Friday, May 12, 2017

एमाले दोलखाका कार्यकर्ताले लखेटे वडा अध्यक्षका उम्मेदवार सहित २९ जना, युवा संघ दोलखाका अध्यक्ष सहित १२ जना विरुद्ध उजुरी


रवीन्द्र गौतम । दोलखा

बैशाख २९, दोलखा । उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका वडा नं. ७, मार्बुबाट एमालेका कार्यकर्ताबाट वडा अध्यक्षका उम्मेदवार सहित २९ जना लखेटिएका छन् ।
         गौरीशंकर गाउँपालिका वडा नं ७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडा सदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुल्ला वडा सदस्यका उम्मेदवार आङदोर्जी शेर्पा सहित २९ जना नेकपा एमालेका कार्यकर्ताहरुबाट लखेटिएका हुन् । लखेटिएका मध्ये ४ जना सदरमुकाम चरिकोट आइपुगेका छन् भने २५ जना सिंगटीमा सुरक्षित रहेको वडाध्यक्षको उम्मेदवार सोनाम शेर्पाले जानकारी दिएका छन् ।
         स्थानीय तहको चुनावमा शान्ति सुरक्षा पाउँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा शुक्रबार उजुरी दर्ता गरेका छन् । नेकपा एमालेले १०० भन्दा बढी भाडाका गुण्डा गाउँमा भित्र्याई आफूहरुलाई गाउँ छाड्न धम्की दिएकोले ज्यानको सुरक्षा र शान्तिपूर्ण निर्वाचनको माग गर्दै उजुरी दिएको उनीहरुको दावी छ ।
        मार्वुमा नेकपा एमालेका विभिन्न ब्यक्तिहरुले भाला, खुकुरी, तरवार, पेस्तोल बोकी घर घरमा गएर मतदातालाई धम्क्याउँदै मतदाता परिचय पत्र लिनबाट समेत वञ्चित गरेको उनीहरुको आरोप छ । आफूहरुलाई ज्यानको असुरक्षा रहेको भन्दै उनीहरुले युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङ, बागविर शेर्पा, सोमफुर्वा शेर्पा, कामदोर्जी शेर्पा, फुरलाक्पा शेर्पा, आङदोर्जी शेर्पा रिज्जी, नानी गुरुङ, मिङमा शेर्पा, रुपक गुरुङ, दोमसार्की शेर्पा, कुमार गुरुङ, मोहन विक्रम आचार्य सहित १२ जना विरुद्ध जिल्ला प्रशानमा किटानी साथ उजुरी दिएका छन् । 
         एमालेका कार्यकर्ता र उनीहरुले ल्याएको भाडाका ब्यक्तिहरुले आतंक मच्चाए पछि मार्वुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी २९ जना विस्थापित भएका छन् । विस्थापितहरु मध्य २५ जना सिंगटी बजारमा रहेको र ४ जनाले सदरमुकाम पुगेर मुद्धा दर्ता गरेका हुन् । विस्थापितहरु घर फर्कन नसक्ने अवस्था रहेकोले उक्त स्थानमा चुनाव समेत स्थगित गर्न उनीहरुले माग गरेका छन् ।