Saturday, August 13, 2016

भीमेश्वर मन्दिरको दक्षिणा चोरी गर्ने २ बालक पक्राउ

पक्राउ परेका बालकहरुसँगबाट बरामद गरिएको नोट ।
रवीन्द्र गौतम । दोलखा

साउन २९, दोलखा । भीमेश्वर मन्दिरमा राखिएको दान पेटिका फोडेर संकलित दान दक्षिणा चोरी गर्ने २ बालक पक्राउ परेका छन् । 
  चोरी भएको नगद सहित २ बालकलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ति बालकहरुसँग अनुसन्धान गर्दा रातको करिब ८ बजे दानपेटिका फोडी नगद चोरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिए ।
          भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार शुक्रबार विहान सरसफाई तथा नित्य पूजाको क्रममा दानपेटिका फोडेको अवस्थामा फेला परे पछि चोरी भएको थाहा भएको थियो ।
            पक्राउ परेका बालकहरु करिब १३ वर्षका रहेको खुल्न आएको छ । उनीहरुसँगबाट ५ सयको नोट २ थान,  ५० को नोट २ थान, २० को नोट ६० थान, १० को नोट १ सय २३ थान, ५ को नोट २ सय ९१ थान, २ को नोट २ थान, १ को नोट १ थान, २ को सिक्का २ थान, १ को सिक्का ३ थान र भारतीय रुपिया २० को १ थान गरी कूल ५ हजार ३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।