार घाम लागेर तापक्रम बढेसँगै मकैबारी सवस्टेशनमा स्वचालित ट्रिप हुन्छ र विद्युत् अवरुद्ध हुन्छ । ठूलै जनशक्ति र खर्च गर्दा पनि समस्या हालसम्म पनि पहिचान हुन नसकेको इन्जिनियर श्रेष्ठ बताउँछन् । तर साँझको समय र चिसो मौषम हुने विक्तिकै समस्या आफै समाधान भएर विद्युत नियमित भईरहेकोले जिल्लामा अनौठो समस्या देखिएको इन्जिनियर श्रेष्ठ स्वीकार गर्छन ।

Wednesday, August 23, 2017

मिलिजुली साकोसले बनायो कोटीहोममा सार्वजनिक शौचालय


रवीन्द्र गौतम । दोलखा

भदौ ७, दोलखा । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदरमुकाम चरिकोटस्थित कोटीहोम यज्ञस्थलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
       पूँजी र सदस्य संख्याको आधारमा जिल्लाकै ठूलोमध्ये पर्ने मिलिजुली साकोसले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा सदरमुकाम चरिकोटस्थित कोटीहोम यज्ञस्थलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो । २५ औं स्थापना दिवस र रजत जयन्ती बर्षको अवसरमा बुधबार एक समारोहको आयोजना गरी मिलिजुली साकोसले भीमेश्वर नगरपालिकाका मेयर भरत केसीबाट शिलान्यास गराएको छ । २ कोठा क्षमताको शौचालयको लागि डेढलाखभन्दा बढि खर्च गरिने स्टिमेट रहेको सहकारीका प्रवन्धक इश्वर न्यौपानेले जानकारी दिए ।
        मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहलाई सम्वोदन गर्दै मेयर केसीले जिल्लामा रहेका हरेक सहकारीहरुले एक एक ओटा सामाजिक कार्य गर्ने हो भने पनि विकास निर्माण सम्वन्धि धेरै कामहरु हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले सहकारीहरुमार्फत सामाजिक कार्यहरु गरिने प्रचलन बढेकोले हरेक सहकारीले आफ्नो हैसियत अनुसार सामाजिक कार्य गर्दा सबैलाई भलो हुने बताए ।

Tuesday, August 22, 2017

वन संरक्षण शिक्षा पढ्दै दोलखा सहित ३ जिल्लाका २ हजार विद्यार्थी

 रवीन्द्र गौतम । दोलखा

भदौ ७, दोलखा । गौरीशंकर संरक्षण क्षेत्र लागू भएका दोलखा सहित ३ जिल्लाका २ हजार विद्यार्थीहरुले वन संरक्षण शिक्षा अध्ययन गर्दै आईरहेका छन् ।
        दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका २२ माध्यमिक विद्यालयहरुमा चालु शैक्षिक सत्रमा करिब २ हजार विद्यार्थीहरुले संरक्षण शिक्षा अध्ययन गर्दै आइरहेका हुन् । सानै उमेरदेखि वन संरक्षण, सम्वद्र्धन र उपयोगका बारेमा जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्षेत्रभित्रका २२ विद्यालयहरुमा अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा लागू गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप)का प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।
       दोलखा जिल्लाको १४, सिन्धुपाल्चोक जिल्लाको ५ र रामेछाप जिल्लाको ३ ओटा गरी २२ ओटा विद्यालयले सरकारको नियमित पाठ्यक्रमभन्दा अतिरिक्त शिक्षाको रुपमा आफ्नो विद्यालयको कक्षा ६, ७ र ८ मा अध्यापन गराउने गरेको जीक्यापका प्रमुख शाहले जानकारी दिए । जीक्यापको तथ्याङ्कअनुसार कक्षा–६ मा एकहजार ३३, कक्षा–७ मा ५ सय ५० र कक्षा–८ मा ४ सय २० गरी कूल करिब २ हजार विद्यार्थीहरुले अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा अध्ययन गर्ने गरेका छन् ।
       संरक्षण शिक्षाको लागि पाठ्यक्रम विकास केन्द्र भक्तपुरको समन्वयमा जीक्यापको आफ्नै खर्चमा पाठ्यक्रम विकास गरि सम्वन्धित विद्यालयका विद्यार्थीहरुलाई निशुल्क वितरण गर्ने गरेको जनाएको छ । संरक्षण शिक्षा सहायता कार्यक्रममार्फत अध्यापन गराईने संरक्षण शिक्षाको पाठ्यभार बार्षिक २० घण्टी रहेको जीक्यापले जनाएको छ । सरकारले लागू गरेको ८ सय पूर्णाङ्कभन्दा अतिरिक्त शिक्षाको रुपमा सबैभन्दा पहिला हामीले संरक्षण शिक्षा अध्यापन सुरु गरेको उत्तरी दोलखास्थित शान्तिआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडा बस्नेतले जनाए ।
       ३ चरणको परीक्षामध्ये ५० पूर्णाङ्क निर्धारण गरी बार्षिक परीक्षा सञ्चालन हुने गरेको छ भने बार्षिक परीक्षाको लागि आफ्नै खर्चमा प्रश्नपत्र छपाई गरेर विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख शाहले जनाएका छन् । संरक्षण शिक्षा अध्यापन गराउने शिक्षकको लागि मसलन्द सहित रु. २० हजार, ग्रीन फोर्स बालक्लबको लागि बार्षिक रु. १० हजार र छात्रवृत्तिको लागि रु. १० हजार गरी बार्षिक रु. ४० हजार पनि विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख शाहले जानकारी दिए । साथै विद्यालयको आवश्यकतअनुसार अन्य शैक्षिक सामग्री, आंशिक मर्मत, शौचालय निर्माण र सामान्य फर्निचर समेत उपलब्ध गराउने गरेको जीक्यापले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको साविकका विभिन्न २२ गाविसको वन क्षेत्र समेटेर २०६७ सालबाट गौरीशंकर संरक्षण क्षेत्र लागू भएको थियो ।

