Thursday, August 4, 2016

दोलखाको ३ सडकलाई बहुबर्षिय ठेक्का गर्न रु. ५२ करोड

रवीन्द्र गौतम । दोलखा

साउन २०, दोलखा । दोलखा जिल्लामा हालसम्मकै सबैभन्दा बढि ३ ओटा नयाँ सडकलाई बहुबर्षिय ठेक्का सञ्चालन गर्ने गरी रु. ५२ करोड बजेट विनियोजन भएको छ ।
           आर्थिक वर्ष २०७२÷०७३ को अन्त्यतिर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बहुवर्षिय ठेक्का लगाउने गरी जिल्लाका ३ नयाँ सडकलाई कूल रु. ५२ करोड विनियोजन भएको हो । यो डिभिजन सडक कार्यालय दोलखको अघिल्लो आवको कूल पूँजीगत बजेटभन्दा रु. १३ करोड मात्र कम हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ २५ गते चलानी नं. १८७३ मा बजेट उपशीर्षक नं. ३३७१२३–४ क्षेत्रीय तथा पर्यटकिय महत्वका सडक २ र मन्त्रालयकै गत असार ३१ गते डीपीआर तयारीको लागि एक गरी ३ ओटा सडकलाई सो बराबरको रकम विनियोजन गरेको हो ।
           विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी लगायत आयोजना पूर्व तयारी र ठेक्कापूर्वको सम्पूर्ण मापदण्ड पुरा गर्ने शर्तमा घ्याङ–भञ्ज्याङ्ग–कल्लेरी–मालुखोला सडकलाई रु २५ करोड, माली–शैलुङ्ग–चेर्दुङ्गा–सुरी–मस्दिङ्ग सडकको लागि रु. १५ करोड र फिल्म सिटी सडकको लागि रु. १२ करोड
बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत राजेश उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार ३ वटै योजना कार्यान्वयका लागि डिभिजन सडक कार्यालय दोलखालाई अख्तियारी प्रदान गरिसकिएको छ ।
             डिभिजन सडक कार्यालय दोलखाका सूचना अधिकारी इन्जिनियर कृष्णकुमार महतोले सो कुराको पुष्टी गरेका छन् । फिल्म सिटी सडक अपग्रेडीङ सहित कालोपत्रेको लागि डीपीआरलाई अन्तिम रुप दिई भदौको पहिलो हप्तासम्म टेण्डर गरिने तयारी भएको सूचना अधिकारी महतोले जानकारी दिए । माली–सुरी सडक र घ्याङ–मालु सडकको ट्रयाक निर्माणको लागि ज्वाइन्ट सर्भे भई रहेको उनले जानकारी दिए । माली–सुरी सडक र घ्याङ–मालु सडकको लागि गत जेठ १८ गते मन्त्रीस्तरले निर्णय गरी अर्थ मन्त्रालयको चलानी नं. २२८९ मार्फत कार्यादेश आएको छ भने र फिल्म सिटी सडकको लागि गत असार ३१ गते मन्त्रीस्तारीय निर्णय भए पनि मिति र चलानी नं. नखोली कार्यादेश प्राप्त भएको  डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।