![]() |
| मौन अवधि आचारसंहिता विपरित चौलागाईंले पोष्ट गरेको फोटोको स्क्रिनसट । |
रवीन्द्र गौतम । दोलखा
बैशाख २९, दोलखा । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार राती १२ बजेबाट मौन अवधि लागू गरे पनि नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईले त्यसलाई तोडेका छन् । चुनाव प्रचारका लागि दोलखा आइपुगेका नेता चौलागाईले आफ्नो फेसबुक पेजमा शुक्रबार विहान करिब ७ बजे स्टाटस लेख्दै राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता तथा देश र जनताको आर्थिक विकासको लागि सुर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउँ भनी मतदातालाई प्रभाव पार्ने काम गरेका छन् ।
नेता चौलागाईको स्टाटसको तलतिर नेकपा एमाले दोलखाबाट स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका २ नगरपाकिाका प्रमुख उपप्रमुख र ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको फोटो सहितको ब्यानर पनि पोष्ट गरेका छन् । नेता चौलागाईले सुर्य चिन्हमा छाप लगाएको कम्युटर डिजाइन फोटो समेत पोष्ट गरेका छन् । त्यसको केही समय पछि नेता चौलागाईले मतदाता प्रभाव पार्ने खालका अन्य खालका पोष्टहरुमा लाइक र शेयर समेत गरेका छन् । चौलागाई सँगै फेसबुक चलाउने थुप्रै ब्यक्तिहरुले मौन अवधिको सीमालाई ख्याल नगरी आ—आफ्नो उम्मेदवार र पार्टीलाई फेसबुकमार्फत मत मागिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँने छैन । सभा, जुलुस, नाराबाजीदेखि सामाजिक सञ्जालमा समेत लगायतका कुनै पनि गतिविधि गर्न पनि बन्देज गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्र भित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।
सदरमुकाम चरिकोट बजारमा नेपाली कांग्रेसले राखेको रुख चिन्ह अंकित ब्यानर तुलहरु अझै पनि देख्न पाइन्छ । उम्मेदवारहरुको फोटो सहितको फ्लेक्स प्रिन्ट पनि विभिन्न ठाउँमा अफै झुण्ड्याएको पाइन्छ । सदरमुकाम चरिकोट बजारको सातदोबाटोमा रहेको प्रहरी चौकी अगाडि नेकपा एमालेबाट नगरमा प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारहरुको ब्यानर अझै देख्न पाइन्छ ।
मौन अवधि लागु भएपछि पार्टीहरुले प्रयोग गर्ने सवारी साधनबाट धेरैले झण्डा तथा ब्यानर हटाए पनि केहीले अझै कायमै राखेको पाइन्छ । मौन अवधिको ख्याल नगरी दलका उम्मेदवारहरु भित्री रुपमा अझै मतदातालाई प्रभाव पार्ने गरी घर दैलो कार्यक्रममा ब्यस्त रहेको पाइएको छ । मौन अवधिको समयमा आयोगको नियम तोड्नेलाई नियमानुसार कारवाही हुने जिल्ला निर्वाचन अधिकारी सच्युतराज अधिकारीले जानकारी दिए ।