Saturday, August 19, 2017

अर्थभूमीले पु¥यायो छोटो समयमा साढे १३ करोड पूँजी


रवीन्द्र गौतम । दोलखा

भदौ ३, दोलखा । सदरमुकाम चरिकोटमा केही वर्ष अघि मात्र स्थापना भएर छोटो समयमा ख्याती कमाउँदै अर्थभूमी बचत तथा ऋण सहकारी संस्थाले साढे १३ करोड पूँजी पु¥याएको छ ।
       एकिकरण पछिको दोस्रो साधारणको आयोजना गरेको अर्थभूमी साकोसले स्थापनाको करिब आधादशकमा नै १३ करोड ५४ लाख कूल पूँजी पु¥याएको हो । २ वर्षअघि केही सहकारीहरु अर्थभूमीमा समाहित भए पछि आर्थिक रुपमा सबल भन्दै गएको अर्थभूमी सहकारीको सेयर पूँजी रु. १ करोड ७८ लाख ९ हजार ३ सय रहेको कार्यसमिति सदस्य मुरारि दुलालले जानकारी दिए ।
      महिला ९ सय ३९ पुरुष १२ सय ५६ र बाल सदस्य ३ सय ३१ गरी कूल २५ सय २६ सदस्य  रहेको सहकारीलाई ७ जना कर्मचारीहरुले प्रत्यक्ष सञ्चालन गरिरहेको सदस्य दुलालले जानकारी दिए । आर्थिक वर्ष २०७३÷०७४ मा कूल रु. १ करोड ४२ लाख ११ हजार ३ सय ९१ आम्दानी गरेकोमा बचतमा व्याज भुक्तानी सहित १ करोड २१ लाख ३१ हजार ८७ खर्च गरेर कूल रु. २० लाख ८० हजार नाफा कमाएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Friday, August 18, 2017

खोलाले बगाउँदा दोलखामा एक बृद्धको मृत्यु

रवीन्द्र गौतम । दोलखा

भदौ २, दोलखा । उत्तरी दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पास्थित थाङ्ने खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।
        भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पा निवासी बिच्छीकुमार थामीकी करिब ८० बर्षिय आमा पञ्चमाया थामीलाई थाङ्ने खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जनाएका छन् ।
         खोलाले बगाएर करिब २०० मिटर तल पु¥याएको अवस्थामा थामीको शव बरामद गरिएको प्रहरीले जनाएको छ । थामीको शवलाई पोष्टमार्टमको लागि चरिकोट ल्याईएको डिएसपी कार्कीले जानकारी दिए ।

Tuesday, August 15, 2017

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा मिति फेरि सा¥यो


साउन ३१, चरिकोट । देशको विषय परिस्थितिलाई मध्य नजर गरी शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा मिति दोस्रोपटक पनि सारेको छ ।
    शिक्षक सेवा आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै २०७३ चैत १९ गते प्रकाशित प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह परिक्षा कार्यक्रम २०७४ भदौ ३ गते तोकिएकोमा केही दिनदेखि पर्न गएको अविरल वर्षाको कारणले मुलुकका केही भागहरुमा असहज अवस्था सृजना भएको कारण जनाउँदै अस्थायी शिक्षकको परिक्षा मिति दोस्रो पटक पनि सारेको हो । यसअघि २०७४ असार २४ मा गर्ने भनिएको परिक्षा स्थानीय तहको निर्वाचनको कारणले २०७४ भदौ ३ गतेलाई सरिएको थियो ।
    आयोगद्वारा जारी विज्ञप्तीअनुसार ‘कतिपय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको र परीक्षार्थीहरु समेत परीक्षा केन्द्रसम्म आवतजावत गर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त परीक्षा मिति २०७४ भाद्र १० गते शनिबार बिहान ११ बजे पूर्व घोषित परीक्षा केन्द्रमा नै हुने गरी संशोधन गरिएको’ उल्लेख छ । आयोगले यसबाट परीक्षामा सम्मिलित हुन परीक्षा केन्द्रसम्म पुगेका वा पुग्दै गरेका परीक्षार्थीहरुलाई पर्न गएको असुविधाको लागि दुःख समेत व्यक्त गरेको छ ।

Wednesday, August 9, 2017

जिसस दोलखाको बैठकले थपेन २० कर्मचारीको म्याद, पद नहुँदा ३ कर्मचारीको समायोजन अन्योल


रवीन्द्र गौतम । दोलखा

साउन २५, दोलखा । स्थानीय तहको निर्वाचन भए पछि म्याद थपिने भरोसा गरेर बसेका २० कर्मचारीको म्याद जिल्ला समन्वय समिति (जिसस) गठन पछिको पहिलो बैठकले पनि नथप्दा कर्मचारीहरु अन्योलमा परेका छन् भने समायोजन योग्य पद नहुँदा ३ कर्मचारीहरु अन्योलमा परेका छन् ।
       
        बर्षौदेखि साविकको जिविसमा कार्यरत २० कर्मचारीहरुको आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि म्याद थप नभएर अन्यौलग्रस्त रहेको अवस्थामा जिसस गठनपछि पनि निर्णय हुन नसक्दा कर्मचारीहरु झन अन्यौलमा परेका हुन् । म्याद थप नभएका कर्मचारीहरुमा स्थानीय विकास कोषतर्फका ८ जना, प्राविधिकहरु ७ जना, कार्यालय सहायक ४ जना र सवारी चालक १ जना गरी २० जना रहेका जिसस दोलखाका प्रशासन शाखाका मुनहरि थापाले जानकारी दिए ।
       म्याद नथपिए पनि कर्मचारीहरु कार्यालय भने आईरहेको जिसस प्रशासनले जनाएको छ । सहमति लिएर गाउँपालिका र नगरपालिका खटिएका प्राविधिकहरु पनि कार्यालय तथा फिल्डमा खटिएको विभिन्न पालिकाहरुले जनाएका छन् । बजेटको सिलिङ र जिससको कर्मचारीगत खाका सम्वन्धित मन्त्रालयबाट नआई पुगेको कारण म्याद थप र समायोजन हुन नसकेको जिसस स्रोतले बताएको छ ।
स्थानीय विकास अधिकारी शंकर नेपालले जिसस गठन पछि म्याद थप गरिने मौखिक जानकारी दिए पनि मंगलबार गठित जिससको बैठकले २० कर्मचारीहरुको म्याद थप बारे कुनै पनि निर्णय गरेको छैन । साविकको जिविसका बरिष्ठ आन्तरिक लेखापरिक्षक जगदिश अर्याल, बरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेढाईं र बरिष्ठ सूचना अधिकृत विक्रम कार्की गरी ३ जनाको समायोजन योग्य पद जिल्लाका कुनै पनि नगरपालिका र गाउँपालिकामा नहुँदा उनीहरु अन्योलमा परेका हुन् ।

Tuesday, August 8, 2017

उत्तरपुस्तिका च्यातिएको घटनाले जिरी प्राविधिक शिक्षालयमा झडप, २ विद्यार्थी घाइते, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रवीन्द्र गौतम । दोलखा

