Friday, August 5, 2016

दोलखा लामाबगरको १२ घर विस्थापित, ५६ घर उच्च जोखिममा सिप्रीङखोला जलविद्युत्मा रु. १ करोड बराबरको क्षति

रवीन्द्र गौतम । दोलखा

साउन २१, दोलखा । अविरल बर्षाको कारण उत्तरी दोलखाको दुर्गम लामाबगर–९ को माथिल्लो जगतको गाउँमा बाढी पसे पछि १२ घर विस्थापित भएका छन् ।
              लामाबगर–९ को तल्लो जगतमा गोहीब्राको भीरबाट पहिरो सुरु भए पछि तल्लो र माथिल्लो गरी ५६ घर र एक गौरीशंकर उच्च मावि उच्च जोखिममा परेको लामाबगर–९, जगतका स्थानीय यादव आचार्यले
जानकारी दिए । विस्थापित हुनेहरुमा राजेन्द्र मगर, रिमा ठकुरी, कर्णबहादुर मगर, सिंहबहादुर मगर, साङरेन्जि तमाङ शिबराज तमाङ लगायतका रहेको स्थानीय यादव आचार्यले जानकारी दिए । गए राती घर भित्र बाढी पसे पछि गाउँ छोडेर सुरक्षित स्थानतर्फ गएर बसेको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए ।
             ‘स्थानीयबासीको कुखुरा, बाख्रा समेत मरेका छन् भने नगद, लत्ता कपडा खाद्य सामाग्री समेत जोगाउन सकेनन् ।’ स्थानीय शेर्पाले भने । स्थानीय पसलमा समेत बाढीको पानी पसे पछि जोखिम झन बढ्दै गएको पीडितहरु बताउँछन् ।
              अविरल बर्षाको कारण गौरीशंकर–९, जगत स्थित १० मेगावाट क्षमताको सिप्रीङखोला जलबिद्युत् आयोजनाको स्वीचिङ यार्डमा पहिरोले क्षति पुगे पछि उत्पादन बन्द भएको सिप्रीङखोला जलविद्युत् आयोजनाका हेडवक्र्स इन्चार्ज यादव आचार्यले जानकारी दिए । भुकम्पबाट क्षति पुगी लामो मर्मत पछि आयोजनाले पून उत्पादन सुरु गरेकोमा २०० केभीएको टान्सफर्मर, सीजी, पीटी र भ्याकुम २ सेट लगायतका समाग्री पहिरोले पुरेको हेडवक्र्स इन्चार्ज आचार्यले जानकारी दिए । पहिरोको कारण स्वीचिङ यार्डका सबै संरचना सहितमा क्षति पुग्दा करिब रु. १ करोड बराबरको क्षति पुगेको इन्चार्ज यादवको दावी छ ।