Wednesday, May 25, 2016

भुकम्पको त्रासले दोलखामा संकलन भएन यार्सागुम्बा

रवीन्द्र गौतम । दोलखा

दोलखा । गत वर्षको विनासकारी भुकम्पको जोखिम भोगेका कारण यससाल दोलखा उच्च पहाडी भेगबाट यार्सागुम्बा संकलन हुन सकेन ।
२०७२ साल बैशाख १२, १३ र २९ को विनासकारी भुकम्पको बेला यार्सागुम्बा संकलनमा गएकाहरुले यसपाली त्रास र उच्च जोखिमका कारण यार्सागुम्बा संकलन हुन नसकेको हो । गत बर्षको विनासकारी भुकम्पले जमिन हल्लिरहेका बेला जिल्लाका करिब ४ सय जना यार्सागुम्बा संकलनका लागि दोलखको उच्च पहाडी भुभागमा पुगेका थिए ।
‘पोहोर सम्झँदा अझै मुटु थर्थर काम्छ ।’ लामाबगर–४, ठोङठोङ्का यार्सागुम्वा संकलक विरबहादुर तमाङले भने, ‘समाउने ठाउँ नभएर दुई बल्डयाङ खाए पछि थाहा भयो भुकम्प गएछ, ।’ तमाङले भने, ‘लेक जाने बाटो छैन, नयाँ बाटो पहिल्याउन एकमहिना लाग्छ, अनि को जान्छ टिप्न ?’
यार्सागुम्बा संकलनका लागि पूर्जी काट्ने गौरीशंकर संरक्षण क्षेत्रको तथ्याङ्कले पनि यससाल कोही यार्सागुम्बा संकलनका लागि नगएको देखाउँछ । संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णु पाण्डेले रामेछाप, सिन्धुपाल्चोक र दोलखामा रहेको कार्यालयबाट कसैले पनि संकलन पूर्जी नलिएको बताए ।

लामाबगर–४, ठोङठोङ्का सहविर तमाङ पनि यसपाला यार्सागुम्वा संकलन गर्न गएनन् । उनले भने, ‘बाँचिएला भन्ने त छँदै थिएन, पारीको ठूलो भीर खसेर उछिटिएको हिलोले भिजिएछ ।’ उनले यार्सागुम्वा संकलनमा नजानुको कारण भने, ‘धेरै बेरसम्म चिच्याइएछ, त्यहि डरले पनि जाने आँटै आएन ।’
दोलखाको विगु, आलम्पु, चिलंखा, लादुक, बुलुङ, ओराङ, लामाबगर र गौरीशंकरको उच्च लेकबाट यार्सागुम्वा संकलन गरिने गरिन्छ । आव २०७१÷०७२ मा संरक्षण क्षेत्रको तथ्याङ्कअनुसार जिल्लाका ४८ जनाले १ सय ६२ केजी यार्सागुम्वा संकलनको लागि पूर्जी लिएका थिए । बहुमखी क्षमताको जडिवुटी भएकोले प्रतिकिलोग्राम रु. १० हजार संकलन कर लिने प्रावधानअनुसार आव २०७१÷०७२ मा संरक्षण क्षेत्रले रु. १६ लाख २० हजार राजश्व संकलन गरेको संरक्षण अधिकृत पाण्डेले जानकारी दिए ।