साउन २४, दोलखा । परिक्षकले उत्तरपुस्तिका च्यातिदिएको निहुँमा दोलखाको पूर्वी जिरी प्राविधिक शिक्षालयमा भएको झडपमा २ विद्यार्थी घाइते भएका छन् । भीड नियन्त्रण र तालाबन्दी रोक्न प्रहरीद्वारा केही सेल अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
     मंगलबार कृषि विज्ञानको डिप्लोमा तह प्रथम बर्षको परिक्षामा सहभागी भएका रामकृष्ण भण्डारीको उत्तरपुस्तिका बाह्य सुपरिवेक्षक गोविन्द गौतमले च्यातिदिए पछि उत्पन्न विवादका कारण भएको झडपमा विनोद खड्का र रोशन अधिकारी घाइते भएका हुन् । अरुसँग खोसिएको चिट मेरो कपीमा टाँस्न खोजेपछि नटाँस्न अनुरोध गर्दा बाह्य सुपरिवेक्षक गौतमले कपि खोस्ने क्रममा च्यातिएको पीडित विद्यार्थी रामकृष्ण भण्डारीले बताए । ‘परिक्षा हलमा गोविन्द सरले अश्लिल शब्द बोल्दै रामकृष्ण दाईको कपि च्यातिदिनुभयो ।’ प्रत्यक्षदर्शी विद्यार्थी प्रजिना श्रेष्ठले बताइन् ।
         मंगलबार विहान ७ बजेबाट सुरु भएको परिक्षा लगत्तै उत्तरपुस्तिका च्यातिए पछि पुन परिक्षा दिन पाउनु पर्ने विषयमा छलफल हुँदा प्राविधिक शिक्षा तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी)ले जिरी प्राविधिक शिक्षालय प्रशासनमा निवेदन दिन भनेपछि निवेदन दर्ता गराउन जाँदा प्रहरीले प्रशासनमा पस्न नदिँदा झडप भएको विद्यार्थी सुमन श्रेष्ठले जानकारी दिए ।
        झडप भए पछि शिक्षालयको विरोधमा निस्किएको करिब २ सय विद्यार्थीहरुको जुलुस फेरी शिक्षालयमा तालावन्दी गर्न जाँदा प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

Monday, August 7, 2017

जिसस दोलखाको प्रमुखमा तामाङ र पाण्डे भिड्दै

रवीन्द्र गौतम । दोलखा

साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा कुमार तामाङ (औतारी) र डबल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
       मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट तामाङ र नेकपा एमालेको तर्फबाट पाण्डेले प्रमुखमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय तहमा निर्वाचितहरुमध्येबाट उम्मेदवारी दर्ता गराउन पाइने कानुनअनुसार प्रमुखमा तामाङ र पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
      प्रमुख सहित नेपाली काँग्रेसबाट ५ जना र  उपप्रमुख सहित माओवादी केन्द्रबाट ४ जना गरी ९ जनाको उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । नेपाली काँग्रेसको तर्फबाट सदस्यमा चरित्रकृष्ण जोशी, दलित महिला सदस्यमा कमला खाती कामी, महिला सदस्यमा सर्मिला नेपाली र सन्तोषी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रबाट उपप्रमुखमा दिपेन्द्र बुढाथोकी, सदस्यमा भोजबहादुर महत र इराज घिमिरे, महिला सदस्यमा विष्णुमाया कमिनिले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
    २ नगरपालिका सहित ७ पालिकामा विजयी भएको एमाले भने एक्लै निर्वाचनमा उत्रिएको छ । निकै रस्साकस्सी विच जिल्ला समन्वय समितिको प्रमुखमा टिकट पाएका डबल पाण्डे प्रमुख र मनमाया जिरेल उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट सदस्यमा विदुर शर्मा, जितबहादुर श्रेष्ठ, मुरारिराज शिवाकोटी र महिला सदस्यमा आइति तमाङ, गिता पोखरेल, कमलकुमारी कार्की तथा दलित सदस्यमा युवराज घतानीले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

Sunday, August 6, 2017

काँग्रेसबाट जिसस दोलखाको संयोजकमा कुमार तामाङ (औतारी)लाई उम्मेदवार


रवीन्द्र गौतम । दोलखा

साउन २३, दोलखा । नेपाली काँग्रेस दोलखाले बैतेश्वर गाउँपालिका–७, नाम्दुका कुमार तामाङ (औतारी)लाई जिल्ला समन्वय समिति दोलखाको संयोजकमा पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
        जिल्ला समन्वय समिति दोलखाको संयोजक पदमा आउँदो मंगलबार हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट तामाङले उम्मेदवारी दिने काँग्रेस दोलखाले निर्णय गरेको हो । प्रजातान्त्रिक मान्यता अनुरुप निर्वाचनमा भाग लिनु काँग्रेसको सिद्धान्त भएको कारण जिससमा उम्मेदवारी दिने निर्णय गरिएको नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले बताए ।
       बाँकी पदहरुमा भने माओवादी केन्द्रसँग छलफल गरी उम्मेदवारी दिइने काँग्रेस दोलखाका सभापति खड्काले बताए । यस अघि नै नेकपा एमालेले जिल्ला संयोजक पदमा डबल पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Saturday, August 5, 2017

यस्तो छ भित्री रहस्य कालिञ्चोक चौंरी महोत्सव आयोजनाको

रवीन्द्र गौतम । दोलखा

साउन २१, दोलखा । पछिल्लो एकहप्तादेखि विवाद सुरु भएको कालिञ्चोक चौंरी महोत्सवको भित्री उद्देश्य छताछुल्ल भए पछि विभिन्न रहस्यहरु सार्वजनिक हुन थालेका छन् ।
       कालिञ्चोक गाउँपालिकाले आयोजना गर्ने भनिएको कालिञ्चोक चौंरी महोत्सव पछिल्लो समय साविकको लापिलाङ गाविस हाल कालिञ्चोक गाउँपालिका वडा नं. ६ ले आयोजना गर्ने भनिए पछि सुरु भएको विवादको रहस्यहरु सार्वजनिक हुन थालेका हुन् । कालिञ्चोक चौंरी महोत्सव जसका लागि आयोजना गरिएको उनीहरुनै आयोजकसँग रुष्ट भएर महोत्सव बहिष्कारको लिखित घोषणा समेत गरिसकेका छन् । बहिष्कार गर्ने ८ चौंरी व्यवसायीहरुले आफूसँग भएको १ सय ४० चौंरी, ६ ओटा याक, ५ ओटा जोक्पे र ५० भन्दा बढि भेडाहरुलाई महोत्सवमा सहभागी नगराउने लिखित चेतावनी दिएका छन् । ति बाहेक ३ गोठका करिब ४० ओटा मात्र चौंरीहरु महोत्सवमा सहभागी हुन सक्ने आँकलन गरिएको छ ।
      स्रोत भन्छ, ‘भूभाग विवादलाई चौंरी महोत्सवमार्फत समाधान गरी कालिञ्चोक आसपासका सम्पूर्ण प्राकृतिक र धार्मिक स्रोत तथा जमिनलाई साविकको लापिलाङ गाविसको वनाउने भित्री उद्देश्यलाई प्रमाणित गर्न गाउँपालिका प्रमुखदेखि भूमाफियासम्मको चलखेल देखिन्छ ।’
        कालिञ्चोक गाउँपालिका सम्वद्ध स्रोतकाअनुसार साविकको सुन्द्रावती, लापिलाङ र कालिञ्चोक गाविस विच रहँदै आएको भूभाग विवादलाई महोत्सवमार्फत आफ्नो पक्षमा पार्न कालिञ्चोक गाउँपालिकाका अध्यक्षको गृह वडा लापिलाङलाई आयोजक बनाउनुलाई झन रहस्यमय ठानिएको हो ।
     जिल्ला प्रशासन कार्यालय दोलखा र साविकको जिल्ला विकास समिति लगायत अन्य सरकारी कार्यालयहरुले कालिञ्चोक क्षेत्रलाई साविकको कालिञ्चोक गाविसको भूभागको रुपमा प्रमाणिकरण गर्दै आईरहेकोमा महोत्सवको आयोजना पछि सो क्षेत्र लापिलाङ गाविसको बनाउन नैतिक दवावको लागि आयोजक नै परिवर्तन समेत गरिएको छ । स्रोतका अनुसार, कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको र वडा नं. ६ मा एमालेका उम्मेदवार विजयी भएको कारण आयोजक नै परिर्वतन गरिएको हो ।

