रवीन्द्र गौतम । दोलखा
भदौ १३, दोलखा । दोलखा, सिन्धुपाल्चोक, रामेछाप र ओखलढुङ्गा लगायतको पूर्वी पहाडि जिल्लाहरुमा यातायात सेवा सञ्चालन गरिरहेको अरनिको यातायात सेवा समितिको ४५ औं साधारणसभालाई चुनावी सरगर्मीले छपक्कै छोपेको छ । आगामी भदौ १५ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको सदमुकाम बनेपामा हुने अरनिको यातायात सेवा समितिको चुनावी मैदानमा पूर्व अध्यक्ष केदार क्षेत्रीले समेत उम्मेदवारी दर्ता गराए पछि चुनावी पारो तातेर उच्च विन्दुमा पुगेको हो ।
समितिमा आवद्ध ५ सय ३१ व्यवसायीहरुबाट करिब ६ सय ५० मतदाता रहेको चुनावी कार्यक्रममा उम्मेदवारी दर्ताको संख्या र तिव्र प्रतिष्पर्धाले चुनावी रन्कोलाई झन रौनकतामा बदलिदिएको सम्वद्ध व्यवसायीहरु बताउँछन् । पूर्व अध्यक्ष केदार क्षेत्रीसँग प्रत्यासी श्याम लामा भिड्दै छन् भने वरिष्ठ उपाध्यक्ष ३ पदका लागि नृपध्वज महत, चित्र कुँवर, केशव भारती लगायतले तिव्र प्रतिष्पर्धात्मक उम्मेदवारी दर्ता गराएका छन् । हरि सुवेदीसँग यस अघि २ कार्यकाल कोषाध्यक्ष रहेका दोलखाका छोरा राजकुमार बस्नेतले सचिवमा प्रतिष्पर्धा गरिरहेको रेडियो भीमेश्वरलाई बताउनु भयो ।
समितिको सहकोषाध्यक्ष पदमा राम भारती सर्वसम्मत भए पनि कोषाध्यक्ष पदमा मोहन घिमिरे र हरिभक्त श्रेष्ठ विच तिव्र प्रतिष्पर्धा हुने व्यवसायीहरुको आँकलन रहेको छ । सहसचिव १ पदको लागि ३ जना, उपसहसचिव १ पदको लागि २ जना र ६ सदस्यको लागि १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अरनिको यातायात सेवा समितिको निर्वाचनलाई दोलखा लगायत अन्य जिल्लाका समितिहरुले पनि नजिकबाट मूल्याङ्कन गरिरहेको बताइएको छ ।
