रवीन्द्र गौतम । दोलखा
बैशाख २२, दोलखा । दोलखाको विभिन्न नगरपालिका र गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिष्ट पार्टी विप्लवका ३ कार्यकर्ता शुक्रबार विहान प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान करिब सदरमुकाम चरिकोटको एक चिया पसलबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी विप्लव दोलखाको सेक्रेटरी राजन धनुके, इन्चार्ज अर्जुन योगी र विद्यार्थी नेता सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
करिब २० वर्षपछि स्थानीय तहको निर्वाचनमा होमिएको उम्मेदवारहरुलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताले विहिबार उम्मेदवारी फिर्ता लिन पत्रमार्फत धम्की दिए पछि पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ । आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताको लागि मान्य नभएको भन्दै उम्मेदवारी दिएकाहरुले फिर्ता लिन पत्रचारमार्फत विप्लबले धम्की दिएको हो । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिने समेत पत्रमा उल्लेख छ ।