Wednesday, July 19, 2017

दोलखामा साढे १३ करोडको पशुबीमा


रवीन्द्र गौतम । दोलखा

साउन ४, दोलखा । आर्थिक वर्ष २०७३÷०७४ मा दोलखामा निर्जिवन बिमाअन्र्तगत साढे १३ करोडको पशुबीमा भएको जिल्ला पशु सेवा कार्यालय दोलखाले जनाएको छ ।
         भुकम्पको कारण जिल्लाको करिव २० हजार पशु पंक्षिको क्षति भए पछि साँवा नै गुमाउन पुगेका पशुपालकहरुको निर्जिवन बिमामा चेतना अभिवृद्धि भएसँगै आर्थिक वर्ष २०७३÷०७४ मा साढे १३ करोडको पशुबीमा गराएको पशु सेवा कार्यालयले जनाएको हो । आर्थिक वर्षको अन्त्य सम्ममा ६ हजार ७ सय ६२ ओटा पशुको रु. १३ करोड ६४ लाख ५१ हजार बराबरको बिमा गरिएको जिल्ला पशु सेवा कार्यालय दोलखाका बरिष्ठ पशु विकास अधिकृत डा.ज्ञानबहादुर थापाले जानकारी दिए ।
           बिमा बारे भुकम्प अघि चासो नै नराख्ने पशुपालकहरुले पछिल्लो समय पशुबीमातर्फ चेतना वृद्धिसँगै बिमा कार्यक्रममा आकषण बढेको प्रमुख डा. थापाले बताए । जिल्लामा सबैभन्दा बढि बाख्रा ४ हजार १ सय ९२ र सबैभन्दा कम बंगुर २ सय २० ओटाको बिमा गरिएको कार्यालय प्रमुख डा. थापाले जानकारी दिए ।
           दोलखा जिल्लामा पशुबीमा गर्दै आएको प्रिमिएर इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाबाट बाख्रा ४ हजार १ सय ९२, गाई ५ सय ९०, भैंसी ३ सय ९५, चौंरी १ हजार २५, भेडा ३ सय ४०,  र बंगुर २ सय २० ओटाको बिमा गरिएको पशु सेवा कार्यालय दोलखाले जनाएको छ । कृषकहरु उत्साहित भएर होला दैनिक १०÷१२ जना बिमा बारे बुझ्न र विमा गर्न आउने गरेको प्रमुख डा. थापाले जनाए । सरकारले निर्जिवन विमाअन्र्तगत पशुबीमा गरिएमा प्रत्येक पशुबीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने नीतिको कारण पनि पशुबीमाको संख्यामा वृद्धि भएको कार्यालयको ठम्याई रहेको छ ।

Tuesday, July 18, 2017

दोलखामा जग्गाको मूल्य ३० प्रतिशतसम्म बढ्यो (हेर्नुहोस बृद्धिदर)


रवीन्द्र गौतम । दोलखा

साउन ३, दोलखा । नयाँ स्थानीय तहको निर्वाचन पछि दोलखा जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ को लागि जग्गाको रजिष्ट्रेसन मूल्य ३० प्रतिशतसम्म बढाईएको छ ।
          मालपोत कार्यालय दोलखा २०७४ असार ३० गते बसेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७४÷०७५ को लागि जिल्लामा नवस्थापित २ नगरपालिका

Saturday, July 15, 2017

रणभीम गण चरिकोटले मनायो २३५ औं स्थापना दिवस

रवीन्द्र गौतम । दोलखा

असार ३१, चरिकोट । नेपाली सेना रणभीम गण चरिकोटले आफ्नो स्थापनाको २३५ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
            २०७२ असार २३ गतेदेखि दोलखा जिल्लामा क्रियाशिल रणभीम गण चरिकोटले विभिन्न सामाजिक कार्य एवम् कार्यक्रम सञ्चालन गरी शुक्रबार चरिकोटमा २३५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसका प्रमुख अतिथि पश्चिमी पृतनापति उपरथी (कर्णेल कमाण्डान्ट) जगदिशचन्द्र पोखरेलले केक काटेर कार्यक्रम सुरु गरेका थिए ।
         स्थापना दिवसको अवसरमा जिल्लाको भीमेश्वर मन्दिर, पशुपतिनाथ मन्दिर, कालिञ्चोक मन्दिर लगायतको सरसफाई गर्नुका साथै कालिञ्चोक मन्दिर जाने पैदलमार्ग समेत मर्मत गरेको रणभीम गण चरिकोटले जनाएको छ ।
     स्थापना दिवसको अवसरमा आयोजित साँगितिक कार्यक्रममा अन्तर गुल्म प्रतियोगितात्मक क्रियाकलापहरुमा रणभीम गणको ‘ख’ गुल् प्रथम भएकोमा सेनानी सन्तोष थापा पुरस्कार ग्रहन गर्नुका साथै, वर्षको उत्कृष्ट सिपाहीमा रोशन खत्री, उत्कृष्ठ पत्रकारमा इमेज टेलिभिजन, आर्थिक अभियान दैनिक एवम रेडियो भीमेश्वर ९०.८ मेगाहर्जका स्टेशन म्यानेजर रवीन्द्र गौतम र एनसीसी क्याडेटको तालिममा सहजिकरण गरेवापत कालिञ्चोक मावि चरिकोटका प्राचार्य नवराज न्यौपानेलाई सम्मानित गरिएको रणभीम गण चरिकोटका गणपति कर्णेल झविन्द्र रेश्मीमगरले जानकारी दिए ।
         निम्फा चरिकोटको प्रस्तुती रहेको सांगितिक कार्यक्रममा छिमेकी रामेछापस्थित अन्य गणका गणपति लगायत रणभीम गणका सकल दर्जाका सेनाका साथै जिल्लास्थिति सरकारी कार्यालयहरुको कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Thursday, July 13, 2017

