रवीन्द्र गौतम । दोलखा
जेठ १५, दोलखा । आव २०७१÷०७२ को तुलनामा आव ०७३÷०७४ मा जिविस दोलखाको राजश्व आम्दानी तेब्बरले वृद्धि हुने भएको छ ।
जिल्ला विकास समिति दोलखाले पहिलो पटक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)प्रतिवेदनको आधारमा
लगाएको रोडा, ढुङ्गा, गिटी, वालुवाको ठेक्का अनुसार आव २०७३÷०७४ मा तेब्बर आम्दानी हुने भएको हो ।
यस अघि जिविसले धेरै पटक रोडा, ढुङ्गा, गिटी, वालुवाको ठेक्का लगाए पनि बार्षिक रु. ३२ लाख भन्दा बढि राजश्व आम्दानी हुन नसकेको जिविस दोलखाका राजश्व फाँटका गोविन्द बुढाथोकीले जानकारी दिए । आव २०७२÷०७३ को ३ महिना र आव २०७३÷०७४ को एक वर्ष गरी १५ महिनामा रु. १ करोड १ लाख ५० हजारको रोडा, ढुङ्गा, गिटी, वालुवाको ठेक्का बन्दोवन्त भएको राजश्व फाँटका बुढाथोकीले जनाए ।
आव ०७१÷०७२ मा भद्रेश्वर निर्माण सेवाले रु. ३२ लाख ४ हजार राजश्वमा ठेक्का प्राप्त गरेकोमा आवको अन्त्यमा विनासकारी भुकम्पका कारण जिविसले ९ महिनासम्म ठेक्का बन्दोवस्त गर्न सकेको थिएन । रोडा, ढुङ्गा, गिटी, वालुवाको अवैध चोरी हुन थाले पछि जिविस दोलखाले राजश्व शाखाको कर्मचारीलाई डोरहाजिरी खटाएर फागुन र चैत महिनामा रु. १२ लाख ४७ हजार ४ सय ४० आम्दानी गरेको बुढाथोकीले जानकारी दिए ।
२०७२ चैत २६ मा सन्तोष ट्रेडर्स प्रालिले करिब ५८ हजार घनमिटर रोडा, ढुङ्गा, गिटी, वालुवा उत्खनन्को लागि रु. १ करोड १ लाख ५० हजारको बोलपत्र लिएको जिविसले जनाएका छ । सोही बेला टेण्डर आह्वान गरिएको अर्को करिब रु. ८ लाख बराबरको टेण्डर भने कसैले पनि नसकारेको कारण सो राजश्व भने क्षति हुन पुगेको जिविसले जनाएको छ ।