![]() |
| झडपमा मृत्यु भएका कुलबहादुर तामाङको शव सदरमुकाम चरिकोटको शवगृहमा। |
रवीन्द्र गौतम । दोलखा
बैशाख २७, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुमा गएराति माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने करिव आधा दर्जन घाईते भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तमाङ केही दिन अगाडि मात्र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मृतक तामाङको शबलाई सदरमुकाम चरिकोटको लास घरमा राखिएको छ । तामाङको शरिरमा एमालेको सुर्य चिन्ह भएको भेष्ट लगाएको देखिन्छ । उनको टाउकोमा बढी चोट परेका कारण मृत्यु भएको देखिन्छ ।
यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्का लगाएतका ४ जना कार्यकर्ता घाईते भएको माओवादी केन्द दोलखा अध्यक्ष विशाल खड्काले जानकारी दिनु भयो ।
गएराति करिव साढे ९ बजे चुनाव प्रचारको क्रममा गाउँ पुगेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भरत खड्का र पुर्वराज्यमन्त्री एवम माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य देवी खड्का लगाएतको टोलीलाई एमालेका कार्यकर्ता ढुंगामुडा सहित आक्रमण गरेपछि दोहोरो झडप भएको बताइएको छ ।
जुगुँमा केही दिन यता ‘टाईगर ग्रुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्ताहरुलाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगाएतका गतिविधि बढेपछि सो ग्रुपसँग आवद्ध व्यक्तिहरु विरुद्ध प्रहरीमा समेत उजुरी परेको जनाइएको ।
मृतक तामाङ टाईगर ग्रुपसँग आवद्ध भएको बताईएको छ । यद्यपी नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरि ज्यान लिएको बताएका छन् । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । घटना बारे जानकारी लिन दोलखाका प्रहरी नायव उपरिक्षक रविन कार्कीको टोली घटनास्थल पुगिसकेका छन् ।