दोलखा उद्योग वाणिज्य संघ आलुको रिब्राण्डिङ गर्दै


रवीन्द्र गौतम । दोलखा

असार ३०, दोलखा । उद्योग वाणिज्य संघ दोलखाले आगामी आर्थिक वर्षदेखि दोलखा जिल्लामा उत्पादित आलुको पहिचान र गुणस्तरका लागि आलुको रिब्राण्डिङ गर्ने भएको छ ।
      दोलखा उद्योग वाणिज्य संघ चरिकोटको संयोजकत्वमा सञ्चालन हुने ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममार्फत दोलखा जिल्लामा उत्पादन हुने आलुको रिब्राण्डिङ गर्ने भएको हो । कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहकार्य तथा दोलखा उद्योग वाणिज्य संघ चरिकोटको संयोजकत्वमा ५ वर्षसम्म सञ्चालन हुने ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सुरु भएको दोलखा उद्योग वाणिज्य संघ चरिकोटका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए ।
       आर्थिक वर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालय दोलखाले जिल्लामा उत्पादन हुने आलुको ब्राण्डिङ गरेको थियो । तर त्यसले निरन्तरता नपाउँदा जिल्लाका कृषकहरु मारमा परेको गुनासो सुनिन थालेको थियो । दोलखा उद्योग वाणिज्य संघ चरिकोटले पहिलो चरणमा गौरीशंकर, शैलुङ र विगु गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने आलुलाई रिब्राण्डिङ गर्ने योजना रहेको अध्यक्ष कार्कीले जनाए ।
         दोलखा जिल्लामा उत्पादन हुने आलु गुणस्तरिय र अर्गानिक हुने भएकोले स्वास्थ्यको दृष्टिकोणबाट समेत व्यापकता दिन कोल्ड स्टोर निर्माण, ब्राण्डिङ प्रमोसन, उद्योग स्थापना, मल विउ, औजार वितरण गर्ने योजना रहेको अध्यक्ष कार्कीले जनाए । योजना तर्जुमा कार्य भईरहेको र त्यसको लागि रु. ४ लाख ४० हजार विनियोजन गरिएको उनले जनाए ।

Wednesday, July 12, 2017

दोलखामा पनि मानव वेचविखन तथा ओसारपसारको घटना, ३ जना पक्राउ

 
रवीन्द्र गौतम । दोलखा

असार २९, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्राउ गरेको छ ।
          चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार कार्य बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं. ३, चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अन्य २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका अन्य २ जना तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पोखरेल रहेका छन् । पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
        मानव किन्ने वा बेच्ने कसुर गरेमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तथा फाइदा लिइ वा नलिई वेश्यावृत्तिमा लगाएमा कसुरको मात्रा हेरी १० देखि १५ वर्षसम्म जरिवाना र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा व्यवस्था भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

Tuesday, July 11, 2017

मानव अधिकारकर्मी होम पाठक सम्मानित

असार २८, चरिकोट । मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाका अध्यक्ष तथा मानव अधिकारकर्मी होम पाठक सम्मानित भएका छन् ।
          दुई दशकभन्दा अघिदेखि दोलखा जिल्लामा रहेर अनवरत रुपमा मानव अधिकारको क्षेत्रमा कार्यरत पाठकलाई नेपाल मानव अधिकार संगठन दोलखा जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । संगठनको जिल्ला शाखाले आयोजना गरेको एक दिने मानव अधिकार प्रशिक्षण कार्यक्रमको अवसरमा पाठकलाई सम्मान गरेको हो ।
            कार्यक्रमका प्रमुख अतिथि एवम् भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले पाठकलाई सम्मान पत्र प्रदान गरेका थिए । सशस्त्र द्धन्द्ध लगायत २०६२÷६३ को जनआन्दोलनको समयमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको नेपाल मानव अधिकार संगठन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले बताए ।
           कार्यक्रममा सम्मान ग्रहण गर्दै पाठकले मानव अधिकारको सवालमा सबै पक्ष एकजुट भएर पैरवी गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल मानव अधिकार संगठनका गोविन्दप्रसाद ढकाल, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा, महिला अधिकारकर्मी सिर्जना कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्लीन जिरी ः ग्रीन जिरीको प्रस्ताव सहित जिरीको नगर सभा सम्पन्न

रवीन्द्र गौतम । दोलखा

असार २७, जिरी । पूर्वी दोलखाको जिरी नगरपालिकालाई क्लीन जिरी ः ग्रीन जिरी बनाउने योजना सहित जिरी नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । नगरपालिकाकाले ‘क्लीन जिरी ः ग्रीन जिरी’को नारालाई व्यवहारमा उतार्न जिरी नगरलाई प्लाष्टिक रहित अर्गानिक जिरीको रुपमा पहिचान स्थापित गर्ने कार्यक्रम अघि सारेको छ ।
           जिरी नगरपालिकाको मंगलबार सम्पन्न नगर सभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले आगामी आर्थिक बर्षका लागि लागि कूल रु. २४ करोड ९७ लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा पूँजीगत तर्फ रु. १३ करोड, चालु तर्फ रु. २ करोड ६७ लाख ७० हजार र सशर्त अनुदान तर्फ रु. ९ करोड ३० लाख २ हजार रहेको छ । नगर सभामा चालु आर्थिक बर्षका लागि पूँजिगत तर्फ रु. ६ करोड ७५ लाख ५७ हजार र चालु खर्चतर्फ रु. ९१ लाख गरी कूल रु. ७ करोड ६६ लाख ५७ हजार बराबरको संशोधित बजेट पेश गरिएको छ ।
            नगरपालिकाले आन्तरिक आम्दानी तर्फ ५१ लाख ७० हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जस अनुसार आन्तरिक कर तथा राजस्व ८ लाख र राजस्व बाँडफाँड तथा रजिष्ट्रेशन दस्तुरवाट ८ लाख तथा नेपाल सरकारवाट २४ करोड ३० लाख २ हजार अनुदान प्राप्त हुने अनुमान छ । जिरी नगरपालिकाले पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, घरेलु उद्यममा जोड दिएर कार्यक्रम ल्याएको छ ।
             जिरी नगरपालिकाले कृषी, पर्यटन प्रवद्र्धन, भौतिक निर्माण तथा पूर्वाधार विकासका अलावा, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन तथा संस्थागत विकासलाई पनि प्राथमिकतामा राखेको छ । जिरीले पर्यटन प्रवद्र्धनमार्फत नगरवासीको आयआर्जन बृद्धि गर्ने नीति लिएको छ । जस अनुसार होम स्टे, धार्मिक स्थलको विकास, प्याराग्लाईडिङ, हाईकिङ तथा ट्रेकिङ रुट स्थापनाको सम्भाव्यता अध्ययन गर्ने योजना छ । जिरी नगरपालिकाले जिरी एयरपोर्टको निर्माण तथा सञ्चालन, शीत भण्डारकेन्द्र निर्माण, खावाडाँडामा पर्यटन सुचना केन्द्र स्थापना, भ्यु टावर निर्माण लगाएतको योजना पनि अघि सारेको छ । नगरपालिकाले जिरी, चेर्दुङ, जटापोखरी तथा च्छोरोल्पा ट्रेकिङ रुट निर्माण गर्ने लक्ष्य लिएको छ । पर्यटकीय नगरी जिरीको हनुमन्तेडाँडामा हनुमानको मूर्ति निर्माणका लागि सार्वजनिक नीजि साझेदार तथा निजी लगानीमैत्री वातावरण सिर्जना गर्ने नगरपालिकाको योजना छ ।
            सभालाई सम्बोधन गर्दै जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलले जिरीलाई नेपालकै नमुना पर्यटकीय नगर बनाउने उद्ध्घोष गर्नुभएको छ । उहाँले आफ्नो ५ बर्षे कार्यकालमा पर्यटनका लागि आवश्यक पुर्वाधार निर्माण गरिसकेर जिरीलाई स्वदेशी तथा बिदेशी पर्यटकको रोजाईको नगर बनाउने बताउनुभयो ।

Tuesday, June 20, 2017

यसरी ढिला हुँदैछ माथिल्लो तामाकोशी शेयर

रवीन्द्र गौतम । दोलखा

असार ७, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने मिति नजिकिँदै गए पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर जारी गर्न थप ढिलाइ भएको छ । नयाँ स्थानीय तहअनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाइ हुँदा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले दोलखावासीलाई शेयर जारी गर्न नसकेको हो ।
          दोलखावासीले जारी पूँजीको १० प्रतिशत शेयर पाउने गरी कम्पनीको शेयर संरचना बनेको वर्षौं  भइसकेको छ । जिल्ला समन्वय समितिले शेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत वितरण गर्ने व्यवस्था छ । स्थानीय बासिन्दाले पाउने शेयर वितरणमा ढिलाइ भएसँगै अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत वितरणसमेत थप पछि धकेलिएको छ ।  
           हाल आयोजनाको निर्माण करीब ८९ प्रतिशत सम्पन्न भइसकेको छ । विनाशकारी भूकम्पका कारणले रोकिएको माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुनै लाग्दासमेत शेयर वितरण हुन नसक्दा २ वर्षदेखि लगानीका लागि रकम जोहो गरेर बसेका स्थानीय बासिन्दा अन्योलमा परेका छन् । नयाँ जिल्ला समन्वय समितिले निर्णय लिनुपर्ने व्यवस्था भए पनि सो समितिको निर्वाचन हुन नसक्दा शेयर वितरणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । 
         शेयर वितरणमा ढिलाइ हुँदा कम्पनीको पूँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापन नै प्रभावित भएको प्रवक्ता न्यौपानेको भनाइ छ । ‘शेयरको रकम पूर्वअनुमानित समयमा सङ्कलनमा हुन नसक्दा आयोजनाले ठेकेदारलाई भुक्तानी दिन समस्या परेको छ,’ न्यौपाने भन्छन् । आयोजना निर्माण सम्पन्न गर्न लागत बढेर करीब ४१ अर्ब लाग्ने अनुमान गरिएकोमा १ अर्ब २० करोड ३० लाख दोलखा जिल्लावासीबाट सङ्कलन गर्नुपर्ने हुन्छ ।
        स्थानीय तहअन्तर्गत गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन जेठ २३ गते सम्पन्न भएको मितिले १ महीनाभित्र जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने भए पनि थप २ साता बितिसक्दासमेत निर्वाचन हुन सकेको छैन ।
         ‘निर्वाचन आयोगले चासो नदेखाउँदा माथिल्लो तामाकोशीको शेयर वितरणमा ढिलाइ भइरहेको हो,’ एक स्थानीयले भने । यसअघि आयोजनाको शेयर वितरण गर्ने प्रयोजनका लागि जिल्लावासीको तथ्याङ्क सङ्कलन गरी विश्लेषणसमेत भइसकेको थियो । कानूनले स्थानीय भनेर स्पष्ट पारेको र थप पहिचानको टुङ्गो लागेकाहरूले जिल्लावासीको हैसियतले शेयरमा लगानी गर्न सक्ने निर्णय पनि यसअघि नै भएको थियो ।
         साविकको लामाबगर गाविसका बाहेक अन्य दोलखालीले प्रतिव्यक्ति समान करीब ७० कित्ता शेयर खरीद गर्न पाउने गरी यसअघि निर्णय भएको आयोजनाले बताएको छ । आयोजनाप्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशत स्थानीय शेयर करीब १ करोड २५ लाख कित्ता हुन आउँछ । देशभित्र र बाहिर गरी अधिकतम २ लाख २० हजार दोलखाली भएको अनुमान गरिएको छ । आयोजनाको जारी पूँजी रू. ११ अर्ब भएकाले कुल शेयर कित्ता ११ करोड रहेको छ ।

दोलखाली भुकम्पपीडितले पाउने भए २ सय १४ ओटा ट्याक्सी नम्बर


रवीन्द्र गौतम । दोलखा

असार ६, दोलखा । भूकम्पबाट अतिप्रभावित भएको दोलखा जिल्लाका भुकम्पपीडितहरुले २ सय १४ ओटा ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् ।
            ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट असार ८ गते विहिबार गोला प्रथामार्फत दोलखाका २ सय १४ जना भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाउने भएका हुन् । आवेदकमध्येबाट भाग्यसाली २ सय १४ जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । सार्वजनिक रुपमा गोलाप्रथा गरि टिभीमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
             गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म २१ हजार ३ सय ४४ दोलखाली भूकम्पपीडितले ट्याक्सीको नयाँ नम्बर प्लेटको लागि आवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ ।
             सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो । निर्वाचान आचारसंहिताका कारण पटक–पटक गर्ने भनिएको गोलाप्रथा स्थगित भएको थियो ।

Sunday, June 18, 2017

सिपार्डद्वारा दोलखाका अपाङ्ग, दलितका संस्थालाई कम्प्युटर प्रदान

रवीन्द्र गौतम । दोलखा

असार ५, दोलखा । सिपार्ड नेपाल नामक गैरसरकारी संस्थाले जिल्लामा क्रियाशिल अपाङ्ग, महिला, दलित तथा द्वन्द्व पीडितहरुसँग सम्वन्धित ५ ओटा संघसंस्थाहरुलाई कम्प्युटर लगायतका सामग्री निशुल्क वितरण गरेको छ ।
           प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सिपार्ड नेपालद्वारा दोलखा जिल्लामा सञ्चालित अपाङ्गता भएका बालबालिका तथा दलित किशोरीहरुको शिक्षामा पहुँच परियोजनाको हामी सँगसँगैले जिल्लामा क्रियाशिल अपाङ्ग, महिला, दलित तथा द्वन्द्व पीडितहरुसँग सम्वन्धित ५ ओटा संघसंस्थाहरुलाई कम्प्युटर लगायतका सामग्री निशुल्क वितरण गरेको हो ।
           सिपार्डले हामी सँगसँगै कार्यक्रममार्फत करिब रु. ३ लाख ५० हजार बराबरको कम्प्युटर सेट, युपिएस, टेवलकुर्सी लगायतको सामान निशुल्क वितरण गरिएको सिपार्डका कार्यक्रम संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।
           नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दोलखालाई कम्प्युटर सेट, युपिएस, टेबल कुर्सी, दलित महिला संघ दोलखालाई प्रिन्टर र टेबल कुर्सी, अपाङ्ग तथा दृष्टीविहीन संघ दोलखालाई कम्प्युटर सेट युपिएस टेबल, अपाङ्ग लेखाजोखा केन्द्रलाई कम्प्युटर सेट युपिएस टेबल र द्वन्द्वपीडित अपाङ्ग समन्वय समिति दोलखालाई कम्प्युटर सेट टेबल वितरण गरिएको सिपार्ड नेपालका लेखा अधिकृत इश्वर जोशीले जानकारी दिए ।

Saturday, June 17, 2017

प्रतिवन्धित ड्रोन उडाएका मलेसियन नागरिक दोलखामा पक्राउ

रवीन्द्र गौतम । दोलखा

असार ४, दोलखा । नेपालको कानुनले प्रतिवन्ध लगाएको ड्रोन उडाउने एक मलेसियन नागरिकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।
    सदरमुकाम चरिकोटस्थित पानोरामा रिसोर्टबाट ड्रोन क्यामरा उडाउँदै गरेका ५२ वर्षिय मलेसियन नागरिक टाइ रिङ थ लाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो । ड्रोन क्यामरा अपरेटिङ ल्यापटप र थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पर्यटकको रुपमा दोलखा आएका थ बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
    नेपालमा ड्रोन उडाउन नागरिक उड्डयन मन्त्रालय वा गृह मन्त्रालयबाट प्रयोजन खोलेर अनुमति लिनु पर्ने व्यवस्था रहेको छ ।

Friday, June 16, 2017

एसईईको नतिजा सार्वजनिक, घर बसी–बसी यसरी हेर्नुहोस् नतिजा

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
         यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सामेल थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।

घर बसी–बसी यसरी हेर्नुहोस् नतिजा
नतिजा हेर्नका लागि टेलिफोनबाट १६०० मा डायल गर्न सकिने छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा सार्वजनिक गरिएको छ ।
          तिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिनेछ ।  त्यस्तै www.neb.gov.np, www.doe.gov.np  मा पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Saturday, June 10, 2017

माथिल्लो तामाकोसी : प्रसारण लाइनको निर्माण कार्य ६० प्रतिशत सम्पन्न


रवीन्द्र गौतम । दोलखा

जेठ २८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रीडमा जोेड्ने प्रसारण लाइनको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ ।
            करिब ३ वर्षदेखि निर्माण कार्य सुरु गरिएको डबल सर्किट प्रशारण लाइनको निर्माण कार्य जेठको दोस्रो सातासम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । गत चैत १ मा बसेको मन्त्री परिषद् बैठकले सामुदायिक वनक्षेत्रमा रहेको रुख कटान सम्वन्धि कानुनी अड्चन सुल्झिए पछि प्रशारण लाईनको निर्माण कार्य तिव्र गतिमा सुरु भएको थियो ।
          विभिन्न स्थानहरुको १७ ओटा टावरहरुमा साढे ४ किलोमिटर डबल सर्किट तार जडान भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको लट–४ अन्र्तगत गोंगरखोलादेखि खिम्तीसम्म ४७ किलोमिटर डबल सर्किट प्रशारण लाइन निर्माण गरिने लक्ष्य रहेको छ ।
             कूल १ सय २७ टावरहरुमध्ये ९४ ओटा पूर्णरुपमा निर्माण भइसकेको तथा ९४ ओटामै अर्थिङ गर्ने कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । २२ ओटाको जग खन्ने कार्य सम्पन्न भई फलामे रड, बालुवा र सिमेन्ट निर्माणस्थल पु¥याइएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । सिमित कामदारहरु भएको र वर्षाको कारणले असोज पछि बाँकी ११ ओटा टावरहरुको पनि काम सुरु हुने आयोजनाले जनाएको छ ।
           प्रशारण लाइन निर्माण गर्न कटान गरि खाली भएको निजी तथा सामुदायिक वनक्षेत्रमा आयोजनाद्वारा करिब ५५ हजार वृक्षारोपण गर्ने कार्यलाई समेत सँगसँगै लगिएको आयोजनाले जनाएको छ । दोलखाको मेलुङमा निर्माण हुन लागेको सवस्टेशनको पनि आंशिक सर्भे भईरहेको आयोजनाले जनाएको छ ।
           आयोजनाले उत्पादन गर्ने विद्युत प्रसारणको लागि २२० केभी डबल सर्किट प्रसारण लाइनको भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडद्वारा निर्माण हुँदै आइरहेको छ । प्रसारण लाइनका लागि केइसीले अमेरिकी डलर १ करोड ७९ लाख ४ हजार ८ सय ७२ तथा रु. २५ करोड २५ लाख ५९ हजार ५ सय २० गरी दुईओटा मूल्यमा निर्माण सम्झौता गरेको थियो । हालसम्म आयोजनाको ८८ दशमलब ५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने रु. ३३ अर्ब ५८ करोड भुक्तानी भईसकेको आयोजनाले जनाएको छ ।

Friday, June 9, 2017

नेपाल बैंकले सुरु ग¥यो दोलखामा पनि एटिएम सेवा


रवीन्द्र गौतम । दोलखा

जेठ २६, दोलखा । नेपाल बैंक लिमिटेड चरिकोट शाखाले शुक्रबारबाट चरिकोटमा एटिएम सेवा सुरु गरेको छ ।
          देशको सबैभन्दा जेठो र पुरानो बैंकको चरिकोट शाखाका शाखा प्रवन्धक चित्रकुमार थापाले उद्घाटन गरी शुक्रबारबाट एटिएम सेवा सुरु गरेको हो । दोलखा जिल्लामा सबैभन्दा बढि निक्षेपकर्ता रहेको बैंकले एससिटी नेटवर्कको प्रयोग गरी मोबाइल बैंकिङ र एटिएम सेवा एकसाथ सुरु गरेको नेपाल बैंक लिमिटेड चरिकोट शाखाका सूचना अधिकारी नारायण केसीले जानकारी दिए ।
          जिल्लाका १६ हजार बचत निक्षेपकर्ता र १२ हजार चल्ती निक्षेपकर्ता गरी २८ हजार निक्षेपकर्ताहरुले दुबै सेवा उपभोग गर्न सक्ने नेपाल बैंक चरिकोट शाखाले जनाएको छ । बैंकले सुरु गरेको मोबाइल बैंकिङ सेवा सुरु गरे पछि निक्षेपकर्ताहरुले मोबाइल रिचार्ज, व्यालेन्स ट्रान्सफर, मिनि स्टेटमेन्ट सेवा उपभोग गर्न सक्ने सूचना अधिकारी केसीले जानकारी दिए ।
         बचत र एकल स्वामित्वको चल्ती खाता भएका निक्षेपकर्ताहरुले रु. २ सयको लागतमा ३ वर्षसम्म एटिएम सेवा सञ्चालन गर्न सक्ने सूचना अधिकारी केसीले जानकारी दिए । एटिएमबाट एकपटकमा रु. १५ हजार र एक दिनमा अधिकतम रु. ५० हजारसम्म निकाल्न सकिने व्यवस्था रहेको जनाइएको छ । त्यस्तै मोबाइल बैंकिङ सेवा सुरु गर्न रु. २ सय ५० को लागतमा एकवर्षसम्म चलाउन सकिने बैंकले जानकारी दिएको छ ।

Tuesday, May 23, 2017

दोलखामा डेढ सय शिक्षकको दरबन्दी खाली हुँदै


रवीन्द्र गौतम । दोलखा

जेठ १०, दोलखा । आगामी केही दिनमा दोलखा जिल्लामा डेढ सय शिक्षकको दरबन्दी खाली हुने भएको छ । शिक्षक सेवा आयोगले लामो समयदेखि अस्थायी शिक्षकमा कार्यरतहरुको हकमा प्रस्ताव गरेको ‘गोल्डेन ह्याण्डसेक’ उपदानको लागि दोलखा जिल्लामा निवेदन दिएकाहरुबाट डेढ सय शिक्षकको दरबन्दी खाली हुने भएको हो ।
          लामो समयदेखि अस्थायी रुपमा कार्यरत शिक्षकहरुको लागि २०७३ चैतमा २ प्रकारमध्ये एकप्रकारको सुविधा छान्न पाउने अवसर दिएर सूचना प्रकाशित गरेपछि ‘गोल्डेन ह्याण्डसेक’ उपदानको सुविधा रोज्ने शिक्षकहरुबाट डेढ सय दरबन्दी खाली हुने भएको हो । सेवा अवधिको विभिन्न सुविधाहरु जोडेर एकमुष्ट उपदान लिनको लागि प्रावि, निमावि र मावि तहका १ सय ४७ शिक्षकहरुको निवेदन दर्ता भएको दोलखाका जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछवाले जानकारी दिए ।
           प्राथमिक तहका १ सय २४, निम्न माध्यमिक तहको विभिन्न ५ विषयका १०, माध्यमिक तहको विभिन्न ५ विषयका १३ जना गरी १ सय ४७ जनाले उपदानको लागि निवेदन दर्ता गराएको जिल्ला शिक्षा अधिकारी कासिछवाले जनाए । उपदानको लागि दर्ता गराएको निवेदनअनुसार दोलखामा निम्न माध्यमिक तहको नेपालीको २, अंग्रेजीको ३, विज्ञानको १, गणितको २, सामाजिकको २ गरी १० दरबन्दी खालि हुने भएको छ भने माध्यमिक तहको नेपालीको ४, अंगेजीको २, विज्ञानको २ गणितको ४ र सामाजिक विषयको १ गरी कूल १३ दरबन्दी खाली हुने भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
           उपदानको लागि शिक्षक सेवा आयोगले मापदण्ड समेत सार्वजनिक गरिसकेको छ । अस्थायी शिक्षकमा निरन्तर कार्यरत रहेको ५ वर्ष सेवा पुरा भएकालाई अन्तिम महिना पाएको तलबको आधा महिना बराबरको, १० वर्ष सेवा पुरा भएकालाई अन्तिम महिना पाएको तलबको एकमहिना बराबरको र १५ वर्षभन्दा माथि सेवा अवधि पुरा गरेकाहरुको हकमा भने डेढ महिना बराबरको तलबलाई गुणान गरेर आउने रकम उपदानको रुपमा भुक्तानी गरिने व्यवस्था रहेको जिशिअ काशिछवाले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिनको लागि राजिनामा दिएकाहरुको दरबन्दी समेत खाली हुँदा १ सय ६० भन्दा बढि दरबन्दी खाली हुने अवस्था रहेको जिशिअ काशिछवाले बताए ।
          शिक्षा ऐन, २०२८ (आठौं संशोधन) को दफा ११च. (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त रहेको शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न गत चैतमा दरखास्त आह्वान गरिएको थियो ।

Monday, May 22, 2017

दोलखाको ८ विभिन्न पालिकामा करिब १३ प्रतिशत मत बदर


रवीन्द्र गौतम । दोलखा

जेठ ८, दोलखा । स्थानीय तहको निर्वाचन २०७४ मा दोलखामा खसेको कूल मत संख्यामध्ये १२ दशमलब ८७ प्रतिशत मत बदर भएको पाइएको छ ।
           जिल्लाको कूल मतदाताहरुमध्ये मेलुङ गाउँपालिका बाहेक खसेको ७० दशमलब ७२ प्रतिशत मतमध्ये १२ दशमलब ८७ प्रतिशत मत बदर भएको पाइएको हो । २ नगरपालिका र ६ गाउँपालिकामा करिब ९४ हजार ३ सय मत खसेको मध्ये १२ हजार मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । बदर मतको यो प्रतिशतले दोलखा जिल्लामा मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितमाथि ठूलो प्रश्न चिन्ह खडा भएको विश्लेषकहरुले जनाएका छन् ।
           जिल्लामा सबैभन्दा बढि विगु गाउँपालिकामा १७ दशमलब १९ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वैत्यश्वर गाउँपालिकामा ७ दशमलब ९३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाका कार्यालय प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए ।
           जिल्लाका भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा पनि उल्लेख्य मात्रामा मत बदर भएको पाइएको छ । भीमेश्वर नगरपालिकामा १४ दशमलब ३१ प्रतिशत र जिरी नगरपालिकामा १३ दशमलब २८ प्रतिशत मत बदर भएको पाइएको छ । तामाकोशी र वैत्यश्वर गाउँपालिका बाहेक अन्य ६ ओटा पालिकाको मत बदरको प्रतिशत दोहोरो अंकमा रहनुले दल र निर्वाचन कार्यालयको गैर जिम्मेवारी प्रष्ट भएको विश्लेषकहरुको आरोप छ । बैत्यश्वर गाउँपालिकामा सबैभन्दा बढि ८७ दशमलब ८८ प्रतिशत र शैलुङ गाउँपालिकामा सबैभन्दा कम ६१ दशमलब ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।